+
+
Shares

आधिकारिक दर्ता नहुँदा घरेलु श्रमिक महिलालाई भविष्यको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँमा घरेलु श्रमिकको अधिकार र सामाजिक सुरक्षासम्बन्धी नीतिगत संवाद कार्यक्रम सम्पन्न भयो।
  • अधिकारकर्मीहरूले घरेलु श्रमिकहरूको दर्ता, न्यूनतम ज्याला र पहिचानको आवश्यकतालाई जोड दिए।
  • घरेलु श्रमिकहरूले आफ्नो पहिचान र सेवा सुविधाका लागि सक्रियता देखाएका छन्।

१३ असार, काठमाडौँ । घरेलु श्रमिकको अधिकार र सामाजिक सुरक्षासम्बन्धी नीतिगत संवाद कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । घरेलु श्रमिक मञ्चको आयोजनामा भएको उक्त कार्यक्रममा घरेलु श्रमिकहरूको हकअधिकार, सामाजिक सुरक्षा र नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो ।

स्वतन्त्रता अभियान नेपालका कार्यालय प्रमुख ऋतु भट्टराईले घरेलु श्रमिकहरूले आफ्नो पहिचान लुकाउन बाध्य हुनुपर्ने अवस्थाबाट मुक्त भई अहिले आफ्नो हकअधिकारका लागि संघर्ष गरिरहेको बताइन् । ‘आफ्नो पहिचान नै लुकाउन खोज्ने घरेलु श्रमिकहरू अहिले आफ्नो हकअधिकार प्राप्तिका लागि लडिरहनु भएको छ’ भट्टराई भनिन् ।

घरेलु श्रमिकको दर्ता, सूचीकरण, न्यूनतम ज्याला लगायतका विषयमा निर्देशिका निर्माण गरिनु पर्ने भट्टराईले बताइन् ।

घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारीले विगतमा आफ्नो पेशालाई लुकाउनुपर्ने अवस्था रहेको भए पनि अहिले श्रमिकहरू आफ्ना कुरा मिडियामार्फत बाहिर ल्याउन सक्रिय भएको बताइन् । ‘पहिले हामीलाई यो काम गर्छु भन्न लाज लाग्थ्यो’ भण्डारीले भनिन्, ‘आजभोलि भने हामी हाम्रो कुरालाई पनि मिडियाले उठाइदिनुपर्‍यो भनेर मिडिया खोज्दै हिँड्छौँ।’

कार्यक्रममा सहभागी घरेलु श्रमिक कान्छी दुलालले आफूले ३० वर्षदेखि घरेलु श्रमिकको रूपमा काम गर्दै आए पनि आफ्नो पेशाको औपचारिक प्रमाण नहुँदा सेवा–सुविधाबाट वञ्चित भएको गुनासो गरिन् । ‘मैले घरेलु श्रमिकको रूपमा काम गरेको ३० वर्ष भयो’ दुलालले भनिन्, ‘तर, म घरेलु श्रमिक हो भन्ने प्रमाण नै छैन । जसले गर्दा मैले श्रमिकको रूपमा पाउनुपर्ने सेवा–सुविधा नै पाएको छैन ।’

अर्की घरेलु श्रमिक लक्ष्मी खत्रीले २५ वर्षदेखि काम गर्दै आए पनि भविष्यको सुरक्षाको चिन्ता रहेको गुनासो गरिन् । ‘हातखुट्टा चल्ने बेलासम्म त काम गरिएला, त्यसपछि के हुन्छ ? हामीलाई पञ्जीकरण गरेर सामाजिक सुरक्षा कोषमा मात्र जोडियो भने पनि भविष्यको चिन्ता अलि कम हुने थियो’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?