
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिरहेको छ।
- उनको खातामा ७ करोड रुपैयाँको बैंकिङ ट्रान्जेक्सन देखिएको र अनुसन्धान जारी रहेको बताइएको छ।
- अन्सारीलाई पाँच पटक पक्राउ गरी अनुसन्धान भइरहेको र सुरक्षा थ्रेट कायम रहेको प्रहरीले जनाएको छ।
६ असार, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
सीआईबीले अन्सारी पछिल्लो पटक पक्राउ परेको समयका विवरणहरू केलाइरहेको छ । जसमा करिब ७ करोड रुपैयाँ बैंकिङ ट्रान्जेक्सन देखिएको सीआईबी स्रोतको दाबी छ ।
विभिन्न बैंक खाताको विवरण केलाउँदा युनुसको खाताबाट ७ करोड रुपैयाँ आदान(प्रदान भएको देखिएको सीआईबीका एक अधिकारी बताउँछन् । यसैमा केन्द्रित रहेर अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ ।
यो बाहेक उनको खातामा करिब ५ लाख रुपैयाँ देखिएको छ । ‘ट्रान्जेक्सन ७ करोडको देखिएको छ । अहिले नै त्यसलाई सम्पत्ति शुद्धीकरणको कसुर भन्न मिल्दैन ।
तर त्यो रकम कहाँबाट आयो, कता गयो भन्नेमा हाम्रो अनुसन्धान हो,’ सीआईबीका एक अधिकृत भन्छन् ।
यिनै विवरणमाथि अनुसन्धान भइरहेको सीआईबीले बताएपछि बन्दी प्रत्यक्षीकरणको रिटसमेत खारेज भएको छ । रिट खारेज भएसँगै उनलाई हिरासतमै राखेर अहिले पनि अनुसन्धान जारी रहेको सीआईबीका एसपी तथा प्रवक्ता युवराज खड्का बताउँछन् ।
पछिल्लो पटक १० जेठ २०७६ मा युनुस पक्राउ परेको समयमा उनको बैंकिङ कारोबार केलाउँदा उक्त ट्रान्जेक्सन देखिएको थियो । युनुसका विभिन्न बैंक खाताबाट ७ करोड रुपैयाँ आदान(प्रदान भएको देखिएको छ । यसैमा केन्द्रित रहेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
नक्कली भारतीय नोट प्रकरणमा पक्राउ परेपछि सम्पत्ति शुद्धीकरणको विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेको थियो । तर, उनी रिहा हुन लागेपछि विभागले यो फाइल सीआईबीलाई पठाउँदै अनुसन्धान गर्न भनेको थियो ।
६ वर्षसम्म अनुसन्धान नगरी होल्ड गर्नु र कारागारबाट निस्कने बेलामा अनुसन्धान गर्न भन्दै पत्राचार गर्नुले विभागको गैरजिम्मेवारीपन देखिएको सीआईबीका अधिकारीहरू बताउँछन् ।
त्यसो त यही विषयलाई आधार बनाउँदै युनुसले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तर उनको रिट खारेज भएको छ ।
सामान्तया सम्पत्ति शुद्धीकरणको कसुरमा व्यक्ति पक्राउ परेर अनुसन्धान गरिँदैन । तर युनुस भने अहिले हिरासतमा छन् ।
उनी हिरासतमा रहेको करिब एक महिना पुग्न लागिसकेको छ । सम्पत्ति शुद्धीकरणमा ३ महिना हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान रहेकाले उनी अझै दुई महिनासम्म हिरासतमा रहने सम्भावना छ ।
‘कायमै छ, युनुसमाथि सुरक्षा थ्रेट’
अन्सारी नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेर जेलमा रहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
२६ फागुन, २०६७ मा सुन्धारास्थित केन्द्रीय कारागारका कैदी चार्ल्स शोभराजलाई भेट्न भनेर गएका भारतीय नागरिक जसजित सिंहले अन्सारीमाथि गोली प्रहार गरेका थिए ।
अन्सारीमाथि जसजितले हानेको ४ राउन्ड गोली पड्किएन । पाचौं गोली भने अन्सारीको कुममा लागेर उछिट्टएिको थियो ।
जेलभित्रै मार्ने प्रयास गरिएका अन्सारीमाथि अझै सुरक्षा थ्रेट रहेको प्रहरीको निष्कर्ष छ । नेपाल प्रहरीको विशेष ब्यूरोले पनि युनुसमाथि भारतीय आपराधिक गिरोहको उच्च सुरक्षा थ्रेट रहेको विश्लेषण गरेको छ ।
‘भारतीय जाली नोटमा संलग्न हुनुलाई भारतीय पक्षले आफूविरुद्धको गतिविधिका रूपमा लिँदै आएको देखिन्छ,’ विशेष ब्यूरोका एक अधिकृत भन्छन्, ‘उनी मुस्लिम अगुवा पनि हुन् र अर्को देशसँग निटक रहेर आफूहरूविरुद्ध गतिविधि गर्नसक्ने आशंका गर्दै उनीहरू चनाखो हुने गरेको देखिन्छ ।’
त्यसैगरी सीआईबीले पनि युनुसमाथि सुरक्षा थ्रेट कायमै रहेको विश्लेषण गरेको छ । सुरक्षा थ्रेटबारे सीआईबीकै अधिकारीले युनुसलाई सम्झाएका थिए ।
‘हाम्रो विश्लेषणमा पनि उनीमाथि सुरक्षा थ्रेट देखिन्छ । यसका केही कारणहरू समेत हामीले उनलाई जानकारी समेत गराएका थियौं,’ एक अधिकृतले भने ।
हिरासतबाट निस्किने प्रयास
कारागारबाट छुटेलगत्तै युनुस पक्राउ परेपछि उनी आफ्नै इच्छाअनुसार हिरासत गएको हुनसक्ने पनि आकलन गरिएको थियो ।
किनकि, कारागारमै हुँदा गोली प्रहार भएकाले बाहिर झनै सुरक्षा थ्रेट हुने भएकाले उनी आफैं हिरासतमा जान खोजेको रूपमा अर्थ्याइएको थियो ।
पछिल्लो पटक भने १० जेठ २०७६ मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो । तर, वास्तविकता त्यसो नभएर अहिले युनुस हिरासतबाट बाहिर निस्कन खोजेका थिए ।
आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै उनी एक साताअघि गत शुक्रबार उच्च अदालत पाटन पुगेका थिए । पाटनमा उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे ।
गत मंगलबार न्यायाधीशद्वय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले अन्सारीको रिट खारेज गरिदियो । जसका कारण उनी हिरासतमुक्त हुन पाएनन् ।
यद्यपि, रिट हाल्नुले अन्सारी आफैं हिरासत वा कारागारमा बस्न होइन, मुक्त हुन चाहेको प्रष्ट भएको छ । त्यसो त अन्सारीलाई भारतीय जाली नोट कारोबारमा ६ वर्ष कैद र ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाइएको थियो ।
उनी आफैं कारागारमा बस्न चाहेको भए उक्त जरिवाना र क्षतिपूर्तिको रकम नतिरी कारागारमै रहन्थे । तर उनले जरिवाना र क्षतिपूर्ति दुवै रकम तिरेको पाइएको छ ।
यी घटनाले अन्सारीले पछिल्लो समय आफूमाथि सुरक्षा थ्रेट नभएको र बाहिरै बस्ने योजना बनाएको प्रष्ट पारेको विश्लेषण प्रहरीको छ । तर उनको यो प्रयास तत्काललाई टरेको छ ।
पछिल्लो पटक ३० जेठमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमित दिएको छ ।
पाँचौं पटक पक्राउ
अन्सारीको यो पाँचौं हिरासत यात्रा हो । पछिल्लो पटक सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि ४ पटक भने उनी भारतीय जाली नोट प्रकरणमा पक्राउ परेका थिए ।
उनी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । त्यतिबेला उनी नेसनल टेलिभिजनको अध्यक्ष थिए । त्यसपछि उनी केही समय थुनामा गए ।
६ असोज, २०६७ मा फेरि ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि उनको कनेक्सन जोडियो । यो प्रकरणमा कैद बसेर उनी १८ असोज २०७० मा कारागारमुक्त भएका थिए । त्यतिबेलै केन्द्रीय कारागार सुन्धारामा रहेका बेला उनीमाथि मार्ने उद्देश्यसहित भारतीय नागरिकले गोली हानेका थिए ।
जेलबाट छुटेको करिब ४ महिनापछि नै उनी फेरि १० माघ २०७० मा ३५ लाख नक्कली भारतीय नोटसहित पक्राउ परे ।यो प्रकरणमा पनि उनी कारागार चलान भएर छुटे ।
पछिल्लो पटक भने १० जेठ २०७६ मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो । कतारबाट काठमाडौं आउने ३ जना पाकिस्तानी नागरिक राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दीन र राहदानी नं। सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए ।
उनीहरू कराँचीबाट कतार हुँदै नेपाल आएका थिए । यीनै ३ जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया-१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए ।
यो घटनामा दोषी ठहर गर्दै युनुसलाई ६ वर्ष कैद तोकिएको थियो । उक्त कैद भुक्तान गरेर १० जेठमा छुट्नासाथ उनी फेरि पक्राउ परेका थिए ।
पछिल्लो पटक भने उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4