
News Summary
Generated by OK AI. Editorially reviewed.- मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई कर्णाली प्रदेशको आर्थिक विकासको केन्द्र बनाउनुपर्ने बताए।
- उहाँले काँक्रेविहारलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएको र यसको प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरे।
१३ असार, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताएका छन् ।
वीरेन्द्रनगरमा शुक्रबार आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेबिहारको महत्त्व बुझाउँदै यसको उपयोग गर्नुपर्नेमा जोड दिए । उनले काँक्रेविहारको महत्त्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सबै सरोकारवालाहरू एकजुट हुनु पर्ने उल्लेख गरे ।
‘काँक्रेबिहारलाई लुम्बिनीसँग पर्यटकीय रूपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘संसारभर यसको महत्त्व बुझाउँदै उपयोग गर्न सकिन्छ ।’
मुख्यमन्त्री कँडेलले काँक्रेविहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएकाले यसको प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्न सके समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन गर्नसक्ने बताए । काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न सके त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सम्भावना खोल्ने कँडेलले विश्वास व्यक्त गरे ।
उनले पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागितामार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना आवश्यक रहेको समेत औँल्याए । ‘हामीले सधैँ विकासको कुरा गर्छौँ, तर साँच्चिकै सम्भावना बोकेको काँक्रेविहारको विषयमा ठोस पहल गर्न सबै एक हुनु पर्ने बेला आएको छ,’ मुख्यमन्त्री कँडेलले भने ।
अब तीनै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्र मिलेर काँक्रेविहारको पहिचान विस्तार गर्ने बेला आएको समेत कँडेलले बताए । उनले स्थानीय युवालाई काँक्रेविहारको सम्बर्द्धनमा सहभागी भई आफ्नै क्षेत्रमा उद्यमशिलताको अवसर खोज्न पनि आह्वान गरे । कार्यक्रममा विभिन्न तहका विद्यार्थी, युवा अभियन्ता, अनुसन्धानकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4