
News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वको ध्यान मध्यपूर्वमा केन्द्रित छ, इजरायल र इरानबीच सैन्य संघर्ष जारी छ।
- इरानले आणविक हतियार कार्यक्रम र सैन्य आक्रमणहरू गरेको समाचार आएका छन्।
- नेपालमा मेयर नागेश कोइराला अध्ययन भ्रमणमा रहेका बेला इजरायल-इरान युद्ध सुरु भएको जानकारी छ।
यतिबेला विश्वको ध्यान फेरि मध्यपूर्वमा केन्द्रित छ। युद्धोन्मत्त इजरायल र इरान एकअर्काका माथि साङ्घातिक सैन्य हमला गरिरहेका छन् र ठूलो जनधनको क्षतिका विवरण पनि आइरहेका छन्। यी दुई भिन्न संस्कार र संस्कृति भएका मुलुकहरूको शस्त्र-उन्मादी हर्कतलाई तत्काल रोक्न सकिएन भने यसमा अरू राष्ट्रहरू पनि यो वा त्यो पक्षमा उभिन पुग्ने र त्यसले ठूलो विनाशकारी युद्धको रूप लिनसक्ने चिन्ता सर्वत्र व्यक्त गर्न थालिएको छ।
यी हरफ लेख्दै गर्दासम्म इरानी सेनाको चेन-अफ-कमान्ड भत्काउन इजरायलले इरानको राजधानी तेहरान वरपरका सैनिक गढमाथि हमला गरी इरानी सेना प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रमुख लगायत वरिष्ठ जनरलहरूका साथै इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह खुमेनीका वरिष्ठ सल्लाहकार समेतको हत्या गरिसकेको समाचारहरूमा आएका छन्।
त्यस्तै इरानको केन्द्रीय नताञ्ज परमाणु केन्द्रमा गरिएको इजरायली आक्रमणमा परी आणविक हतियार कार्यक्रममा संलग्न ६ वरिष्ठ वैज्ञानिक सहित आणविक हतियार कार्यक्रमका प्रमुख समेतको मृत्यु भएको बताइएको छ।
त्यसैगरी इरानले नयाँ तरिका अपनाएर इजरायली एयर-डिफेन्स सिस्टमलाई भेदन गर्दै इजरायलको प्रमुख शहर तेलअभिव र बन्दरगाह शहर हाइफमा आक्रमण गरेको जनाएको छ। यसबाट ती शहरका केही घरहरू नष्ट हुनुका साथै केही इजरायली नागरिकको मृत्यु भएको छ।
यता नेपालमा इजरायल-इरान बीचको सशस्त्र द्वन्द्वसँगै चर्चामा छन् विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला। उनी इजरायलको कृषि र सहकारी कार्यक्रमको अध्ययन अवलोकनका लागि इजरायल पुगेका थिए। यसैबीच इजरायल इरानबीच सशस्त्र द्वन्द्व शुरू भयो र त्यहाँका सबै विमानस्थल र वैदेशिक नाका बन्द गरिएपछि उनी त्यतै अड्किएका छन्। उनी इजरायली राजधानी जेरुसेलमभन्दा ३० किमि जति परको सेफाइम नामक एक शहरमा उनी जस्तै अध्ययन भ्रमणमा रहेको फिलिपिनो सांसदहरूको टोलीका साथ बस्दै आएको उनैले जनाएका छन्। परिवारसँग नियमित सम्पर्कमा रहेका कोइरालाले आफू रहेको बङ्करका तस्वीर समेत पठाइरहेका छन्।
कोइरालालाई नजिकबाट जान्नेहरू उनलाई विन्दास स्वभावका बताउँछन्। भनिन्छ उनी आफ्नो कार्यकक्षमा समेत मानिसहरूसँग अधिकतर अनौपचारिक शैलीमा हाँसोठट्टा गरिरहेका भेटिन्छन्। उनको यस्तो रसिक स्वाभाव हाल परदेशमा निकै संकटपूर्ण अवस्थामा रहेका बखत पनि यथावत् देखिन्छ। एउटा समाचारमा जनाए अनुसार उनी फिलिपिनो टोलीतिर संकेत गर्दै भन्छन्, “उनीहरू पनि आत्तिएका छैनन्, म पनि धेरै आत्तिएको चाहिं छैन। आत्तिए पनि नडराई आत्तिइरहेको छु!”
इरान आणविक हतियार बनाएर इजरायललाई नष्ट गर्न चाहन्छ, यो उसको घोषित लक्ष्य हो। त्यसलाई रोक्न अमेरिकी राष्ट्रपति इरानसँग वार्ता गरिरहेका थिए। तर वार्ता सफल नहुने संकेत देखेपछि इजरायल इरानमाथि जाइलागेको साता दिन हुन लागेको छ।
विश्व मामिलाका जानकार केही विश्लेषकहरू इरानमा धार्मिक मुल्लाहरू राज्यको सर्वोच्च पदमा रहने धार्मिक कट्टरपन्थी राजनीतिक व्यवस्थाको अन्त्य भएर आधुनिक राज्य प्रणाली स्थापना नभएसम्म यस क्षेत्रमा युद्धको बादल हमेसा मडारिइरहने बताउँछन्।
यी विश्लेषकको कुरा सुनेपछि यस पंक्तिकारलाई एउटा पुरानो प्रसङ्ग सम्झनामा आयो जो यस प्रकार छ: पञ्चायती कालको कुरा हो। हामी झापाको चन्द्रगढी कारागारमा थियौं। हामीले कारागारको अग्लो पर्खाल बाहिरको संसारलाई चिहाउने साधन दुई सरकारी दैनिक गोरखापत्र र राइजिङ नेपाल मात्रै थिए। ती पनि कुनै कुनै दिन अनायास नदारत हुन्थे।
तिनै दुई अखबारले इरानमा सरकारका विरुद्ध आन्दोलन चर्कंदै गएको खबर बोकिल्याए। त्यहाँका शासक थिए मोहम्मद रेजा शाह पहलवी नामका राजा। हामी राजबन्दीलाई जहाँको भए पनि राजाका विरुद्धको आन्दोलन राम्रो लाग्ने नै भयो। आन्दोलन झन्–झन् चर्किंदै गइरहेको थियो, हामीलाई थप मज्जा आइरहेको थियो। त्यसले हामीलाई उत्साहित समेत पार्दै थियो। यस्तैमा गोरखापत्रमा छोटो समाचार आयो जसको सार थियो: बीपी कोइरालाले भने- म नेपाललाई इरान हुन दिन्नँ !
त्यहाँ हामी २५-३० राजबन्दी थियौं, आधाउधि कांग्रेस र त्यस्तै झापाली कम्युनिस्ट। उस बेलाका कांग्रेस कम्युनिस्टहरू अहिलेका देउवा र ओली जस्तो मिलेर सत्ताको चास्नीमा सूँड गाड्न पल्केका थिएनन्। कांग्रेसले कम्युनिस्टलाई एकदलीय सर्वसत्तावादी विचारका पक्षधर र कम्युनिस्टले कांग्रेसलाई बुर्जुवा सामन्ती विचारका पक्षधर शक्तिका रूपमा हेर्थे। तथापि अढाइ तीन वर्षको एक साथ जेल बसाइले बोक्रे नै भए पनि एकआपसमा सम्बन्ध सौहार्द बनाएको थियो।
गोरखापत्रको त्यो समाचार देखाउँदै झापाली साथीहरूले हामीलाई प्रश्न गर्न थाले- के हो, तपाईंहरूको नेता त इरान मामलामा राजाको पक्षमा उभिए नि त ?
हामीलाई हाम्रो नेता माथि पूर्ण भरोसा थियो तर गोरखापत्रमा आएको उहाँको त्यो कथन त हाम्रा लागि पनि प्रीतिकर थिएन। हामीले भन्यौं- गोरखापत्रले छापेको सानो समाचारलाई लिएर चर्चा गर्नुको के अर्थ हुन्छ र, तथापि त्यसले पनि बीपी राजाको पक्षमा उभिनुभएको त भन्दैन नि ! त्यहाँ एकातिर आन्दोलनका नाममा भएका तोडफोडका घटनाबाट राष्ट्रिय सम्पत्तिमाथि क्षति पुगिरहेको छ भने अर्कातिर आन्दोलन दबाउन भएका ज्यादतीले धेरै इरानीको ज्यान समेत गइरहेको छ। हो, नेपालमा त्यस्तो हुन दिन्नँ, शान्तिपूर्ण परिवर्तनका लागि प्रयत्न गर्छु भनेको पनि त हुन सक्छ।
कांग्रेसतर्फ राष्ट्रिय एकता तथा मेलमिलापको नीति अन्तर्गत भारतबाट फर्केका हामी तीन जना थियौं, अरू साथीहरूलाई नेपालभित्रै विभिन्न ठाउँमा गिरफ्तार गरेर त्यहाँ राखिएको थियो। झापाली साथीहरू हामी प्रवासबाट फिरेकालाई पञ्चायतमा समर्पण गरेर वा भारतको इशारामा नेपाल पसेका भनेर हेर्थे। त्यसमाथि राजाले बीपीलाई उपचार गर्न खर्च समेत दिएर विदेश पठाएपछि त उनीहरूको अनुमानलाई बल पुग्ने नै भयो।
साँच्चै, बीपीले त्यस्तो के भन्नुभएको त ? मन पोल्न थाल्यो। त्यसका बारेमा थप जानकारी दिन सक्ने सम्भावना भोलिपल्टको गोरखापत्रमा हुनसक्थ्यो। त्यसैले अधैर्यपूर्वक त्यसको प्रतीक्षामा लागियो। मलाई भने राति अबेरसम्म निद्रा पनि आएन।
भोलिपल्टको गोरखापत्रमा त्यस्तो केही आएन। गोरखापत्रले भन्दा राइजिङ नेपालले अन्तर्राष्ट्रिय समाचार अलिक विस्तारमा दिने गर्थ्यो। त्यसमा पनि इरानको आन्दोलन चर्किंदै गएको तथ्यका रूपमा ठाउँ–ठाउँमा भएका तोडफोड तथा गोली चलेका घटनाहरू मात्रै थिए। बाँकी दिनहरू सकसमा कटे।
पछि थाहा भयो इरान कट्टरपन्थी सिया मुस्लिम बाहुल्य देश रहेछ। दोसो विश्वयुद्धताका अंग्रेज-रूसी गठबन्धनले इरानमा आक्रमण गरेपछि राजा रेजा शाहलाई गद्दीच्यूत गरी उनका छोरा मोहम्मद रेजा शाह पहलवीलाई राजगद्दीमा राखियो। बेलायती स्वार्थ त्यहाँको तेल भण्डारसँग गाँसिएको थियो।
रेजा पहलवीको शासनकालमा इरानको संसद्को विश्वास पाएका प्रधानमन्त्री मोहमद मोसादेगले बेलायतीको स्वामित्वमा रहेको तेल कम्पनी राष्ट्रियकरण गरे। त्यसबाट क्रुद्ध भएको बेलायत तथा अमेरिकाको इशारामा इरानी सेनाले सैनिक हस्तक्षेप गरी प्रधानमन्त्री मोसादेगलाई हटाएर राजा रेजा पल्लवीलाई शक्तिशाली बनायो। इरानलाई पहिले पर्सिया भनिन्थ्यो। त्यसलाई महान् सभ्यताको संज्ञा दिएर नयाँ राजा शाह मुलुकलाई औद्योगिकीकरण र सेनाको अधुनिकीकरणका साथै मुलुकमा आर्थिक तथा सामाजिक सुधार गर्नतिर लागे।
सन् १९६३ मा उनले श्वेत क्रान्तिको नाराका साथ विकास निर्माण र आधुनिकीकरण अभियान चलाए। यस क्रममा उनले केही महत्वपूर्ण उद्योगहरूको राष्ट्रियकरण, जमिनको पुन: वितरण जस्ता कदम चालेर इरानलाई शक्तिसम्पन्न राष्ट्रको रूपमा अघि बढाउने अभियान थाले। स्वास्थ्यको क्षेत्रमा योजनाबद्ध रूपमा सुधार थालियो। उनले चलाएको शिक्षाको अभियान संसारमै नमूनाको रूपमा
देखियो। उनका सुधारका कार्यक्रमले प्रतिव्यक्ति आय तथा राष्ट्रिय आयमा ठूलो फड्को मार्यो।
उनले महिला शिक्षा र मतदानको अधिकार सुनिश्चित गरे। सार्वजनिक स्थलमा महिलाले बुर्का लगाउनुपर्ने प्रथाको अन्त्य गरियो। शिक्षित युवाहरूलाई गाउँ–गाउँमा पठाएर शैक्षिक अभियान चलाए। त्यसै गरेर पढेलेखेका युवालाई विदेशमा पठाएर विज्ञान र प्रविधिका विषयको अध्ययन गर्ने अवसर दिएर मुलुकका लागि आवश्यक जनशक्तिको जोहो गर्ने काम थाले।
तर भौतिक विकासको क्षेत्रमा उल्लेख्य प्रगति गरे पनि जनतामा प्रजातान्त्रिक अधिकार भएन भने मानिस सन्तुष्ट हुन सक्दैनन्। त्यसै गरेर राजा शाहको पश्चिमा शैलीको आधुनिकीकरणतर्फको झुकावलाई लिएर इस्लामी कट्टरतावादीले आफ्नो धर्ममाथि अनादर भएको भन्दै सर्वसाधारण मानिसलाई उचाल्न थाले। राजा पनि विपक्षीको दमनमा लागे। धर्मान्ध मुल्लाहरूले नेतृत्व गरेको आन्दोलनले राजालाई इरान छाड्न बाध्य बनायो। इरान इस्लामिक गणतन्त्रमा परिवर्तित भयो। त्यसयता यिनै मुल्लाको नेतृत्वमा रहेको इरान भित्र शान्ति हराएको छ।
यस्तो हुन्छ भनेर आन्दोलनकै थालनीमा बीपीले पूर्वानुमान गरेर भन्नुभएको रहेछ: म नेपाललाई इरान हुन दिन्न !
प्रतिक्रिया 4