
११ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दैलेखमा भेटिएको ग्याँस देशको आर्थिक विकासका लागि ठूलो संवाहक बन्नसक्ने निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले उक्त निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘दैलेखमा पेट्रोलियम उत्खननको प्रारम्भिक रिपोर्ट आएको छ । ११२ घनमिटर रहेको जुन प्रारम्भिक रिपोर्ट आएको छ,’ ज्ञवालीले अघि भने, ‘त्यसले मुलुकको आर्थिक विकासका लागि ठूलो संवाहक बन्न सक्छ भन्ने निष्कर्ष निकालेका छौं ।’
दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो । यस सम्बन्धी समाचार अनलाइनखबर डटकमले सार्वजनिक गरेको थियो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न ग्याँस अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित मन्त्रालय र खानी विभागका अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई गत आइतबार अवगत गराएका थिए ।
प्रतिक्रिया 4