
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ।
- इरानको सरकारी सिमाचार एजेन्सी तसनीमले इरानको रिभोल्युशनरी गार्डले इराकस्थित अमेरिकी सैन्य अड्डामा पनि मिसाइल प्रहार गरिएको दाबी गरेको छ
- कतारले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको र अमेरिकी एयरबेस खतरामा रहेको सूचना दिएको थियो।
९ असार, काठमाडौं । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ ।
इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।
अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।
कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो ।
जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण तेज पारेपछि इरानले जवाफी हमला गरेको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका छन् ।
इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुरसमेत प्रभावित हुन सक्छन् ।
कतारले भन्यो – इरानले हाम्रो सार्वभौमिकताको उल्लंघन गर्यो
दोहामा रहेको अमेरिकी सैन्य वेसलाई लक्षित गरेर हवाई आक्रमण भएपछि इरानले ‘सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन’ गरेको कतारले प्रतिक्रिया दिएको छ ।
कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अल उदैद वायुसैनिक अड्डामा इरानको रिभोल्युशनरी गार्डद्वारा गरिएको आक्रमणको निन्दा गर्दै यस्तो बताएका हुन् ।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कतार राज्यले अन्तर्राष्ट्रिय कानुनअनुसार यस स्पष्ट आक्रामकतामा प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राख्दछ ।’

उनले ‘ कतारी वायु सुरक्षा प्रणालीले उक्त आक्रमण विफल पार्न सफल भएको र इरानी मिसाइलहरूको सामना गरेर तटस्थ गराएको’ समेत भनेका छन् ।
इजरायल इरान तनावबीच अमेरिकाले इरानमा आक्रमण गरेपछि त्यसको बदला लिने धम्की इरानले दिएको थियो । त्यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई सत्ताच्युत गर्ने सम्भावना खुला रूपमा व्यक्त गर्दै त्यस्ता कदम नलिन चेतावनी दिएका थिए ।
इराकमा पनि अमेरिकी सैन्य अड्डामा आक्रमण
इरानको सरकारी सिमाचार एजेन्सी तसनीमले इरानको रिभोल्युशनरी गार्डले इराकस्थित अमेरिकी सैन्य अड्डामा पनि मिसाइल प्रहार गरिएको दाबी गरेको छ ।
यसअघि अमेरिकाले इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा आक्रमण गरेको थियो । आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’
उनले अब शान्तिको समय पनि आएको बताएका थिए । अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको थियो । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन ।
इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको थियो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलको भनाइ छ ।
इजरायलले इरानका फरमाणु केन्द्रहरुमा लक्षित गरी आक्रमण गरेको थियो । इजरायली आक्रमणबाट इरानका दुईवटा प्रमुख युरेनियम सम्वर्द्धन केन्द्रमध्येको एक नन्ताजमा आंशिक क्षति पुगे पनि फोर्दोमा कुनै उल्लेख्य क्षति नभएको भनिएको थियो ।
फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट पहाड मुनि भूमिगत रुपमा बनाइएको छ । यो इरानको राजधानी तेहरानबाट करिब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा पर्दछ । यो केन्द्र जमिन मुनि करिब ८० मिटर गहिराइमा अवस्थित छ । यसलाई इरान र रुसका मिसाइल रक्षा प्रणालीहरूले संरक्षित गरिएको छ ।
बीबीसीका अनुसार यहाँ युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धित गरिन्छ, जुन परमाणु बम बनाउने युरेनियमको सीमाको नजिक हो । यो सीमा ९० प्रतिशत पुगे विश्वकै लागि खतरा हुने इरान विरोधी देशहरुको चिन्ता छ ।
इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई अमेरिकी बंकर बस्टर बमले मात्रै ध्वस्त पार्न सक्ने बताइँदै आएको थियो ।
प्रतिक्रिया 4