
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद कृष्णकुमार श्रेष्ठले निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्ने प्रवृत्तिको विरोध गर्दै समावेशी विकासको आवश्यकता औंल्याए।
- उहाँले २०८४ को चुनावमा आफूले आफ्नै क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा प्रतिस्पर्धा गर्ने चेतावनी दिए।
- उहाँले बजेटलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नहुने र मधेस प्रदेशलाई उपेक्षा गरिएको आरोप लगाए।
७ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले आफ्नो क्षेत्रमा मात्रै बजेट हालेर चुनाव जितिन्छ भन्ने सपना नदेख्न नेताहरूलाई आग्रह गरेका छन् ।
शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
‘अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने कुन क्षेत्रमा चुनाव लडौं भन्नुस्, म २०८४ मा तपाईंको क्षेत्रमा चुनाव लड्न आउँछु,’ उनको चेतावनी छ, ‘तपाईं बजेट हालेको कारणले मात्र म जित्छु भन्ने दिवा सपना नदेख्नुस् । बजेटमाथि कब्जाको नीतिले २०८४ मा चुनाव जित्छु भन्ने दिवा सपनाबाट ब्युँझिन आग्रह गर्न चाहन्छु ।’
जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर बजेटमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्न चेतावनी पनि दिएका छन् ।
१६५ निर्वाचन क्षेत्रका जनताले आफ्नो गाँस काटेर तिरेको करको अवमूल्यन नगर्न आग्रह गर्दै राज्यको स्रोत साधनमा समानुपातिक अधिकार दिइनुपर्ने बताए ।
‘के देशका १६५ निर्वाचन क्षेत्रका जनताले आफ्ना गाँस काटेर योे मुलुक बनाउन कर तिरेका छैनन् ? राज्यको स्रोत साधनमा उनीहरुको समानुपातिक अधिकार छ कि छैन ? जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने नेताले दिवा सपना नदेखे हुन्छ,’ सांसद श्रेष्ठले भने ।
सरकारले ल्याएको बजेटले मधेस प्रदेशलाई उपेक्षा गरेको बताउँदै उहाँले सिंगो बजेट आफू अनूकुलका क्षेत्रमा प्रयोग गर्ने ठूला नेताको प्रवृत्ति यो वर्षपनि दोहोरिएको दाबी उनले गरेका छन् ।
‘सरकारले ल्याएको यो बजेटले मधेश प्रदेशलाई उपेक्षा गरेको छ, सिंगो बजेट आफू अनुकूलका क्षेत्रमा प्रयोग गर्ने ठूला नेताको प्रवृत्ति यो वर्ष पनि दोहोरिएको छ,’ उनले छलफलमा भाग लिने क्रममा भने, ‘यो सरकारको ढुकुटी सत्तापक्ष, ठूला नेता र मन्त्रिमण्डलमा भएका नेताहरूका लागि मात्र हो ? मन्त्री, उपप्रधानमन्त्रीहरू, पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री र ठूला नेताका क्षेत्रमा मात्र बजेट राख्नुको अर्थ के हो ?’
प्रतिक्रिया 4