
News Summary
Generated by OK AI. Editorially reviewed.- सांघाई सहयोग संगठनको ऊर्जा बैठकमा नेपाल–चीनबीच द्विपक्षीय भेट भएको हो।
- मन्त्री खड्काले चीनको ऊर्जा सहयोग र दीर्घकालीन सहकार्यको आवश्यकता औंल्याए।
- भेटमा चीनले नेपाललाई ऊर्जा पूर्वाधार विकासमा प्राविधिक र वित्तीय सहयोग दिने प्रतिबद्धता व्यक्त गर्यो।
१३ असार, काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) ऊर्जा मन्त्रीस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार चीनको निङ्बो सहरमा त्यहाँको राष्ट्रिय ऊर्जा प्रशासन प्रशासक वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटवार्ताको सुरुवातमा मन्त्री खड्काले चीन सरकारको आत्मीय आतिथ्य र एससीओको ऊर्जा मन्त्रीस्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै आयोजनाको सफल समापनका लागि बधाई दिए ।
उक्त भेटवार्तामा नेपाल–चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा चीनका ऊर्जा प्रशासक वाङ होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार पूर्णरूपमा तयार रहेको स्पष्ट पारे । उनले दुई देशबीच ऊर्जा सुरक्षाको अभिप्रायले दीर्घकालीन सहकार्यका ढोका अझ फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
नेपालले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री खड्काले नेपालका ऊर्जा परियोजनामा लगानी र प्रविधि हस्तान्तरणको अपेक्षा पनि व्यक्त गरेका थिए ।
दुवै पक्षले आगामी दिनमा प्राविधिक टोली आदान–प्रदान गर्दै सहकार्यको व्यावहारिक पक्ष थप संस्थागत बनाउने सहमति गरेका छन् ।
प्रतिक्रिया 4