
७ असार, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले एकै पटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गरे ।
संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफलभन्दा महत्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गरे ।
संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने उनले बताए ।
‘एकै पटक १० वटा मन्त्रालयको छलफल गरेर हामी कसरी एउटा कन्स्ट्रस्टिभ ढंगले संसदमा भूमिका खेल्नसक्छौँ । एउटा यो गम्भीर प्रश्न हो,’ सांसद भट्टराईले भने, ‘१० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरू आउनु भएन । अस्ति केही मन्त्रीजीहरू आउनुभएन । अनि थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो । म माननीय मन्त्रीहज्यूहरूलाई भन्न चाहन्छु, संसद् चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्त्वपूर्ण अर्को काम के होला यहाँ । जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के पर्यो होला । यो निकै गम्भीर प्रश्न हो ।’
संसदमा उपस्थित भएर गम्भीरताकासाथ नलिने हो भने आफूले प्रस्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग नलिए त्यसप्रति जिम्मेवार नभइने बताए ।
‘संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही भन्छ । मन्त्रीहरूलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही भन्छ । जब हामी संसदमा उपस्थित भएर गम्भीरताका साथ भाग लिँदैनौँ, आफूले प्रस्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनाँै भने गर्छौं के ? विधायिकी काममा भाग लिँदैनौँ भने गर्छौं के ? तीतो नमान्नुहोला माननीय मन्त्रीज्युहरू समयमा नआउने, जसले गर्दा एक घण्टापछि हामीले यो सुरु गरेका छौँ । किनभने मन्त्रीज्यु नआएर हो ।’
सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए ।
प्रतिक्रिया 4