
News Summary
Generated by OK AI. Editorially reviewed.- उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको हो।
- भेटमा द्विपक्षीय सहयोग र योजना कार्यान्वयनबारे छलफल भयो।
- उपाध्यक्ष अधिकारीले १६औं योजना नयाँ दृष्टिकोणमा तयार भएको जानकारी दिए।
९ असार, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग, योजना कार्यान्वयन र अनुसन्धान क्षेत्रमा छलफल भएको आयोगले जनाएको छ ।
भेटमा उपाध्यक्ष अधिकारीले चालु १६औं योजना पहिलेभन्दा फरक (विषयगत दृष्टिकोण) मा तयार गरिएको बताउँदै यसको कार्यान्वयन योजना बनाइँदै गरेको जानकारी दिए ।
उनले योजना आयोगले मन्त्रालयहरूसँग छलफल गरी समन्वयात्मक (अतिरिक्त लाभ र विरोधाभास) अपनाएर कार्य योजना तयारी अगाडि बढाइएको जानकारी गराए ।
राजदूत फेनले बेलायतमा पनि नीति निर्माण र कार्यान्वयन (समस्या समाधान साझेदारी) बाट गरिएको बताउँदै आयोगले बनाएको कार्य योजनाको प्रशंसा गरे ।
राजदूत फेनले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गर्नुका साथै जलवायु परिवर्तनले नेपाललाई पारेको असर न्यूनीकरण गर्ने लगायत विभिन्न वातावरणीय क्षेत्रमा मिलेर काम गर्ने बताए ।
उनले बेलायतले शैक्षिक, अनुसन्धान र आर्थिक क्षेत्रमा नेपालसँग दीर्घकालीन साझेदारी बढाउन चाहेको र विशेषगरी स्तरोन्नति भएपछि नेपालले सामना गर्न सक्ने व्यापारिक चुनौती समाधान गर्न बेलायतले सहयोग दिने बताए ।
बेलायतका सरकारी संस्थानहरू र प्रतिष्ठित विश्वविद्यालयहरूसँग नेपालको द्विपक्षीय अनुसन्धान सहयोग बढाउने र अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिपछि नेपालको व्यापारमा पर्ने प्रभाव विषयमा छलफल भएको थियो ।
दुवै पक्षले नेपाल र बेलायतबीच अनुसन्धान, योजना कार्यान्वयन र नीति समन्वय क्षेत्रमा सहकार्य बढाउने सहमति जनाइएको छ ।
प्रतिक्रिया 4