
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले पत्रिका र अखबारको पतन र पाठक घट्ने अवस्थालाई व्यक्त गरेका छन्।
- उनले न्युरोडको पत्रिका वितरण प्रणाली र यसको परिवर्तनको अनुभव सुनाएका छन्।
- पत्रिका र प्रिन्ट मिडिया डिजिटल र सामाजिक मिडियामा सरेको अवस्थामा चर्चा गरेका छन्।
छापासँग पङ्क्तिकारको विशेष मोह छ । स्ट्रिन्जरदेखि दुई साप्ताहिक र एक मासिकको सम्पादकसम्मको करिब अढाई दशक करिअर–यात्रा तय गरेको व्यावसायिक पत्रकारको छापासँग विशिष्ट अनुराग र लगाव हुनु उति नौलो कुरो होइन । कुनै बेला दशौं हजार प्रति बिक्ने अखबार आज सय पाठक पाउन तड्पिरहेको छ । अखबारको यस ‘पतन’ र यस बद्हालतको साक्षी हुनुपर्दा कता–कता मन पोलेर आउँछ ।
देशको दिनचर्याबाट पत्रिका सम्मिलित केही दृश्य गायब छन् । हराएका छन् । जस्तो, फुटपाथमा बेच्न राखिएका पत्रिकाहरू उभिएर पढिरहेका पाठक । बसभित्र आलोपालो गरेर पत्रिका पढिरहेका यात्रुहरू र यो हातदेखि त्यो हातसम्म नाचिरहेका सन्ध्याकालीन, गोरखापत्र वा कान्तिपुर । अखबारमा घोप्टिएर यात्रु कुरिरहेका ट्याक्सी चालकहरू । यस्ता दृश्यहरूको न्यास्रोले यदाकदा म भावुक हुन्छु ।
मेरा मित्र कमलराज भण्डारीले पत्रपत्रिकासँग संगत गर्न थालेको तीन दशकभन्दा लामो समय भइसक्यो । कान्तिपुर दैनिक प्रकाशन हुनुभन्दा एक महिनाअघिदेखि नै बजारमा पत्रिकाको वितरण प्रणालीको व्यवस्थापन गर्न खटिएका भण्डारी अहिले पनि काठमाडौँको न्युरोडबाट पत्रिका वितरण नै गर्छन् । बितेका तीन दशकमा उनले पत्रपत्रिकाको सबैभन्दा धेरै पाठक र अहिले पत्रिकातिर आँखै नलगाउनेसम्मको परिस्थितिको अनुभव लिइरहेका छन् । उनलाई काठमाडौँबाट प्रकाशित हुने प्राय: सबै दैनिक पत्रिकाहरू न्युरोडबाट के कति वितरण हुन्थ्यो, र अहिले कति भइरहेको छ, कण्ठस्थै छ । ‘छापा माध्यमको अहिलेको अवस्था सबैलाई थाहा नै छ । पाठकहरू विगतको तुलनामा अत्यासलाग्दो तवरले घटेका छन्,’ भण्डारी भन्छन्, ‘जतिबेला पत्रिकाको पाठक भरपूर थिए, न्युरोडको पीपलबोट, आसपासका गल्लीहरू हरेक दिन बिहान ४ बजेदेखि नै पत्रिका बिक्रेता एवं पाठकले गुल्जार हुन्थे ।’
पत्रिका लिन आउने पसलेहरू, काँधभरी पत्रिकाको चाङ लगाएर चर्को स्वरमा ‘हेडिङ’ भट्याउँदै पाठकका हातहातमा पत्रिका पुर्याउने हकरहरू, फुटपाथमा घोत्लिएर पत्रिका पढ्नेहरूका कारण न्युरोड क्षेत्रको परिदृश्यले पत्रपत्रिकाको महत्व र पाठकहरूको सूचनाप्रतिको गहिरो अभिरुचि एकसाथ प्रकट गरिरहेको हुन्थ्यो ।
न्युरोडमै बीस वर्ष फुटपाथमा पत्रिका बिक्री गरेका राजेश गजुरेल यो पेसाबाट विस्थापित भएको चार वर्ष भइसक्यो । ‘जतिबेला पत्रिकाको बिक्री उच्च थियो, म दिनमै पन्ध्र सयभन्दा धेरै कपी पत्रिकाहरू बिक्री गर्थें,’ उतिबेलाको ‘स्वर्णकाल’ को धमिलो सम्झना छ उनीसँग ।
कुनै बेला (उसो त यो दूर अतीतको कुरा होइन) न्युरोड क्षेत्रलाई आधार बनाएका मात्रै करिब २ सय ५० जनाभन्दा बढी हकर थिए । उनीहरू काँधमा बोकेर पाठकका घरदैलोमा पुर्याउने पत्रिकाका वास्तवमै ‘ब्रान्ड एम्बेसडर’ थिए । थुप्रै हकरहरूसँग यस पङ्क्तिकारको राम्रो दोस्ती छ । यदाकदा बात मार्दा उनीहरूले निकाल्ने निचोड एउटै हुन्छ, कि- ‘मोबाइलले पत्रिका खाइदियो ।’
सूचना प्रविधिको विष्फोटक विकास, स्मार्टफोन र इन्टनेटको सहज पहुँच एवं सोसल मिडियाको सुरुवातसँगै पत्रिकाका पाठकहरू क्रमश: मोबाइलको स्क्रिनमा ‘घोप्टिन’ थाले । पत्रिकाका पाठकहरू तीव्र गतिमा घट्दै गए । पाठक घटेसँगै हकरहरू पनि पेसाबाट पलायन भए । अहिले काँध लच्चकै हुने गरी मुन्टो बांगो पारेर पत्रिका बोकेर हिँडिरहेका ‘सूचनाका दूतहरू’ देखिँदैनन् । अहिले न्युरोडमा छसात जना मात्र हकर बाँकी छन्, जसले काँध गल्नेगरी पत्रिकाको चाङ बोक्नु पर्दैन, काखीमै च्यापेको पत्रिका पनि बिक्री नभएर फिर्ता गर्नुपर्ने अवस्था छ । यी मध्ये एक जना मेरा मित्र हुन्, शंकर ढुंगाना । ‘कुनै दिन त दुई घण्टा डुल्दा एक कपी पनि पत्रिका बिक्दैन’ म उनको दिकदारीले खिन्न हुन्छु ।
पत्रिकाका पाठक गायब भएसँगै शहरबाट पत्रिका पसलहरू हराएका छन् । जतिबेला पत्रिकाको बिक्री उच्चतम विन्दुमा थियो, वितरक भण्डारीसँग मात्रै काठमाडौँका ११ सय पत्रिका पसलहरूको लिस्ट थियो । यो संख्या अहिले दुई सयभन्दा पनि तल झरिसकेको छ । ‘हरेक दिन बिहान ४ सय २६ जनाले त न्यु्रोडबाटै पत्रिका उठाउँथे,’ भण्डारी स्मृतिविभोर भएर सुनाउँछन् । अनि लगत्तै, यथार्थ धरातलमा ओर्लिन्छन् र भन्छन्, ‘अहिले मुस्किलले ७५ जना बिक्रेता पत्रिका लिन न्युरोड आउँछन् ।’
पत्रिका पसल र फुटपाथमा बेच्न राखिएका पत्रिकाहरू स्टिच गरिएका हुन्थे । पत्रिका पाठकले खरिद गरेर मात्रै पढून् भनेर बिक्रेताहरूले यो जुक्ति निकालेका थिए । स्टिच गरिएको पत्रिकाको मुखपृष्ठका समाचार सरसरर्ती हेर्न पाइए पनि धेरै बेर पत्रिका लिएर उभिरहने अवस्था हुँदैनथ्यो । पत्रिकाका ग्राहकहरूले आफूलाई चाहिने पत्रिका खरिद गरिसकेपछि अन्य पत्रिका पल्टाएर एकसरो हेर्ने सुविधा भने बिक्रेताहरूले दिने गर्दथे ।
नयाँ चिया पसल खुल्यो, त्यसमा पत्रिका अनिवार्य नै राख्ने गरिन्थ्यो । पसल, होटल, रेस्टुरेन्ट, सैलुन, क्लिनिक जताततै पत्रपत्रिकाहरू राख्ने गरिन्थ्यो । चिया अर्डर गरेपछि पनि मानिसहरू पत्रिका नै पल्टाइरहेका देखिन्थे । अस्पताल तथा क्लिनिकहरूमा डाक्टर कुरेर बस्दा पनि सामान्य अवस्थाका बिरामीले पत्रिका नै पढेको देखिन्थ्यो । अस्पतालमा भर्ना भएर उपचार गराई रहेका बिरामीहरू जो निको हुने चरणमा पुगेका हुन्छन् उनीहरूको बेडमा पनि पत्रिका नै देखिन्थ्यो ।
सार्वजनिक स्थलहरूमा स्थानीय युथ क्लब वा सामाजिक संस्थाहरूले पत्रिका टाँस्ने सुरक्षित स्थान बनाएका हुन्थे, जहाँ दैनिक पत्रिकाहरू पढ्न मिल्ने गरी टाँसिन्थ्यो । पाठकहरूले उभिएर पत्रिका पढिरहेका दृश्य पनि देखिन्थ्यो । यो दृश्य नदेखेकालाई भित्तामा टाँसेर राखेका पत्रिकाहरू उभिएर पढ्नेहरू पनि हुन्थे रे भनेर अचम्म लाग्न सक्छ । काठमाडौँको विशाल बजार, कालिमाटी तरकारी बजार, सोह्र खुट्टे लगायत स्थनमा पत्रिका टाँस्ने गरिन्थ्यो । यहाँ पाठकहरूले पत्रिका पढिरहेको पनि भेटिन्थ्यो ।
अहिले मोइबाइलमा जसरी मानिसहरू सोसल मिडियामा आउने सर्टस्, रिलका भिडियो,स्टाटस र पोस्टहरू स्क्रोल गरेर टाइम पास गरिरहेका छन् केही वर्ष अघिसम्म मानिस पत्रिका पढेर समय बिताइरहेका देखिन्थे ।
पत्रिकाको वार्षिक ग्राहक बन्नु र एकाबिहानै घरमा पत्रिका आउनु कतिपयका लागि प्रतिष्ठाको विषयसमेत हुन्थ्यो । बिहानको चियाको चुस्कीसँगै पत्रिका पढेर दिनको सुरुवात गर्ने शहरवासीले पत्रिकाको ग्राहक बन्न छोडेका छन् । पत्रिका छोड्नेहरूको एउटै तर्क छ– ‘सबै कुरा अहिले मोबाइलमै आइहाल्छ नि !’
प्रिन्टसँगै डिजिटल प्लेटफर्म पनि चलाइरहेका मिडिया हाउसहरू पत्रिकाका ग्राहकहरू हार्डकपीबाट डिजिटलमा सिफ्ट भइरहेको बताउँछन् । छापामाध्यम पढ्न छोडेकाहरू अनलाइन पोर्टलका पाठक भएका छन् कि सोसल मिडियाका अम्मली ? यसको विस्तृत मिडिया अध्ययन कसैले गरिदिए हुन्थ्यो ।
७२ सालको भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दीको गम्भीर असर मिडिया क्षेत्रमा परेको थियो । भूकम्पले तहसनहस भएको अवस्थामा पत्रिका प्रकाशन र वितरण चुनौतीपूर्ण रहे पनि मिडिया हाउसले आफ्नो भूमिकालाई कमजोर हुन दिएका थिएनन् । तर पाठकहरू भने घट्न थालिसकेका थिए । म आफूले काम गर्ने पत्रिकाको प्रिन्ट अर्डर कति छ भन्ने जानकारी राख्ने तहमा भएकाले भूकम्पको धक्का छापा माध्यममा परेको जानकार नै थिएँ । भूकम्पको त्रास केही कम भएपछि छापा माध्यमले थोरै भए पनि विस्तारित हुन कोशिस गरिरहेकै बेला ७६ सालमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड संक्रमणले भने पत्रिका र पाठकको भौतिक दूरी निकै नै बढाएको छ ।
छापा माध्यमको संकुचन विश्वव्यापी चिन्ताको विषय हो । जब–जब ‘अब केही वर्षमै अखबारको मृत्यु हुन्छ’ भन्ने भविष्यवाणी सुनिरहेको हुन्छु, मन चसक्क हुन्छ । किनभने, अखबार मेरा निम्ति फगत कागजी वस्तु होइन, जीवन पद्धतिकै एउटा हिस्सा हो ।
प्रतिक्रिया 4