
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ मा १२ वर्षीया निशालाई बलात्कारपछि हत्या गरिएको घटनामा पाँच जना पक्राउ परेका छन्।
- प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको र शव मकैबारीमा फालिएको थियो।
- गाउँपालिका अध्यक्ष पासाङ नुर्प शेर्पाले घटनास्थलमा पुगेका व्यक्तिहरूले नै अपराधीको संकेत गरेको बताए।
१३ असार, काठमाडौं । ‘छोरीको शव मैले अहिलेसम्म हेर्न सकेको छैन । सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याउँदा के-के भयो, कुनै सम्झना छैन’ भोटेकोशी गाउँपालिका-५ का पदम तामाङले छोरीको हत्यापछिको विवरण अनलाइनखबरलाई सुनाए, ‘म अचेत थिएँ ।’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको पोस्टमार्टम कक्ष अगाडि शुक्रबार बिहान भेटिएका तामाङ आफन्त तथा गाउँलेबाट घेरिएका थिए । उनको दु:खमा काँध थाप्न पुगेका गाउँपालिका अध्यक्ष पासाङ नुर्प शेर्पा लगायत सबै आफन्त मलिन थिए । १२ वर्षीया छोरी निशालाई गुमाएका पदम सम्हालिने अवस्थामा थिएनन् ।
आफन्त नाता पर्नेबाटै बलात्कारपछि क्रुर तरिकाले हत्या गरिएको क्षण उनी सम्झन चाहँदैनन् । ‘म यो घटना सम्झनै चाहन्नँ । त्यही भएर मैले छोरीको शव पनि हेरेको छैन,’ पदम आँखा टिलपिल बनाउँदै भन्छन् ।
११ असार बिहानदेखि भावविह्वल बनेका पदम अझै अनिंदो छन् । टोलाइरहन्छन् । आफू घर नभएको मौकामा अपराधीले छोरीमाथि योजनाबद्ध आक्रमण गरेको उनले बताए ।
१० फागुन मध्यराति ओछ्यानबाटै बेपत्ता बनाइएकी पदमकी छोरी निशालाई ५ जनाको समूहले बलात्कारपछि हत्या गरेको खुलेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ कालेगाउँ बस्ने १२ वर्षीया निशा स्थानीय विद्यालयमा कक्षा ७ मा पढ्दै थिइन् । १० असारमा बाबु पदम कोदो रोप्न भन्दै घरबाट हिंडे । राति उतै बसे ।

जेठी छोरी-ज्वाईं पनि पदमकै घरमा बस्थे । कोदो रोप्न गएका पदम नफर्केकाले त्यस दिन घरमा जेठी छोरी-ज्वाईं र निशा मात्र थिए । राति घरमै सुतेकी निशा भोलिपल्ट बिहान ओछ्यानमा भेटिइनन् । बिहानै निशा हराएको भन्दै गाउँमा हल्लाखल्ला भयो । कसैले देखे-सुनेको बताएनन् ।
११ गते बिहानबाटै पदमको मन बेचैन भइसकेको थियो । उनका दाइका छोरा फुर्वा तामाङ सोही दिन बिहानै च्याउ टिप्न भन्दै छ्यादीखोला जंगलतर्फ लागे । च्याउ टिप्ने क्रममा उनले भीरमा अड्केको अवस्थामा मान्छेको खुट्टा देखे । अलि नजिक गएर हेर्दा शव चिनिहाले- उही निशा ।
हस्याङफस्याङ गर्दै दौडिंदै फुर्वा घर पुगेर काका पदमलाई अँगालो हालेर रुन थाले । घटनाबारे बताए ।
‘सुरुमा मलाई नै विश्वास लागेन । हेर्न जान्छु भन्दा भतिज तपाईंले हेर्नसक्ने अवस्था छैन भन्दै रुन थाल्यो । गाउँका अरु गएर हेरे । सबैले निशा नै भने । तर मैले हेर्न सकिनँ,’ पदम त्यो क्षण सम्झन्छन् ।
१० गते राति ओछ्यानबाटै हराएकी निशा भोलिपल्ट मृत भेटिइन् । ११ गते बिहान साढे ९ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गराइयो ।

चार्ज गर्ने निहुँ बनाएर घरबाट अपहरण गरी हत्या
निशाको बलात्कार-हत्या प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरू मृतक बालिकाकै आफन्त नाता पर्ने तथा छिमेकीहरू रहेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका-५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, सोही ठाउँका २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीया लाक्पा पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।
उनीहरूलाई प्रहरीले सोही गाउँबाट पक्राउ गरेको हो । उनीहरूमध्ये एक जनालाई भने आज शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । निशाको बलात्कार र हत्या प्रकरणमा जोडिएका सबै जना पक्राउ परेको एसपी कार्कीको भनाइ छ ।
बलात्कार र हत्यापछि पनि उनीहरू गाउँमै बसोबास गर्दै आएका थिए । पक्राउ परेकाहरू विरुद्ध नाबालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
उनीहरूले निशालाई बलात्कार गर्ने योजना बनाएर चार्ज गर्ने निहुँले उनको घरमा पुगेको एक अनुसन्धान अधिकृतले बताए ।
हाफ लाइन आएकाले त्यस दिन मोबाइल चार्ज हुन पाएको थिएन । पदम विदेशबाट फर्केकाले उनले पावर बैंक ल्याएका थिए । त्यही पावर बैंकमा चार्ज गर्न भन्दै उनीहरूले मोबाइल निशालाई दिए । ‘टिकटक पनि हेर्नु, मोबाइल पनि चार्ज गर्नु भनेर केटाहरूले मोबाइल दिएका थिए ।

मोबाइल लिने निहुँमा राति उनको घरमा गई बालिकालाई बाहिर लगेर बलात्कारपछि हत्या गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।
निशालाई घरबाट बाहिर निकालेपछि उनीहरूले सुरुमा कटेरामा लगेको खुलेको छ । कटेरोमा निशाका बाहिरी कपडाहरू समेत भेटिएको थियो । त्यसपछि नजिकैको मकैबारीमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । घटनास्थलको मकैबारी माडिएको समेत प्रहरीले जनाएको छ ।
यो सबै काम गर्नेहरूलाई निशाले चिनेको हुनाले पोल खुल्ने डरले उनीहरूले घाँटी कसी हत्या गरेको स्वीकार गरेको प्रहरीले समेत बताएको छ । कपडाले घाँटीमा कसेर हत्या गरेको, अनुहारमा ढुंगाले हानेको पाइएको प्रहरीले बताएको छ ।
मकैबारीमा निशाका भित्री बस्त्रहरू भेटिएका थिए । शव कसैले नभेटोस् भनेर करिब एक किलोमिटर टाढाको छ्यादीखोलामा फाल्ने उद्देश्यले भिरबाट खसालेका थिए । तर रूख र ढुंगाको कारण शव माथि नै अड्किएको अवस्थामा भेटिएको थियो ।
अभियुक्त नै भन्थे- अपराधीलाई छोड्नुहुँदैन
स्थानीयले शव देखेपछि कसैले छोएनन् । क्राइम सिन सुरक्षित राखे । बिहान साढे ९ बजेतिर नै प्रहरीलाई खबर भयो । त्यसपछि इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालयबाट एसपी सहितको टोली खटियो ।
यो बीचमा नांगो अवस्थामा शव भेटिएकाले बलात्कारपछि हत्या भएको निष्कर्ष प्रहरीले निकालिसकेको थियो । सिन्धुपाल्चोक प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा अहिले पक्राउ परेका अभियुक्तहरू पनि घटनास्थल वरपर घुम्दै प्रहरीलाई नै गाइड गर्थे ।
‘यताबाट घिसार्दै उता लगेको जस्तो छ । यस्तो अपराधीलाई त छोड्नुहुँदैन सर । हेर्नै नसकिने गरी मारेको छ । कस्तो अपराधी रहेछ,’ भन्दै आफूहरूलाई त्यतिबेला अहिले पक्राउ परेका व्यक्तिले भनेको एक अनुसन्धान अधिकृत बताउँछन् ।
घटना भएको जानकारी पाएपछि काठमाडौंमा रहेका गाउँपालिका अध्यक्ष शेर्पा पनि घटनास्थल पुगेका थिए । उनलाई अहिले पक्राउ परेका युवाहरूले नै घटनास्थलबारे गाइड गरेको अध्यक्ष शेर्पा बताउँछन् ।

‘कहिल्यै चिया-कफी खाउँ नभन्ने केटाहरू (अहिले हिरासतमा रहेका व्यक्ति) पनि दाइ चिया खाउँ, चिसो खाउँ भन्दै अस्वाभाविक हर्कत गर्थे । यसरी मारे जस्तो छ दाइ भन्थे । पछि त उनीहरू नै पो पक्राउ परे । म त छक्क परें,’ गाउँपालिका अध्यक्ष शेर्पाले अनलाइनखबरसँग भने ।
१२ वर्षीया बालिकाको नांगो शव भेटिएपछि प्रहरीले काठमाडौंबाट कुकुर मगाएर अनुसन्धान गरेको थियो । दिउँसो ३ बजेतिर प्रहरीका दुई वटा तालिमप्राप्त कुकुर घटनास्थल पुगेका थिए ।
डगह्यान्डलरले घटनास्थलमा स्निफिङ गराएर छाडेको केहीबेरमै अभियुक्त कानूनी दायरामा आए । प्रहरीको कुकुर घटनास्थल सुँघ्दै एक व्यक्तिको घरमा पुग्यो । त्यसपछि कपडामा संकेत गर्यो । ती कपडामा रगतका केही टाटा समेत भेटिए । कपडा कसको भन्ने पत्ता लगाएपछि केहीबेर अघिसम्म प्रहरीलाई गाइड गर्दै हत्यारालाई छोड्नुहुँदैन भन्ने व्यक्ति नै पक्राउ परे ।
एक जनालाई पक्राउ परेपछि उसैले अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएपछि धमाधम अरू पनि पक्राउ परे ।
प्रतिक्रिया 4