
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनको समयमा नेताहरूले नेतृत्वबारे बोल्न पाउने बताएका छन्।
- उनले पार्टीभित्रको सीमारेखा भत्काउन नहुने र विधान अधिवेशनमा छलफल आवश्यक रहेको बताए।
- पोखरेलले पार्टीको नेतृत्व जनतामा स्थापित हुनुपर्ने र पार्टी ठूलो भएकाले सोचविचार गर्नुपर्ने बताए।
१४ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको महाधिवेशन हुँदैगर्दा नेता कार्यकर्ताले नेतृत्वबारे बोल्न पाउनुपर्ने बताएका छन् ।
स्वं नेता मदन भण्डारीको ७४ औं जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीले आगामी भदौ २०–२२ मा विधान अधिवेशन राखेको छ । विधान अधिवेशन आउँदा केही नेताहरू सलबलाउने कुरा सामान्य भएको उनको भनाइ थियो ।
पोखरेलको यो विषय एमाले नेतृत्वमा आकांक्षा राखिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लक्षित थियो ।
भण्डारी पछिल्ला महिना एमाले राजनीतिमा सक्रिय हुँदै आएकी छिन् ।
‘सचेत कार्यकर्ता त विधान महाधिवेशन आउँदा सलबलाउँछन नि । यो बोल्न पाइँदैन भनेर बोल्न मिल्यो ? मिल्दैन,’ पोखरेलले भने, ‘मान्छेले कुरा त गर्ने भयो नि, तर, पार्टीभित्रको सीमारेखा भत्काउन हुँदैन । जसले भत्काउँछ, इमोसनल भाषामा भन्ने हो भने त्यो धर्म विरोधी हो ।’
उनले पार्टी केन्द्रीय कमिटीमा छलफल हुँदै विधान अधिवेशनसम्म पुग्ने कुरालाई स्वीकार गर्नुपर्ने बताए ।
‘अहिले एमालेभित्र यही विषयमा छलफल चल्न खोजेको हो । बेलाको कुरा हो, बेलाको कुरामा चल्छ नि कुरो । विधान महाधिवेशनको सिस्टम के हो भने, केन्द्रीय कमिटीमा छलफल हुन्छ । तल जान्छ,’ पोखरेलले भने, ‘त्यहाँबाट सुझाव आउँछ । विधान महाधिवेशनमा छलफलपछि अन्तिम निचोडमा पुगिन्छ । विधान महाधिवेशन गर्ने भनेपछि आफ्नौ सुप्रिमेसी छ ।’
जनतामा स्थापित परिचित नेतृत्वको पंक्तिमा खोज्नुपर्ने उनले बताए । ‘यदी त्यो ठाउँमा भेटिएन भने पार्टी केबल झण्डामा हुँदैन । नेताको अनुहारमा मात्रै हुँदैन । जनतामा स्थापित नेतृत्वपंक्तिमा हुन्छ पार्टी,’ उनले भने ।
आफ्नो पार्टी ठूलो भएकाले ठूलै सोचविचार गरेर अघि बढ्ने उनले बताए ।
प्रतिक्रिया 4