
News Summary
Generated by OK AI. Editorially reviewed.- साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट, ११ बजेको उडान रद्द ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसूचना दिएर आक्रमण गरेको भन्दै इरानलाई धन्यवाद दिएका छन् ।
- प्रहरी कर्मचारीले आएर एयरलाइन्स कर्मचारीसँग कुरा गर्न भन्दै यात्रुलाई पन्छाइदिइरहेका थिए, बाहिर निस्किन दबाब दिइरहेका थिए ।
९ असार, काठमाडौं । झापाका एलपी पोखरेल मंगलबार राति ११ बजे नेपाल एयरलाइन्सको उडानमार्फत कतारको राजधानी दोहा जान तयार थिए। उडानको तीन घन्टा अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनले साथीभाइसँग भेटघाट गरेर बिदाइ पनि लिइसकेका थिए।
तर अध्यागमन प्रक्रिया र अन्तिम सुरक्षा जाँच सकेर प्रतिक्षालयमा बसेको केहीबेरमै खबर आयो, ‘दोहामा रहेको अल उदीद बेसमा इरानले मिसाइल आक्रमण गर्यो ।’ त्यो खबर आउने वित्तिकै उडानमा ढिलाइ हुने सूचना उनीसहितका यात्रुहरुले पाइसकेका थिए ।
‘दोहामै भएको साथीले त्यहाँ इरानले आक्रमण गर्यो भनेर फोनमा सुनाएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘एकैछिनमा एयरलाइन्सका कर्मचारीहरुले पनि विमान उडानमा ढिलाइ हुनसक्ने जानकारी गराए ।’
विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला यस्तो सूचना आएपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए ।
त्यसै बेला प्रतिक्षालयको स्क्रिनमा टिभीमार्फत इरान–इजरायल तनाव र अमेरिकाको हवाई आक्रमणको जवाफमा इरानको प्रतिक्रिया सम्बन्धी समाचार प्रसारण भइरहेको थियो ।
तर, त्यतिञ्जेल कतिसमयसम्म विमान रोकिन्छ वा सोमबार मध्यरातिको उडान रद्द नै हुन्छ भन्ने कुनै जानकारी दिइएन ।
बरु त्यहीँ रहेका बेला अर्को समाचार आयो, ‘साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट भएको छ ।’ अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले इरानी अधिकारीहरुलाई उदृत गर्दै लेखेअनुसार, कतारलाई हवाई हमलाबारे पहिल्यै जानकारी गराइएको थियो । त्यही कारण दोहाको हवाई क्षेत्र आक्रमण आगवै बन्द गरिसकिएको थियो ।
सम्भवतः त्यही कारण हुनसक्छ, ६ बजेको विमान ओमनतिर डाइभर्ट भएको थियो । कतार ट्रान्जिट हुँदै अमेरिका यात्राका क्रममा रहेका सुरेश दर्पण पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कतारको एयर स्पेश बन्द छ, गन्तव्य अमेरिका कहिले, कसरी पुग्ने पूर्ण अन्यौलमा छौं, तर सुरक्षित छौं ।’
त्यो बीचमा यात्रुले प्रतीक्षालयमै रहँदा कुवेत, बहराइन, दुबई लगायतका मुलुकले समेत हवाई क्षेत्र बन्द गरेको खबर सुने । ‘तर, हामीलाई चाहिँ स्पष्ट जानकारी नदिइ राखियो’, मोरङका डिक लिम्बुले भने, ‘मध्यराति साढे १२ बजे बल्ल उडान हुने खबर दिइयो ।’
त्यसमाथि मध्यराति कहाँ जाने कुनै विकल्प समेत नदिएर विचल्लीमा पारिएको उनी बताउँछन् । ‘कतार जाने अधिकांश विभिन्न जिल्लाबाट आएका श्रमिक छन्, उनीहरु राति कहाँ बसून् ?’, लिम्बु प्रश्न गर्छन्, ‘अरु बेला उडान नहुने अवस्थामा एयरलाइन्स कम्पनीले नै बस्ने व्यवस्था गरिदिएको सुनेका थियौं, तर श्रमिकहरुको हकमा उनीहरु बेपरवाह बने ।’
जाने ठाउँ नभएपछि कतिपय यात्रुहरु विमानस्थलभित्र भुइँमै सुत्न थाले । तर, करिब १ बजेदेखि प्रहरीले उनीहरुलाई समेत हटाउन थाल्यो ।
पानी परिरहेका बेला मध्यराति विमानस्थलभित्रबाट निस्किएका यात्रुलाई केहीबेरअघि विदाइ भएको स्थानमा समेत प्रहरीले बस्न दिएन । पानी परिरहेका बेला प्रहरी हटाउँदै आएपछि केहीबेर तनावको स्थिति समेत सिर्जना भयो ।
प्रहरी कर्मचारीले आएर एयरलाइन्स कर्मचारीसँग कुरा गर्न भन्दै यात्रुलाई पन्छाइदिइरहेका थिए । बाहिर निस्किन दबाब दिइरहेका थिए ।
इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुरसमेत प्रभावित हुने अनुमान गरिएको छ । मध्यपूर्वमा तनाव बढेलगत्तै त्यहाँका नेपाली श्रमिकहरुले चासो राखेका छन् ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले यो आक्रमणले इरानसँगको तनाव अझ चर्किने र अमेरिका गहिरो रूपमा मुछिने सम्भावनाबारे चिन्ता बढाएको भनेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसूचना दिएर आक्रमण गरेको भन्दै इरानलाई धन्यवाद दिएका छन् । तेहरानको जवाफलाई ‘एकदमै कमजोर’ समेत भन्दै उनले भनेका छन्, ‘प्रक्षेपित १४मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल भएको छ ।’
ट्रम्पले फेरि एकपटक अमेरिकाले इरानका आणविक स्थलहरु ध्वस्त पारेको दोहोर्याएका छन् । कतारस्थित अमेरिकी सैन्य आधारमाथि मिसाइल प्रहार गर्नु अघि सूचना दिएकाले कतारी र अमेरिकी जनशक्तिमा कुनै क्षति नभएको समेत उनले बताएका छन् ।
‘म खुसीसाथ जानकारी दिन चाहन्छु कि कुनै पनि अमेरिकीलाई चोटपटक पुगेको छैन र झण्डै कुनै क्षति पनि भएको छैन’, उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूले आफ्नो ‘झोक’ फालिसकेका छन्, र आशा छ अब थप ‘घृणा’ हुने छैन ।’
उनले ‘अब इरान क्षेत्रीय शान्ति र सौहार्दतर्फ अघि बढ्न सक्ने’ समेत भनेका छन् । ‘म इजरायललाई पनि त्यही गर्न उत्साहपूर्वक प्रोत्साहित गर्नेछु’, उनले थप लेखेका छन् ।
सोमबार बेलुकी विमानस्थलमा अलपत्र यात्रुले चाहिँ ‘जसले जे भने पनि’ चाँडै सहजै वैदेशिक रोजगारीमा जान पाइयोस् भन्ने आफूहरुलाई लागेको बताएका छन् ।
जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानमा हवाई आक्रमण गरेको थियो । त्यसको जवाफी कारबाही भन्दै इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको थियो ।
यो आक्रमणलाई ‘सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन’ भन्दै कतारले जवाफ दिने हक आफूहरुलाई रहेको प्रतिक्रिया दिएको छ ।
तस्वीरहरुः गौरव पोखरेल/अनलाइनखबर
प्रतिक्रिया 4