+
+
Shares

देश सुधार्न हामीले प्रहार गर्नुपर्ने ठाउँ कहाँ हो ?

कर्मचारीहरूको व्यावसायिकता बिग्रिएको एक–दुई कर्मचारीको त्रुटि र अपराधले होइन, यो सामूहिक छ। त्यो सामूहिकतालाई दलले प्रश्रय दिएको छ। नागरिकको करबाट सेवा–सुविधा पाउने कर्मचारीको दलीय संगठन खारेज गरौं।

गणेश कार्की गणेश कार्की
२०८२ असार ११ गते १०:५७

पहिले दुई वटा प्रसंगबाट शुरू गरौं :

प्रसंग-१ : महाभारतको आदि पर्वमा एउटा प्रसंग उल्लेख छ। पाण्डव र कौरवहरूका गुरु द्रोणाचार्यलाई आफ्ना चेलाहरूको धनुर्विद्या कौशलको परीक्षण गर्न मन लाग्यो। उनले रूखमा एउटा काठको चरा राखे र त्यसको आँखालाई निशाना बनाउन शिष्यहरूलाई आदेश दिए। सबै शिष्यहरू गुरुको आदेशबमोजिम तयार भए।

निशानातिर बाण सोझ्याएर बसेका एक-एक गरेर सबै शिष्यहरूलाई द्रोणाचार्यले सोधे, “तिमीले के देख्छौ ? सही जवाफ दियौ भने मात्र बाण हान्न पाउँछौ!”

पालैपालो सबैले जवाफ भन्दै गए। कसैले चरा भने। कसैले रूख भने। कसैले पात भने। कसैले हाँगा भने। कसैले आकाश भने। कसैलाई पनि द्रोणाचार्यले बाण हान्ने आदेश दिएनन्।

पालो आयो अर्जुनको। अर्जुनले भने, “मैले त चराको आँखा मात्र देखिरा’छु।” यो जवाफले उनको एकाग्रता र लक्ष्यप्रतिको समर्पणलाई देखायो। द्रोणाचार्यले उनलाई निशाना लगाउन अनुमति दिए। र, अर्जुनले सटिक रूपमा चराको आँखामा तीर हाने।

 त्यसपछि नै अर्जुनलाई महान् धनुर्धरका रूपमा सोच्न थालियो। अर्जुनलाई महान् धनुर्धर मान्ने कुरामा धेरैको आपत्ति थियो। उनीहरूको तर्क हुन्थ्यो, अरूले त धनु चलाउनै पाएनन्, बाण हान्नै पाएनन्। अरूले पनि बाण हान्न पाएको भए कुरै बेग्लै हुन्थ्यो।

वास्तवमा महान् धनुर्धर हुनुको अर्थ निशाना साध्नु मात्र होइन, निशाना छान्नु पनि हो। निशाना छान्न नसक्नेहरूको निशाना हान्न सक्ने दक्षता सधैं हितकारी नै हुन्छ भन्न सकिंदैन। र महान् भनिनेहरूबाट हुने हानि सहज सन्देहको विषय हुनुहुँदैन।

प्रसंग-२ : एउटा ठूलो समुद्री जहाजको इन्जिन एक दिन अचानक बिग्रियो। जहाज बीच समुद्रमा अड्कियो। र, मालिकलाई करोडौंको नोक्सान हुने खतरा भयो। जहाजका इन्जिनियर, विशेषज्ञ प्राविधिकहरूले दिनरात खटेर पनि इन्जिन बनाउन सकेनन्। सबैले हार माने।

केही उपाय नलागेपछि त्यो क्षेत्रमा जस्तो पनि जहाज बनाउन सक्ने हल्ला चलेका बुढा मेकानिकलाई बोलाइयो। उनी जहाजमा आएर इन्जिनको निरीक्षण गरे। केहीबेर सोचमग्न भए। अनि, उनले आफ्नो औजारको झोलाबाट एउटा साधारण घन निकाले। इन्जिनको एउटा खास ठाउँमा घनले ट्वाक्क हाने। त्यसपछि इन्जिन चलाउन लगाए।

अचम्म! इन्जिन शुरू भयो।

मालिकले सुनको पिंजडा बनाइदिए भनेर गौरव गर्ने सुगाहरूले देश भरिंदैछ। नागरिकलाई त्यस्तो सुगा बन्न रोक्ने हो भने सबैभन्दा पहिले कुनै पनि शिक्षालयबाट राजनीतिक दललाई बाहिर निकालौं। विद्यार्थी र शिक्षकका दलीय संगठनहरू खारेज गरौं

“यो त सजिलो काम रहेछ !” जहाजका मालिक खुशी भएर सोधे, “कति पैसा लिनुहुन्छ ?” बूढा मेकानिकले मुस्कुराउँदै भने, “मेरो ज्याला १० लाख हो।”

जहाज मालिक छक्क परे। उनले भने, “घनले हान्न मात्र त तपाईंलाई एक सेकेन्ड पनि लागेन होला ! त्यति कामको यति धेरै पैसा ? मलाई अप्ठ्यारो परेको देखेर मौकाको फाइदा उठाउनुभएको हो ?”

मेकानिकले शान्त स्वरमा जवाफ दिए, “मौकाको फाइदा उठाएको होइन हजुर। घन हान्नलाई त एक सेकेन्ड मात्र लाग्यो, तर त्यो घन कहाँ र कति जोडले हान्नुपर्छ भन्ने सिक्न मलाई वर्षौं लाग्यो। यो पैसा त्यो अनुभव र ज्ञानको मूल्य हो।”

जहाज मालिकसँग बुढा मेकानिकले भने जति नै शुल्क नदिनुको विकल्प थिएन। प्रहार गर्ने ठाउँ पत्ता लगाएर सही जोडले प्रहार गरेपछि मात्र समाधान सम्भव हुन्छ भन्ने मालिकलाई थाहा नहुने कुरा थिएन।

तर के हामीलाई थाहा छ ?

नेपाली राजनीति बिग्रिएको छ। सबैले भन्ने र सर्लक्कै सहमति दिने तर्क हो यो। तर कहाँ बिग्रियो र कहाँ प्रहार गर्दा समाधान निस्किन्छ भन्नेमा कमै मात्र बोलिन्छ, सुनिन्छ, पढिन्छ।

एकपटक ध्यानपूर्वक सोचौं- सरकारी कार्यालय पुगेपछि सहज रूपमा व्यावसायिक सहयोग पाइन्छ भन्नेमा ढुक्क हुने नेपालीको संख्या कति होला ? कर्मचारीले असहयोग वा बदमासी गरेमा उसलाई उचित दण्ड हुनेछ भन्नेमा ढुक्क हुने सेवाग्राहीको संख्या कति होला ?

कुनै दलको फेरो नसमाती निष्पक्ष भएर कार्यसम्पादन गर्दा मेरो वृत्ति–विकास हुन्छ भन्नेमा ढुक्क हुने कर्मचारीको संख्या कति होला ? प्रहरी प्रशासनले गर्ने छानबिन निष्पक्ष हुन्छ भन्नेमा ढुक्क हुने नेपालीको संख्या कति होला ?

अख्तियारमा उजुरी पर्छ, त्यो उजुरी सुशासनका लागि मात्र हो र अख्तियारले निर्धक्क र निष्पक्ष काम गर्छ भन्नेमा ढुक्क हुने नेपालीको संख्या कति होला ? बजेट बन्छ, बजेटमा राष्ट्रिय प्राथमिकताका आधारमा रकम बाँडिएको छ र आफ्ना निकटलाई खुवाउने बाटो बनाइएको छैन भन्नेमा ढुक्क हुने नेपालीको संख्या कति होला ?

अदालतमा कुनै पनि मुद्दामा कुनै अवाञ्छित प्रभावमा नपरी फैसला हुन्छ भन्नेमा ढुक्क हुने नेपालीको संख्या कति होला ? गल्ती गरे राज्यले देख्छ र सजाय पाउनुपर्छ भनेर डर मान्ने बिचौलिया कति होलान् ? गल्ती नगरे पछि कसैको आँखामा बिझाएकै भरमा जीवनभरको कानूनी झमेला बोक्नुपर्दैन भनेर ढुक्क हुने आमनागरिकको संख्या कति होला ? सत्ता आफ्नो भएपछि सबै कुरा मिल्छ भनेर सत्ता पर्खिएका नेताको संख्या कति होला ?

पक्कै पनि संख्या ठूलो छ। यो संख्या राज्यप्रतिको अविश्वासको संख्या हो। यो सबै के कारणले भइरहेको छ भन्नलाई धेरै घोत्लिरहनै पर्दैन। कारण हो, दलहरूको भागबण्डाबाट हुने नियुक्ति, बढुवा र सुरक्षा। दलहरूको संक्रमण। दलहरू जहाँसुकै घुसेका छन्। केही मुठ्ठीभरका मान्छेले दल घुसाएर व्यक्तिलाभ लिएका छन्।

दलमा लाग्यो भने पालो आउँछ, दलमा लागेन भने फसाइदिन्छन् भन्ने तर्क गरी–गरी, व्यवहारमा यसकै उदाहरण पस्की–पस्की तिनैले अरूलाई पनि प्रलोभन र धम्कीले आफ्नो पछाडि लामबद्ध राखेका छन्।

सरकार बिजुली बालेर आलोचना गर्दा पनि विद्युतीय वस्तु चलाएर गरेको भएर विद्युतीय कारोबार ऐन लगाउन मिल्छ भन्नेसम्म पुग्न लाग्दैछ। सामाजिक सञ्जालमा लेख्यो कि विद्युतीय कारोबार ऐन सक्रिय भइहाल्छ। मानौं कि लेख्नु अब कारोबार हो। कारोबार विना गर्नै पर्ने निर्णयमा आफ्नै हस्ताक्षर समेत लेख्न कलम नउठाउनेहरूले हरेक लेखाइलाई कारोबार देख्नु अस्वाभाविक होइन।

तर अदालत फैसलाको पुछारमा ‘खबरदार, फैसलाको विरूद्धमा लेख्लाउ’ भन्ने चेतावनी लेखेर बस्छ। अदालतको हरेक निर्णय अपरिवर्तनीय र असहमति बेगरको हुने हो भने तीन तहका अदालत किन चाहिन्थ्यो ? लोकतन्त्रले अदालतप्रतिको विमतिलाई स्वीकारेर नै एउटा अदालतको निर्णयका विरुद्ध अर्को अदालतमा चुनौती दिने व्यवस्था गरेको होइन ?

अदालतले बुझ्न किन मानिरहेको छैन कि सामाजिक सञ्जालमा फैलने धेरै विमति फैसलाप्रतिको विमति हुन्छ, न्याय प्रणालीप्रतिको विमति हुँदैन। तर बिग्रिएको राजनीतिको बाछिटाले फैसलाको विमति भन्दा न्याय प्रणालीप्रतिकै विमति बढ्दो छ।

विगतमा हामीले देखेका छौं, न्यायाधीश नियुक्ति हुने बित्तिकै पार्टी कार्यालयमा पुगेर बधाई लिएको। प्रधानन्यायाधीश हुने बित्तिकै अदालतभित्रको सेटिङ, बिचौलिया र भ्रष्टाचार रोक्छु भनेको।

देखिएका, भोगिएका कुराहरूबाटै न्यायमा दलीय संक्रमण छिर्‍यो लेख्दा, अदालतमा भ्रष्टाचार छ भन्दा जोगिनुपर्ने हामीले हो ? आदेशको पुछारमा ‘खबरदार, फैसलाको विरुद्धमा लेख्लाउ’ भन्ने चेतावनी पढेर तर्सिनुपर्ने हामीले हो ? यो गलत भइरहेको छ।

तर भन्न डराउनुपर्ने, सोच्न झस्किनुपर्ने भएको छ। डर यसरी बढेको छ कि अब वाक् स्वतन्त्रता होइन, विचारको स्वतन्त्रतामाथि समेत धावा बोलिन थालेको छ। दिमागमा आउने कुविचार रोकिनु सभ्य समाजको जित हो तर दिमागमा विचार रोकिनु सभ्य समाजको पराजय हो।

कर्मचारीहरूलाई जागिर छोड्ने बित्तिकै राजनीतिक नियुक्ति लिन नपाउने गरी उचित कुलिङ पिरियड आवश्यक छ। त्यस्तै राजनीतिक दलमा लागेकाहरूलाई पनि राजनीतिक दलको सदस्य हुन नपाउने योग्यताको नियुक्ति लिन कुलिङ पिरियडको आवश्यकता छ। यसले पनि दलीय संक्रमणको जालो केही हदसम्म तोड्न सक्छ

संवैधानिक निकायको स्वायत्तता र विश्वसनीयता खतरामा परेको अहिले भर्खरै होइन। अदालतमा विकृति देखिन थालेको पनि अहिले भर्खरै होइन। तर विकृति सतहमा नै देखिन थालेको छ। हाकाहाकी हुन थालेको छ। त्यसमा गौरव गर्ने स्वभाव देखिन थालेको छ।

यस्तो अवस्थामा आमनागरिकको लागि अन्तिम आशा भनेकै अदालत हो। जसको केही छैन, उसको अदालत छ भन्ने दिनसम्म राज्यका सबै कुरा सकिए पनि राज्य रहन्छ। नागरिक अदालत पुग्छ। अदालतप्रति गरिने सम्पूर्ण आलोचना अदालत सकियोस् भनेर गरिन्न, बरू अन्तिम अवस्थामा पनि उपयोगी हुने सञ्जीवनी बुटीका रूपमा अदालत रहोस् भन्ने हुन्छ। यस्तोमा अदालतका बारेमा लेख्नु अदालतको अपमान होइन, गाह्रो पर्दा सम्झनामा आएका बुबाआमा जस्तो हो।

तर दुर्भाग्य, संक्रमण सबैलाई थाहा हुन्न रै’छ

एउटा भनाइ छ, जाँड लागेको र घमण्ड बढेको ऊ बाहेक सबैलाई थाहा हुन्छ। मानसिक स्वास्थ्यमा काम गर्ने साथीहरू भन्छन्, धेरैजसो अवस्थामा मानसिक रोगको बिरामीले आफूलाई रोग लागेको थाहा पाउँदैन र भनिदिए पनि पत्याउँदैन।

हाम्रो समाज त्यस्तै भएको छ। दलमा लागेर दलीय संक्रमणले लगाम लगाइएको घोडा भइसकेको थाहा हुन्न। रोग सल्किएर यस्तो अवस्थामा पुगेको छ कि चाँडोभन्दा चाँडो उपचारको आवश्यकता छ भन्ने बिरामीलाई थाहै हुन्न।

भर्खरै एमालेको विद्यार्थी संगठनको अधिवेशन भयो। एक जना भाइ, जो मेरो फेसबुकमा साथी छन्, उनी पदाधिकारीमा उठेछन्। १० वर्षको उमेर छँदा नै म एमालेको क्याडर बनिसकेको हुँ र मलाई फलानो नेताले राजनीतिक बाटो खोलिदिनुभयो भनेर सगौरव त्यो बेलाको धमिलो फोटो फेसबुकमा पोस्ट गरेका थिए।

तिनलाई कसले भन्दिने कि भाइ, तिम्रो बाटो खोलिदिएको होइन, बाटो बन्द गरिदिएको हो। तिमीलाई १० वर्षमा नै ललाईफकाई गराएर उनीहरूको बाटोमा हिंडाइसकें। बहकिएर तिमीले अन्य सम्बन्ध, विकल्पहरूबाट यसरी टाढिएका छौ कि तिमीलाई थाहा भएको दिन पनि अरू विकल्पका बारेमा सोच्नु अगाडि सयौं बन्धन तोड्नुपर्छ। र, त्यो बन्धन तोड्नै नसक्ने गरी तिमीलाई घोडालाई झैं लगाम लगाइसकिएको छ, १० वर्षको उमेरमा नै।

साक्षीभावले हेर्ने हो भने उनको गौरव दुरूस्तै सुनको पिंजडा बनाइदियो भनेर खुसी हुने सुगा जस्तो देखिन्छ।

मालिकले सुनको पिंजडा बनाइदिए भनेर गौरव गर्ने सुगाहरूले देश भरिंदैछ। नागरिकलाई त्यस्तो सुगा बन्न रोक्ने हो भने सबैभन्दा पहिले कुनै पनि शिक्षालयबाट राजनीतिक दललाई बाहिर निकालौं। विद्यार्थी र शिक्षकका दलीय संगठनहरू खारेज गरौं। विद्यार्थीलाई राजनीति सिकाउने स्कूल र कलेजले हो, राजनीतिक दलले होइन।

कर्मचारीहरूको व्यावसायिकता बिग्रिएको एक–दुई कर्मचारीको त्रुटि र अपराधले होइन, यो सामूहिक छ। त्यो सामूहिकतालाई दलले प्रश्रय दिएको छ। नागरिकको करबाट सेवा–सुविधा पाउने कर्मचारीको दलीय संगठन खारेज गरौं।

विश्वविद्यालय, राजदूत लगायत भागबण्डामा नियुक्तिहरू बन्द गरौं। सरकारले गर्ने नियुक्तिहरू मेरिटका आधारमा गर्न अनिवार्य गरौं।

न्यायप्रणाली, अख्तियार लगायत संवैधानिक अंगहरूको तटस्थता कायम गर्न राजनीतिक नियुक्ति बन्द गरौं।

कर्मचारीहरूलाई जागिर छोड्ने बित्तिकै राजनीतिक नियुक्ति लिन नपाउने गरी उचित कुलिङ पिरियड आवश्यक छ। त्यस्तै राजनीतिक दलमा लागेकाहरूलाई पनि राजनीतिक दलको सदस्य हुन नपाउने योग्यताको नियुक्ति लिन कुलिङ पिरियडको आवश्यकता छ। यसले पनि दलीय संक्रमणको जालो केही हदसम्म तोड्न सक्छ।

अर्जुनले चराको आँखा देखे जस्तै हेर्ने हो भने प्रस्ट देखिन्छ, नेपालको सबैभन्दा ठूलो बेथितिको मेरुदण्ड नै दलको जथाभावी संक्रमण हो। जहाँ पनि दल पुग्नु हो। दललाई दलको सीमामा राख्न र राज्यलाई थितिमा हिंडाउन बुढो मेकानिकले ठाउँमा ट्वाक्क प्रहार गर्दा पानीजहाज चल्न थाले जस्तै दलीय संक्रमणका विरुद्धमा प्रहार गरौं !

लेखक
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?