
७ असार, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
मृतकहरुको सनाखत भएको छैन । ३ जना पुरुष र २ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई ठक्कर दिएको थियो ।
घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो ।
तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।
प्रतिक्रिया 4