
News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानमाथि अमेरिकी आक्रमणको समर्थन गरेका छन् ।
- अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूमा आक्रमण गरी ठूलो क्षति पुर्याएको ट्रम्पले दाबी गरे र चेतावनी दिए।
- इरानमा सत्ता परिवर्तनको संकेत दिए पनि अमेरिकी अधिकारीहरूले यस्तो उद्देश्य नभएको स्पष्ट गरे।
९ असार, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन गरेका छन्।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वङसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकी आक्रमणको समर्थन गरेका हुन् ।
एल्बनीजले सबै पक्षहरूलाई पुनः वार्ता सुरु गर्न आग्रह गरेका छन्। ‘हामी कुनै पनि किसिमको युद्ध वा ठूलो स्तरको द्वन्द्व चाहँदैनौं,’ उनले भने ।
उनले थप भने, ‘हामी निरन्तर संवाद र कूटनीतिक पहलको माग गरिरहेका छौं।’
अष्ट्रेलियाका प्रधानमन्त्री एल्बनीजले क्षेत्रीय अस्थिरता निम्त्याउन सक्ने कुनै पनि कदम नचाल्न इरानलाई आग्रह गरेका छन् ।
ठूलो क्षति भएको ट्रम्पको जिकिर
आइतबार अमेरिकाले इरानका फोर्दो, नताञ्ज र इस्फाहानस्थित तीन आणविक केन्द्रहरूलाई निसाना बनाउँदै ठूला आक्रमण गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणबाट इरानलाई ठूलो नोक्सानी पुगेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्ण विनाश भन्ने शब्द यस आक्रमणको सही वर्णन हो।’
ट्रम्पले लेखेका छन्, ‘स्याटेलाइट तस्वीरहरूले इरानका सबै आणविक केन्द्रहरूमा ठूलो क्षति पुगेको देखाउँछन् । यसलाई ‘पूर्ण विनाश’ भन्नु उपयुक्त हुन्छ।’
इरानका तीन आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि ट्रम्पले आइतबार इरानलाई चेतावनी दिंदै भनेका थिए, ‘अब शान्ति कायम हुन्छ, वा इरानले पछिल्ला आठ दिनमा भएका घटनाभन्दा पनि भयावह विपत्ति बेहोर्नेछ ।’
अमेरिकी नागरिकलाई ट्राभल एड्भाइजरी
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले आइतबार नयाँ एड्भाइजरी जारी गर्दै विदेशमा रहेका वा यात्रा गरिरहेका अमेरिकी नागरिकहरूलाई अझ सतर्क रहन आग्रह गरेको छ।
सुरक्षा चेतावनीमा भनिएको छ, ‘इजरायल र इरानबीच जारी संघर्षका कारण मध्यपूर्वमा यात्रा प्रभावित भएको छ र केही क्षेत्रको हवाई मार्ग बन्द गरिएको छ।’
एड्भाइजरीमा भनिएको छ, ‘त्यसैगरी, विश्वका विभिन्न भागहरूमा अमेरिकी नागरिकहरू र उनीहरूको हितविरुद्ध प्रदर्शन हुन सक्ने सम्भावना छ।’
यस आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकामाथि संयुक्त राष्ट्रसंघको चार्टर उल्लंघन गरेको आरोप लगाएका थिए।
यसबाहेक, मुस्लिम र अरब मुलुकहरूले पनि अमेरिकी आक्रमणको आलोचना गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन्।
इरानमा सत्ता परिवर्तनको संकेत
यसैबीच ट्रम्पले सोमबार इरानमा सत्ता परिवर्तन हुनसक्ने संकेत गरेका छन् । ‘सत्ता परिवर्तन भन्ने शब्द राजनीतिक रूपमा सही ठानिँदैन, तर यदि वर्तमान इरानी सरकार इरानलाई फेरि महान बनाउन असमर्थ छ भने किन सत्ता परिवर्तन हुनुहुँदैन? मेक इरान ग्रेट अगेन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यद्यपि आइतबारको पत्रकार सम्मेलनमा अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानका आणविक केन्द्रहरूमा गरिएको आक्रमण सत्ता परिवर्तनका लागि नभएको दाबी गरेका थिए ।
उनले भने, ‘यो अभियान सरकार परिवर्तनको उद्देश्यले गरिएको थिएन र अहिले पनि त्यस्तो कुनै उद्देश्य छैन।’
यसबाहेक, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले आइतबार एबीसी न्यूजसँग भनेका थिए, ‘हामी सत्ता परिवर्तन चाहँदैनौं। हाम्रो प्राथमिक उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु हो।’
प्रतिक्रिया 4