+
+
Shares
पुस्तक अंश :

राजा पनि दरबारभित्रको कैदी

राजालाई सकेसम्म खेल, रक्सी र स्वास्नीमानिसमा भुलाएर राजकाजतर्फ वास्ता नदिलाउनमा प्रधानमन्त्रीलगायत अरू राणाशासकहरूको कोसिस भइरहन्थ्यो ।

सरुभक्त सरुभक्त
२०८२ असार ७ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँको युवकले कलकत्तामा गएर बग्गीमा रवाफ देखायो भनेर राणाहरूले मरनासन्न हुने गरी कुटेका थिए ।
  • नेपालमा राणा शासनको अत्याचार र विरोधका प्रयासहरू, क्रान्तिकारी विचार र देशभक्तिहरूको संघर्षको कथा प्रस्तुत गरिएको छ।
  • श्री दशरथ चन्द र अन्य स्वतन्त्रता प्रेमीहरूले राणा शासन विरुद्ध सङ्घर्ष गर्न संस्था र योजना बनाएका थिए।

काठमाडौँको एउटा युवक साहूले चन्द्रशमशेरको पालमा कलकत्तामा गएर चारघोडे बग्गीमा चढी रवाफ देखायो भन्ने अपराधमा त्यो साहू काठमाडौँ फर्केपछि पिट्दा–पिट्दा उनको जीवन नै बेकामको तुल्याइएको थियो

जीवनयात्रामा धेरै–धेरै हिँड्नुपर्ने यस ठाउँबाट मैले हिँडेर आएको बाटोतर्फ जसै फर्केर हेर्छु, बाटोमा भेटेका र अनुभव गरेका अनेक व्यक्ति र दृश्यहरू मेरो आँखाअगाडि आउँछन् । तीमध्ये ९७ सालका साथीहरू र त्यसबेलाको नेपाल पनि हो ।

जसै म शहीद श्री शुक्रराज शास्त्रीलाई सम्झन्छु, मर्नु भनेको एक ठाउँबाट अर्को ठाउँमा पाइला हाल्नु हो भनेजस्तो गरी शान्त र गम्भीर भएर आफूलाई फाँसी दिएको डोरीलाई चुम्ने एक महात्मा मेरो अगाडि उभिन्छ । अनि श्री दशरथ चन्दलाई सम्झँदा निरङ्कुश जहानियाँ राणा शासन एक–दुई वर्षमा नै अन्त्य हुनेछ भन्ने दृढ धारणा भएको एउटा अभयमूर्ति मेरो सम्मुख उभिन्छ ।

शहीद श्री गङ्गालाल श्रेष्ठलाई सम्झँदा देशमा भइरहेको थिचोमिचो र अमानसिकताले उकुस–मुकुस भएको आगोको फिलिङ्गो लुकाएर उपवनको कलिलो शरीरले ढाकेर हिँडेको एउटा युवक मेरो अगाडि पर्छ ।

यस्तै गरी जसै श्री धर्मभक्त माथेमालाई म सम्झन्छु, राणाहरूको मनोमानी अन्त्य भएर नेपालमा शान्ति र समृद्धि अभिवृद्धि भएको सपना हेर्नमा तल्लीन भएको एउटा हृष्टपृष्ट युवक आई मलाई भन्दछ, म देशको निम्ति मर्न गैरहेछु । देश तिमीहरूको हातमा छ । मलाई नबिर्स !” मेरा ती अनेक साथीहरू सम्झँदा मेरा मनमा अनेक कल्पनाहरू फस्टाउन थाल्दछन् ।

निरंकुश राणा शासनको चरम अवस्थामा राणा शासकको विरोधमा चल्ने कसको तागत ? कसको टाउको उठाउने हुति ? कसैको इज्जत र सम्मान छैन । पुर्खाको गौरव बिर्सिसकेका नेपाली । राणा षड्यन्त्रको घेराभित्र परेका राजा पनि दरबारभित्रको कैदी !

कालो रात । इतिहासको कालो पाना । त्यसैमाथि जनमानसमा छाएको भयग्रस्त विचार । हुति गुमाइसकेका जनता । अज्ञान शोषण र गरीबीले सताएको देश । मीठो खानु र राम्रो लाउनु पनि सजायको भागि हुनु थियो, त्यस बेला । चन्द्रशमशेरको पालामा त यो अवस्था अझै पराकाष्ठामा थियो । काठमाडौँको एउटा युवक साहूले चन्द्रशमशेरको पालमा कलकत्तामा गएर चारघोडे बग्गीमा चढी रवाफ देखायो भन्ने अपराधमा त्यो साहू काठमाडौँ फर्केपछि पिट्दा–पिट्दा उनको जीवन नै बेकामको तुल्याइएको थियो ।

व्यापारद्वारा राम्रो घर बनाएर गतिलो भई हिँडेको अपराधमा काठमाडौँका साहू श्री गणेशदास मानन्धर, साहू श्री अनिरुद्ध श्रेष्ठ आदिको सर्वस्व अपहरण गरेको घटना आजका कतिपय बुढापाकाहरूले देखेसुनेका कुरा हुन् । मोजमज्जा, ऐस आराम भनेको त हाम्रो हिस्सामा परेको कुरा हो, जनतालाई सुख शान्ति दिनुहुन्न्न भन्ने त्यस बेलाका शासकहरूको धारणा थियो ।

पढे–लेखेर जान्ने–बुझ्ने भएमा राणाहरूको शरणमा ‘त्वं शरणं’ भएर रहन नसके उसको ज्ञान र शिक्षा नै उसको निम्ति विनाशको कारण बन्दथ्यो । यसै सिलसिलामा श्री चन्द्रशमशेरले आफ्नै ज्वाइँ राजा श्री जयपृथ्वीबहादुरका देशसुधार र देशोन्नतिका विचारहरूलाई मन पराएनन्, जसको कारण उनी देशबाट निर्वासित हुनुपर्‍यो ।

शहीद श्री शुक्रराजका पिता श्री माधवराज जोशीलाई आर्यसमाजको स्वतन्त्र विचार प्रचार गरेको अभियोगमा सपरिवार देश निकाला गरिएको थियो । सुब्बा कृष्णलाललाई वैदेशिक हस्तक्षेपको विरोधमा प्रतीकात्मक शैलीबाट आफ्नो विचार गर्दा १२ वर्ष जेलको सजाय दिइयो ।

दुई वर्षमा नै उनी जेलमा मरे । ‘सूक्तिसिन्धु’जस्तो शृङ्गारका कविताहरू प्रकाशन गरेकोमा लेखकहरूलाई पनि राणाले निको मानेनन् । श्री भीमशमशेरकै पालामा पुस्तकालय खोल्ने दिवेदन दिएकोमा पनि सजायको भागी हुनुपरेको थियो । यस्ता असङ्ख्य उदाहरणहरू छन् । दुनियाँलाई अन्धकारमा राख्नु नै आफ्नो स्वार्थसिद्धिको युक्ति ठान्थे ।

कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले बाध्य भई त्रिचन्द्र कलेज खोल्व्न परेकोमा श्री चन्द्रशमशेरका आँखाबाट आँसु झरेका थिए । यसैलाई नै राणा शासनको अन्तिम काल ठानी कलेजको उद्घाटन गर्दा बोल्न नसकेर उनको मुखबाट भक्कानु फुटेको थियो । स्वाभिमानी भएर कोही जिउन पाउँदैनथे । हाम्रा वरपरका छिमेकी राष्ट्रको हालत पनि गतिलो थिएन । त्यस बेला अङ्ग्रेजहरूको शासनविरुद्ध भारतवर्षमा बेलाबेलामा भएको जनआन्दोलनको कुरा चुहिएर आउँथ्यो तर नेपाल मात्रमा स्वतन्त्र कहलिए पनि भारतवर्षमा जतिकै स्वतन्त्रता पनि यहाँ थिएन । अशिक्षा, गरीबी, अज्ञानता र शोषणले नेपालीहरू पिल्सिएका थिए ।

राजधानीको त यस्तो हालत थियो भने पहाड तराईको झन् कुरै भएन । जमिन्दार, मुखिया, जिम्मुवाल आदिको माध्यमद्वारा जनतालाई निचोर्नु नै राणाहरूले खटाएका कर्मचारीहरूको काम हुन्थ्यो । निमुखा जनता यस्तो कुव्यवस्थाको विरोधमा चुँसम्म गर्न पनि सक्दैनथे ।

पहाडमा जवान मानिसहरू जति छन्, बेचिएर विदेशी सेनामा भर्ती हुन जान्थे वा भारततिर गएर दरवान कुल्ली भई आफ्नो जीवन निर्वाह गर्दथे । त्यस्तै तराईका मान्छेहरू पनि कुल्चिएर, पुल्सिएर, मिल्किएर र थिचिएर पशुजीवन बाँचेका थिए । रोग, भोक र शोषणका उनीहरू शिकार थिए । जस्तै भए पनि आर्थिक सुविधाप्राप्त दुई–चार जना त समाजमा पढेर शिक्षित हुन्थे र उनीहरू राणाकै लुटमा सहभागी बन्न सकेमात्र राम्ररी जिउन पाउँथे, नत्र उनीहरूको पनि खैरियत थिएन ।

यसै बेला पश्चिम नेपालमा श्री दशरथ चन्दको जन्म भयो । उनीहरूको खास घर डोटी हो तापनि नेपालगन्जमा केही जमीन भएकाले उनको परिवार त्यहीँ बसेको थियो । जातका ठकुरी हुनाले नेपालका राणाहरूसँग पनि उनीहरूको सम्बन्ध थियो । राणाहरू प्रायः आफ्ना छोराछोरीको बिहे ठकुरीहरूसँगै गरिदिन्थे । नेपालगन्जबाट लखनऊ नजिकै पर्ने हुनाले श्री दशरथ चन्दको शिक्षादीक्षा त्यहीँ भयो ।

त्यहाँ एल.एल.सी.सम्मको परीक्षा उत्तीर्ण भएर उनी काठमाडौँतिर आए । ९०/९१ सालतिरको कुरा हो, ९० लासको महाभूकम्पले नेपालका कैयौँ मन्दिर र महलहरू धराशायी भएका थिए । त्यस बेलाका कमाण्डर इन–चिफ श्री जुद्धशमशेर र श्री रुद्रशमशेरको दरबारहरू पनि भत्केका थिए र यिनीहरूले आफ्नै हातामा गोठघर तथा पाल टाँगेर बस्ने गरेका थिए । श्री रुद्रशमशेरका छोराहरूसित श्री दशरथको चिनापर्ची थियो । उनी त्यहाँ जाने गर्दथे । उनले केही महिनासम्म त्रिचन्द्र कलेजमा आई.ए.मा पढे । उनी यस बेला काठमाडौँको पकनाजोलस्थित आफ्नी सानीआमाको घरमा बस्ने गर्दथे ।

राणाहरूको चकचकी तथा निमुखा जनताको हाहाकारबाट एकतन्त्री राणाशासनको इसारामा देशका समस्त जनता कसरी पिल्सिरहेका छन् भन्ने कुरा उनी देख्दथे र ठान्थे, यी राणाहरूको अन्तय गर्न किन नसक्नु ? डर र त्रास देखाई यिनीहरू जनताद्वारा जनतालाई दबाउन कति सक्षम भइरहेका ? के जनताले आफ्नो हक सम्झने छैनन् त ! के क्रान्तिको आगो यहाँ सल्कँदैन ? यस्तै तर्कवितर्क लिएर उनी दिन बिताइरहेका थिए । के गर्ने ? के नगर्ने ? एकातिर देशको हाहाकार उर्लिरहेछ र अर्कोतिर ऐसआरामसित बसौँ, जेसुकै होस्, भर्सेलै परोस् भन्ने धारणा पनि उनमा नउम्रेको होओइन ।

कुनै राणाका छोरीसँग बिहा गरेर यौवनको उद्दीप्त तिर्खा मेट्दै सुखी जीवन बिताऊँ भन्ने भावना पनि उनमा नउठ्दो होला भन्न सकिँदैन । यस किसिमको प्रस्ताव उनको अगाडि नआएको पनि होइन तर जनताका लागि केही गरेर जाऊँ भन्ने विचारबाट प्रेरित श्री दशरथ चन्दले जीवनको बाटो भोगविलासको सट्टा अत्याचारी राणा शासनको विरुद्ध सङ्घर्ष गर्नुलाई नै चुनेका थिए । यसैले उनी हरदम आफ्नो विचारसित मिल्ने साथीहरूको खोजीमा रहन्थे ।

श्री रुद्रशमशेरका छोराहरूसित खेल्न जाँदा उनको धर्मभक्तसँग परिचय भयो । श्री धर्मभक्त पनि श्री रुद्रशमशेरको महलमा बराबर आउँथे । राणाहरूले नेपालमा अचाक्ली नै अन्याय गरिरहेका छन् ।”, उनीहरूबीच आपसमा कुराकानी हुन्थ्यो । श्री धर्मभक्तले आफ्नो धेरैजसो उमेर कलकत्तामा बिताएका थिए । त्यताँ उनले शारीरिक व्यायामको शिक्षा पनि पाएका थिए ।

९१ सालको घोडेजात्राको दिन टुँडिखेलमा उनले देखाएको शारीरिक व्यायामले श्री ५ त्रिभुवनलाई निकै प्रभावित पार्‍यो । राजालाई सकेसम्म खेल, रक्सी र स्वास्नीमानिसमा भुलाएर राजकाजतर्फ वास्ता नदिलाउनमा प्रधानमन्त्रीलगायत अरू राणाशासकहरूको कोसिस भइरहन्थ्यो । त्यसैले धर्मभक्तलाई शारीरिक व्यायाममा भाग लिई पमहलमानी सिकाउने भनिएकाले नारायणहिटी दरबारभित्र पठाउन त्यति बाधा परेन ।

फेरि श्री धर्मभक्तका बाबुबाजेहरू पनि राणाहरूका आफ्ना मानिस भएकाले उनलाई आफ्नो बाबुबाजेहरूजस्तै राणाहरूप्रति बफादार भई काम गर्नू भन्ने शिक्षा दिँदै नारायणहिटीमा गएर व्यायाम सिकाउने इजाजत दिइयो । राणाहरूप्रति इमानदार भन्नाको मतलब नारायणहिटीमा हुने गतिविधिहरूको खबर राणा प्रधामन्त्रीकहाँ पुर्‍याउनु पनि थियो ।
नारायणहिटीभित्र आउँदा–जाँदा श्री धर्मभक्तलाई श्री ५ त्रिभुवनको विचार र अरू त्यहाँका गतिविधि जान्न धेरै मद्दत मिल्यो । बराबर विश्वमा भइरहेका क्रान्तिकारी आन्दोलनको विषयमा यी दुई साथीबीच छलफल हुने गर्दथ्यो । यसरी छलफल गर्ने साथीहरूमा श्री टङ्कप्रसाद आचार्य पनि थपिए । श्री टङ्कप्रसाद एक जल्दाबल्दा युवक थिए ।

उनी यस्तो विचारलाई कार्यान्वित गर्न इच्छुक पनि थिए । अनि यिनीहरूले अरू साथीहरूसमेत जुटाएर नेपाल प्रजापरिषद्को नामले एक संस्था खोल्ने निधो गरे । सकेसम्म यस संस्थालाई राजाको पनि सहानुभूति अथवा संरक्षकत्व दिलाउन पाए चाँडै काम सफल हुने उनीहरूको विश्वास थियो । श्री धर्मभक्तमार्फत श्री ५ त्रिभुवनलाई पनि यसमा सम्मिलित गर्ने प्रयास भयो ।

नारायणहिटी दरबारभित्र राणाका गुप्तचर छ्यापछ्याप्ती भरिएका हुन्थे । दरबारका कर्मचारीदेखि लिएर नानीहरू (दरबारभित्रका स्वास्नीमानिसहरू) पनि नारायणहिटीको खबर श्री ३ महाराजकहाँ पठाउँथे । श्री धर्मभक्तले राजासित दिल खोलेर आफ्ना योजनाको बेलिविस्तार गर्न धेरै कम मौका पाउने हुनाले दरबारकै एक कम्पाउन्डर श्री चन्द्रमानलाई हात लिने निधो गरे । कम्पाउन्डर श्री चन्द्रमान श्री ५ त्रिभुवनका एक विश्वस्त व्यक्ति थिए ।

उनकै मार्फत नेपाल प्रजापरिषद्को यथार्थ परिचय राजालाई दिन सकिएको हो । कम्पाउन्डर श्री चन्द्रमान पनि यस संस्थाका सदस्य तुल्याइए । यी सबै काम कुराले श्री दशरथ चन्दको उत्साह बढ्दै गयो र यो ढल्न लागेको राणाशासन अब चाँडै खतम हुन्न्छ भन्ने दृढ विश्वास उनीहरूमा जम्दै गयो । यही मौकामा श्री रुद्रशमशेरकी छोरी जुल्फिया मैयाँ श्री दशरथ चन्दको रूपलावण्य देखेर मोहित भएकी थिइन् । दशरथ चन्दसँग आफ्नो जीवन समर्पित गरेर बस्ने आफ्नो मनसाय पनि उनले प्रकट गरेकी थिइन् र सो कुराको प्रस्ताव अरूद्वारा पठाएकी थिइन् तर श्री दशरथ चन्दको हृदय देशभक्तिको ज्वालाले दन्केको थियो । उनले एउटी सुन्दरीलाई आफ्नो बाहुपासमा राखेर एक करोड नेपाली जनतालाई राणाको निरङ्कुश दबाबबाट मुक्त पार्ने व्रतदेखि विचलित हुन चाहेनन् ।

अर्को शब्दमा देशभक्तिमा बलिदान भएर जाने ती वीरले एउटी नारीलाई विधवा बनाई उनलाई आँसुमा डुबाएर जान चाहेनन् । उनले जुल्फिया मैयाँको विवाहको प्रस्तावलाई अस्वीकार गरे । श्री दशरथ चन्द शहीद भएको केही वर्षपछि नै जुल्फिया मैयाँ उनकै शोकबाट पाल्पामा मरिन् र उनी श्री दशरथ चन्दको नाममा आजीवन अविवाहिता नै रहिन् भन्ने कुरा मैले जुल्फिया मैयाँका दाजु श्री धनशमशेर ज.ब.रा.बाट पनि सुनेको हुँ ।

१९९४/०९५ सालतिर दशरथ चन्द पनि श्री धर्मभक्त बसेको घर ओमबहालमा रहन्थे । त्यहाँ उनले टोलका केटाकेटी भेला गरी पढाउँथे । पढेर मात्र हुँदैन, स्वस्थ शरीर पनि चाहिन्छ भनेर केटाकेटीलाई शारीरिक व्यायाम पनि धर्मभक्तमार्फत सिकाउँथे । यसरी केटाकेटीलाई व्यायाम सिकाउँदै बाहिर घुमाउने गरेका कुरा पनि टोलका कतिपय मानिसले देखेका हुन् । म पनि त्यही ओमबहाल टोलमा बस्ने हुनाले उनीकहाँ बराबर आउनेजाने गर्थे । देशभक्तिका कुरा उनी सुनाउँथे, म पनि आफ्ना कविता देखाउँथेँ र सुनाउँथेँ । मेरा कविता सुनेर उनले भनेका कुरा म अहिले पनि सम्झन्छु ।

(बुकहिलद्वारा प्रकाशित तथा सरुभक्तद्वारा सम्पादित ‘सिद्धिचरणका जेल संस्मरण’को अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?