+
+
Shares
विचित्र :

अनौठो संयोग : जब पिज्जा धेरै बिक्छ तब हुन्छ युद्ध !

वास्तवमा यो कुनै नयाँ खानाको ट्रेन्ड होइन। यो त एउटा यस्तो सिद्धान्त हो जसले दाबी गर्छ कि अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) आसपासमा अचानक पिज्जाको अर्डर बढ्नु केही ठूला सैन्य कारबाही हुन लाग्नुको संकेत हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १६:०५

काठमाडौं । पछिल्ला दिनहरुमा मध्यपूर्वका दुई मुलुक इजरायल र इरानबीचको द्वन्द बढेसँगै, सामाजिक सञ्जालमा एक पुरानो तथा अनौठो ट्रेण्ड ‘पिज्जा इन्डेक्स’ पुनः चर्चामा आएको छ।

वास्तवमा यो कुनै नयाँ खानाको ट्रेन्ड होइन। यो त एउटा यस्तो सिद्धान्त हो जसले दाबी गर्छ कि अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) आसपासमा अचानक पिज्जाको अर्डर बढ्नु केही ठूला सैन्य कारबाही हुन लाग्नुको संकेत हो।

सो सिद्धान्त एक अज्ञात एक्स अकाउन्टबाट फैलाइएको हो। जस अनुसार जुनबेला अमेरिकाको रक्षा मन्त्रालय नजिकै रहेका तीन वटा रेस्टुरेन्टहरूमा एकसाथ पिज्जाको अर्डर अत्यधिक बढेको देखियो। ठीक त्यहीँ बेला इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको थियो।

उक्त एक्स अकाउन्टमा गरिएको एउटा पोस्टमा भनिएको थियो कि पेन्टागन नजिक रहेका सबै पिज्जा पसलहरूमा अचानक धेरै भीड देखिएको छ। अर्को पोस्टका अनुसार बन्द हुने तयारीमा रहेको “District Pizza Palace”, मा पनि एक्कासी भिड बढ्यो। त्यसैगरी व्हाइट हाउस नजिकै रहेको Domino’s मा पनि सामान्य दिनभन्दा पिज्जाको अर्डर उच्च रुपमा आएको देखिएको दाबी त्यसले गरेको छ। यसले स्वभाविक रुपमा अब प्रश्न उठायो – के त्यो केवल संयोग मात्र थियो ?

पिज्जा इन्डेक्स नामक उक्त सिद्धान्तका समर्थकहरू चाहीँ यस्ता घटनाहरू पहिले पनि देखिएको इतिहास रहेको दाबी गर्छन् । सन् १९९० मा जब सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरेका थिए, त्यसको अघिल्लो रात वाशिङ्टन डी.सी. मा पिज्जाको बिक्री एक्कासी बढेको थियो। पिज्जा चेन डोमिनोजका मालिक फ्र्यांक मिक्सका अनुसार सन् १९९१ मा Operation Desert Storm नामक सैन्य कारवाही सुरु हुनुभन्दा अघि पनि त्यस्तै ट्रेन्ड देखिएको थियो।

आखिर सैन्य कारवाही र पिज्जा बिक्रीमा हुने वृद्धिको सम्बन्ध के त ? यस सिद्धान्तको आधार सरल छ। जब कुनै ठूला सैन्य निर्णयहरू लिन थालिएको हुन्छ त्यसबेला पेन्टागनका अधिकारीहरू आफ्नो कार्यकक्ष छाड्दैनन्।

अमेरिको वार रूमहरू सक्रिय हुन्छन् र फोनकलहरू लगातार भइरहन्छन्। यस्तो परिस्थितिमा अफिसमा कार्यरत अधिकारीहरुलाई पिज्जा जस्ता छिटो खान मिल्ने तयारी फास्ट फूड सबैभन्दा सजिलो विकल्प बन्छ।

पछिल्लो समय इरानमाथि इजरायली आक्रमण सुरु हुनुअघि त्यसैगरी अमेरिकामा पिज्जाको बिक्री बढेको घटनाले एउटा प्रश्न उठाएको छः के इरानमाथिको आक्रमणमा अमेरिकाको संलग्नता थियो?

इजरायलको आक्रमणअघि पहिले झैँ गरी वाशिंटन डिसीमा पिज्जाको अर्डरहरू बढ्नुले संकेत गर्छ कि सायद इजरायलले अमेरिकी समर्थन तथा जानकारी अनुसार नै इरानमाथि आक्रण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यसको पुष्टि गर्दै इजरायलले अमेरिकालाई आक्रमणबारे पहिल्यै जानकारी दिएको बताएका छन्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?