
१५ असार, नेपालगञ्ज । १५ असार २०७९ असोजमा राप्ती नदीमा आएको बाढीबाट क्षतिग्रस्त राप्ती सोनारी गाउँपालिकाको खल्ला झगडिया क्षेत्रमा आपतकालीन तटबन्ध निर्माण सुरु गरिएको छ ।
बाढीले तटबन्ध क्षतिग्रस्त भएको दुई वर्षपछि जनताको तटबन्ध कार्यक्रम लमहीले खल्ला झगडियामा बेम्बोपाइलिङ प्रविधिबाट तटबन्ध निर्माण गर्न लागेको हो ।
जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा. नारायण सुवेदीको नेतृत्वमा इन्जिनियर सहितको टोली एक सातादेखि निर्माणस्थलमा खटिएको छ ।
तटबन्ध निर्माण गरी राप्ती सोनारी गाउँपालिका- ७ खल्ला झगडिया क्षेत्र र नरैनापुर गाउँपालिकाको सोनवर्षा लगायत दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने अभियानमा सो टोली जुटेको छ ।
स्थानीयवासी र बाँकेका जनप्रतिनिधिको पटकपटकको ध्यानाकर्षणपछि जनताको तटबन्ध कार्यालयले बर्खा सुरु हुनै लाग्दा आपतकालीन तटबन्ध निर्माण सुरु गरेको राप्ती सोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेलले बताए ।
राप्ती नदी किनारामा रहेको खल्ला झगडिया क्षेत्र राप्ती नदी कटानको उच्च जोखिममा छ । नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार जनता बाढीको उच्च जोखिममा छन् ।
स्थानीयको दबाबका बाबजुद यो क्षेत्रमा १५/१६ वर्षदेखि पक्की तटबन्ध निर्माण हुन सकेको छैन । पक्की तटबन्ध निर्माण नहुँदा बर्खा बाढी र डुबानको त्रासमा बाँच्न विवश भएको स्थानीय दुर्गाप्रसाद पाण्डेले बताए ।
तटबन्ध निर्माणका लागि बजेट र निर्माण सामग्री अर्थात् ढुंगाको अभावका कारण तटबन्ध निर्माणले गति लिन सकेको छैन । जनताको जीउधन र खेतीयोग्य जमिन नदी कटानबाट जोगाउन राप्ती नदीका दुवै किनारामा पक्की तटबन्ध निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बाँकेका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराउँदै आएका छन् ।
जनताको तटबन्ध कार्यक्रम लमहीका आयोजना प्रमुख डा. नारायण सुवेदी आफैं निर्माणस्थलमा खटेर आपतकालीन तटबन्ध निर्माण सुरु गरेपछि नरैनापुरका जनताले केही राहत महसुस गरेको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए ।
खल्ला झगडिया क्षेत्रमा करिब ४५० मिटर लामो पक्की तटबन्ध मंसिर २०८३ सम्म सम्पन्न गर्ने गरी साइमा दुर्गा भिन्सी भेजीले ६ करोड ५ लाखको लागतमा ठेक्का लिएर काम सुरु गरेको आयोजना प्रमुख डा नारायण सुवेदीले बताए । निर्माण हुन लागेको तटबन्धमा बेस ३० मिटर, उचाइ ६ मिटर र टपमा ५ मिटर चौडाइ हुनेछ ।
२०७१ सालमा आएको बाढीबाट खल्ला झगडियालगायत बाँकेका दुई दर्जन बढी गाउँ प्रभावित भएका थिए । सो वर्ष बाँकेमा बाढीबाट १५ जनाको मृत्यु, ५ जना बेपत्ता र २ जना घाइते भएका थिए ।
बाढीबाट २ हजार ७७१ घर पूर्ण रूपमा र ७ हजार ९९२ घर आंशिक गरी १० हजार ७६३ घरमा क्षति भएको थियो ।
बाढीबाट जनधनको क्षति भएपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादब र सिंचाइ मन्त्री एनपी साउदले ७ असोज २०७१ मा बाढी प्रभावितसँग भेटघाट गरेका थिए ।
राष्ट्रपति यादब र मन्त्री साउदले राप्ती नदीमा पक्की तटबन्ध निर्माण गरेर नदी किनारका बासिन्दालाई बाढीको जोखिमबाट सुरक्षित बनाउने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धताको ११ वर्ष बितिसक्दा पनि खल्ला झगडिया क्षेत्रका बासिन्दामा नदी कटान र डुबान त्रास कायमै छ ।
प्रतिक्रिया 4