+
+
Shares

इजरायलमा कार्यरत नेपाली कामदारको बयानः पहिलेभन्दा त्रास बढेको छ

तिम्रो हात समातेर स्कुलको गेटसम्म पुर्‍याउने त्यो अनमोल समय अब कहिल्यै किन्न सक्दिनँ म …!

कोपिला सापकोटा कुँवर कोपिला सापकोटा कुँवर
२०८२ असार ९ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलको युद्धका कारण यहाँको अवस्था गाह्रो भएको र मानवीय क्षति भइरहेको नेपाली कामदारको बयान।
  • उनले आफ्नो पीडा र आशा व्यक्त गर्दै, युद्धको बीचमा पनि आशावादी रहनु आवश्यक भएको बताएकी छन्।
  • उनले भावुक हुँदै भनेकी छन्- जुन शहरले मेरो निद्रा पूरा हुन दिँदैन, म त्यही शहरमा सपना पूरा गर्न आएको छु...!

मेरो घर गुल्मी हो, माइती गोरखाको फुजेल । म इजरायल आएको साढे तीन वर्ष भयो ।

युद्ध त यहाँ सधैँ भइरहन्छ । पछिल्लो समय युद्ध सुरु भएपछि पहिलाभन्दा त्रास बढेको छ । साथीभाइसँग कुरा भइरहन्छ । उतातिरबाट बमहरू आइनै रहन्छ । हामी बंकरतिर गइनै राख्ने हो। यहाँको अवस्था विगत एक सातादेखि अलि गाह्रै छ ।

पहिला आएका बमहरू आइरन डोमले आकाशमै पड्काउँथ्यो र हामीलाई अलि सुरक्षित महसुस हुन्थ्यो । अहिलेको अवस्था फरक छ । पड्काउन नसकेको हो कि, धेरै आएर झुक्किएर झरेको हो ? जब बम आयो कि त झरिहाल्छ, मिसाइल भएर पो हो कि ?

त्यसैले पनि अहिले पहिलेभन्दा अलि डरलाग्दो अवस्था छ ।

यसरी बम पड्किइरहँदा मानवीय क्षति भइरहेकै होला । प्रायजसो बमहरू अहिले घरमै झरिरहेछ। अब यहाँको मिडियाले पनि ठ्याक्कै यति नै मर्‍यो भनेर बाहिर नल्याएको हो कि, खै थाहा भएन । तर अब यत्रो घरमा त्यत्रो बम झरेर घरै ध्वस्त हुँदा त मान्छे पनि त त्यहाँ थियो होला कोही न कोही। घरमा झर्दा चार-पाँच जना मरेको, १०-१५ जना घाइते भएको भन्ने हल्ला सुनिन्छ । फेरि यहाँका न्युज च्यानलहरूले यति मान्छे मरे, यस्तो गर्‍यो भनेर देखाउँदैन ।

हुन त, प्रत्यक्ष रूपमा मैले पनि मानवीय क्षति भएको देखेको छैन । म बसेको ठाउँ वरिपरि अहिलेसम्म बम झरेको पनि छैन। अलि टाढा-टाढा झरेको छ । बम झरेर धुवाँ उडेको त प्रायजसो देखिरहिन्छ । तर आफ्नै अघि अहिलेसम्म झरेको छैन ।


यस्ता विषयमा कुराकानी हुँदा मान्छे मर्‍यो भनेर कोही साथीले भन्नुभएको छैन । बम झर्‍यो भनेर त प्रत्यक्ष भिडियो पनि पठाउनुभएको छ ।

म इजरायलको बेनी ब्राक भन्ने ठाउँमा छु । यो तेलअभिभबाट नजिकै पर्छ । ५ वर्षको लागि आएकी हुँ, सरकार-सरकार समझदारीको प्रक्रियाबाट । अझै डेढ वर्ष बाँकी छ ।

म एउटा वृद्धाश्रममा काम गर्छु । दोस्रो तलामा अफिस छ, चौथो तलामा बस्ने ठाउँ । शनिबार बिदा हुन्छ । दैनिक ८ घन्टा काम गर्छु । कहिलेकाहीँ १२ घन्टा काम गर्दा ओभरटाइम पाइन्छ ।

पहिलेभन्दा त्रास बढे पनि यहाँ प्रत्येक ठाउँमा दुई/तीन मिनेटमा जान भ्याउने ठाउँमा बंकरहरू छन् । बम आउनुभन्दा ५-१० मिनेट पहिला हाम्रो फोनमा अलर्ट बज्छ । त्यसपछि बंकरमा जान्छौँ र सुरक्षित हुन्छौं । आजसम्म बंकरमा कुनै क्षति भएको थाहा छैन । डर जति लागे पनि फर्किहालौं भन्ने छैन ।

आजसम्म बंकरमा कुनै क्षति भएको थाहा छैन । डर जति लागे पनि फर्किहालौं भन्ने छैन

यहाँ हामीलाई बम र युद्ध हेर्ने बानी नै भइसक्यो । नेपाली साथीहरूसँग कुरा हुन्छ । उहाँहरू कोही पनि फर्कने पक्षमा देखिनुभएको छैन ।

यहाँ हरेक घरमा बंकर हुन्छ । नयाँ घरहरूमा फ्ल्याटैपिच्छे बंकर छन् । हाम्रो पुरानो घर भएकोले घरमुनि नै पुग्नुपर्छ । यहाँ त प्रत्येक घरमा अन्डरग्राउन्डलाई नै बंकर मान्दोरहेछ ।

म घरपरिवारलाई भन्न चाहन्छु- पिर नगर्नु । हामी सुरक्षित नै छौं । आतंकित हुनुपर्दैन । सञ्चार माध्यममा डराउने खालका समाचार देखिन्छन् । अवस्था त्यति साह्रो छैन ।

तर, यहाँ पछिल्लो युद्ध सुरु भएपछि सबै हवाई उडान बन्द भए । त्यसले निकै तनाव बढायो । ठूलो आपतकालीन अवस्था आइलागे कसरी नेपाल फर्कने भन्ने पिर लाग्यो । अहिले केही उडान खुलेका छन् । अलि राहत महसुस भइरहेको छ ।

विमान बन्द हुँदा त अत्यास लागिहाल्छ नि ! रात परेपछि बम पड्कन थाल्छन् । विस्फोटका आवाज सुन्न थालिन्छ । घरमा पनि तनाव लिनुहुन्छ । मनमा अत्यास बढ्छ । दिउँसो भएपछि फेरि राहत महसुस हुन्छ ।

देशमै रोजगारी भएको भए यहाँ आउनुपर्दैनथ्यो । आफ्नो घरपरिवारसँग बस्न पाइन्थ्यो । हामी रातभरि नसुतेको एक हप्ता भयो । पहिला यस्तो थिएन । अहिले त मिसाइलहरू आउन लाग्यो । अनि मध्यरातमा ब्युँझेपछि निदाउन सकिँदैन ।

सरकारी अधिकारीहरूले नआत्तिई काम गर्न भन्नुभएको छ । बेलाबेलामा जुमबाट सम्बोधन गर्नुहुन्छ । उहाँहरूले थप अप्ठ्यारो भए नेपाल फर्काउँछौं भन्नुहुन्छ । बेलाबेलामा खबर छोड्नुहुन्छ । सुरक्षित भएर, सुरक्षा प्रोटोकल पूरा गरेर बस्न भन्नुहुन्छ ।

घरमा बुबा, आमा, छोराछोरी, श्रीमान् सबैजना हुनुहुन्छ ।

घरमा विशेषगरी आमाले अलि धेरै पिर मान्नुहुन्छ । बुवा र श्रीमान्‌ले पनि अब पुग्यो, नेपाल फर्क भन्नुहुन्छ । तर नेपाल फर्केर के गर्ने ? पहिला पनि बेरोजगारी समस्या भोगेकै हो । फेरि गएर त्यही भोग्नुपर्छ भन्ने लाग्छ । फर्किन त मन लाग्छ, तर फर्केर पनि यहाँको भन्दा पनि कहालीलाग्दो अवस्था त्यहाँ छ ।

म त डेढ वर्षको बाबु छोडेर यहाँ आएको । नेपालमा राम्रो थियो, सबै कुरा सहज थियो भने त त्यो डेढ वर्षको बाबु छोडेर आउन रहर थिएन नि । यहाँबाट फर्किन मन भए पनि त्यहाँको त्यो साढे तीन वर्ष पहिलाको अवस्था सम्झेर फर्किन मन लाग्दैन ।

युद्ध सुरु भएपछि मैले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पनि लेखें, ‘परदेशी आमा’ शीर्षकमा । धेरैले भावुक बनाउनुहुन्छ भन्नुभयो ।

मैले लेखेकी थिएँ-

उडेको थिएँ सपनाको भारी बोकी तिम्रो हाँसो काखमा लिएर उज्यालो खोज्न देशभन्दा टाढा कतै । आमा र माकुरो उस्तैउस्तै हुन्, फरक यत्ति हो कि, माकुरो सन्तानको लागि आहारा बनेर मर्छिन् भने आमा आफ्नो सन्तानको पेट भरिन्छ भने भोकै मर्न तयार हुन्छिन् ।

साँचो मायामा निस्किएको आँसु र रोइरहेको बच्चाको आँसु एउटै हो भन्छन् । मैले यी दुइटै क्षण भोगेको छु । तिमीलाई छोडेर निस्कँदा तिम्रो माया र रुवाइले छियाछिया भएको मनको औषधि किन्न कतै पाउँदिन ।
मोबाइलमा देखिने मान्छेहरु रोए रुन्छु, हाँसे हाँस्छु । काम, माम अनि मोबाइल, आजकलको दिनचर्या नै यस्तै छ।

यही मोबाइलकै कारणले परिवारदेखि लाखौं कोस टाढा भएर पनि तिमी मेरै आँखा अगाडि भएझैं पाउँछु, खुसी लाग्छ।

बिहान ब्युँझने बित्तिकै तिमीलाई छुन, सुमसुम्याउन पाउनु । आफ्नै हातले बनाएको खाना, काखमा राखेर कोखाई, कोखाई भन्दै खुवाउनु । स्कुल ड्रेसअप गराएर हातमा डोर्याउँदै स्कुलको गेटसम्म पुर्याउनु । तिम्रो तोते बोली सुन्ने प्रतीक्षामा स्कुलबाट फर्कने समय कुर्नु, अनि तिमीलाई लिन फेरि स्कुलको गेटसम्मै पुग्नु । यी सबै मैले चाहेर पनि गर्न पाइनँ । सायद यिनै कारणले हो म सबैभन्दा दुःखी हुने गर्छु, एक्लो महसुस गर्छु ।

आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहीबार, शुक्रबार यसरी नै दिन बित्छ । शनिबार त छुट्टीको दिन । तिमीलाई चिटिक्क ड्रेसअप गराएर घुमाउन लान पाए कति फुरुङ्ग हुँदो हो मेरो मन । मैले के पाउनको लागि यी सबै आत्मीय क्षणहरू गुमाइरहेको छु आफैंलाई थाहा छैन ।

वचन, चोट, पीडा दुःख के हो, त्यसको त बयान गरिसाध्य छैन । म सधैं आशावादी मान्छे । हरेक चोटलाई सहेर, बाधा अप्ठ्याराहरूलाई पन्छाउँदै, आफूलाई सम्हाल्दै आशाका टुक्राहरू टिप्दै, अन्धकारमा उज्यालो खोज्दै अघि बढिरहेछु।

‘पैसाले त केवल लोभ किन्न सकिन्छ, तिम्रो खुसी किन्न त म के सकुँला र यो जुनीमा ।’

मन छ, तिमीलाई काखमा च्यापेर, आँखा बन्द गरेर मेरो सारा रहर, दुःख पीडा, केही अधुरा अपूरा सपना सुनाउन । मन छ, मलाई सुनसान यात्रामा जीवन बाँच्नुको अभिनय सुनाउन, मरुभूमि जस्तो मुटुलाई, रङ्गीन बगैंचा जस्तो बनाउने कला बुझाउन ।

सुन्दर सपना र गन्तव्य खोज्दाखोज्दै यो समय पनि बित्नेछ, आँसु पनि सुक्नेछ । सारा दुःखलाई जितेर घर पनि फर्किउँला ।
तर, तिम्रो हात समातेर स्कुलको गेटसम्म पुर्याउने त्यो अनमोल समय अब कहिल्यै किन्न सक्दिनँ म..!

जुन शहरले मेरो निद्रा पूरा हुन दिँदैन, म त्यही शहरमा सपना पूरा गर्न आएको छु…!

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?