
७ असार, काठमाडौं । एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको नेतृत्व चयन पनि मतदानबाटै हुने लगभग पक्का भएको छ ।
बबरमहलमा जारी १४औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि एक भन्दा बढी उम्मेदवारी परेकाले चुनावी प्रक्रियामा जाने भएको हो । अध्यक्ष पदका लागि कमला थापा, हंसबहादुर शाही र यमबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । थापा निर्वमान उपाध्यक्ष, शाही महासचिव र कुँवर केन्द्रीय सदस्य हुन् ।
सर्वसम्मतिको प्रयास गरिए पनि तीनै जनाले अडान नछोडेपछि चुनावी प्रक्रियामा सम्मेलन बढेको छ । संगठनका इन्चार्ज भोला पोखरेलका अनुसार सहमति जुटाउने प्रयास सफल नभएकाले अब निर्वाचन प्रक्रिया अगाडि बढाइने भएको छ ।
‘सर्वसम्मतिको प्रयास गरियो, तर आकांक्षीहरुले छोड्नु भएन । अब फटाफट चुनावी प्रक्रिया अगाडि बढ्छ’ पोखरेलले भने, ‘विद्युतीय मतदान हुने भएकाले तयारीमा केही समय लाग्न सक्छ । तर सकेसम्म चाँडो अगाडि बढ्छौं ।’
सम्मेलनमा ४७२ जना प्रतिनिधि आएका छन् । यी प्रतिनिधिबाट ९ पदाधिकारी र ६१ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुनेछन् ।
स्रोतका अनुसार अध्यक्षका उम्मेदवारहरूलाई पार्टीभित्रकै ठूला दुई समूहको समर्थन रहेकाले पनि प्रतिनिधिहरुको मतबाट नेतृत्व चयन हुने सम्भावना बढी भएको हो । पार्टी संस्थापनले केन्द्रीय सदस्य कुँवरलाई साथ दिएका छन् ।
गण्डकी इन्चार्ज रहेका कुँवरलाई पार्टी संस्थापनले अगाडि बढाउन खोजेपछि संस्थापन इतर समूहले निवर्तमान महासचिव शाहीलाई साथ दिएका छन् । ‘उम्मेदवार तीन जना भएपनि यमबहादुर कुँवर र हंशबहादुर शहीबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ’, उच्च स्रोतले भन्यो ।
प्रतिक्रिया 4