+
+
Shares

दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी, के हो ‘क्लाउड सीडिङ’ ?

प्रदुषित वायुमण्डललाई सफा पार्न र धुलोका कणहरुलाई तल झार्न प्राकृतिक वा कृत्रिम वर्षा दुवै लाभदायक हुने सरकारको अपेक्षा छ । कृत्रिम वर्षाले थोरै भएपनि हावा सफा हुने ठानिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली सरकारले ४ देखि ११ जुलाईसम्म ‘क्लाउड सीडिङ’ प्रविधि प्रयोग गरी कृत्रिम वर्षा गर्ने योजना बनाएको छ।
  • प्रदुषण र गर्मी नियन्त्रणका लागि यो प्रविधि प्रयोग गर्न लागिएको हो, जसमा पाँच विमानबाट पानी र रसायन छोडिनेछ।
  • आम आदमी पार्टीले यस योजनालाई राजनीतिक रुपमा आलोचना गरे पनि सरकारले भने आवश्यक अनुमति र तयारी गरेको जनाएको छ।

१५ असार, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भएको छ । दिल्लीमा प्रदुषित हावालाई सफा गर्न कृत्रिम वर्षा गराउनेबारे लामो समयदेखि कुरा उठ्दै आएको थियो ।

दिल्ली सरकारले शहरको अस्वस्थकर प्रदुषित हावालाई सफा गर्न ‘क्लाउड सीडिङ’ प्रविधिमार्फत वर्षा गराउने प्रयास थालेको पर्यावरण मन्त्री मंजीन्दर सिंह सिरसाले घोषणा गरे ।

उनका अनुसार आगामी ४ जुलाईदेखि ११ जुलाईसम्म वर्षा गराउने कृत्रिम बादल बनाएर पानी पार्ने तयारी भइरहेको छ ।

प्रदुषणका कारण दिल्लीमा गर्मी र हिउँद दुवै याममा वायुको गुणस्तर एकदमै खराब रहने गरेको छ । विशेषगरी अक्टोबर–नोभेम्बरका बीच धान–गहुँका पराल, छ्वाली जलाउँदा, गाडी र उद्योगबाट निस्कने धुँवाका कारण हावा अत्यधिक प्रदुषित हुने गर्दछ ।

प्रदुषित वायुमण्डललाई सफा पार्न र धुलोका कणहरुलाई तल झार्न प्राकृतिक वा कृत्रिम वर्षा दुवै लाभदायक हुने सरकारको अपेक्षा छ । कृत्रिम वर्षाले थोरै भएपनि हावा सफा हुने ठानिएको छ ।

कसरी हुन्छ कृत्रिम वर्षा ?

कृत्रिम वर्षालाई मुर्तता दिन क्लाउड सीडिङ (पानी पार्ने कृत्रिम बादल बनाउने प्रक्रिया) प्रविधिको प्रयोग गरिन्छ । क्लाउड सीडिङअघि आकाशमा भएका बादलमा चिसोपना (आर्द्रता) भए नभएको पत्ता लगाइन्छ ।

यदि नभएको पाइए सिल्भर आयोडाइज्ड, आयोडाइज्ड नुन र रक साल्ट (सिधे नुन) का कणहरुलाई विमानमार्फत ती बादलहरुमा छाडिन्छ ।

आइआइटी कानपुरका टीमले दिल्लीको प्रदुषणलाई मध्यनजर गर्दै यो प्रविधिको विकास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योजना अनुसार पाँच विशेष विमान प्रयोग गरेर क्लाउड सीडिङ गर्ने तयारी भइरहेको छ । प्रत्येक विमानले ९० मिनेट उडान भर्ने र त्यस दौरान झन्डै १०० वर्ग किलोमीटर क्षेत्रमा क्लाउड सीडिङ गर्नेछन् ।

क्लाउड सीडिङका लागि फ्लेयर–आधारित प्रणालीबाट रसायन र नुनका कणहरू बादलमा छोडिनेछन् ।

यस्ता कणहरुले बादलमा भएका जल कणलाई ठूलो र भारी बनाउने गर्छ, जुन वर्षाका रुपमा जमीनमा खस्छ । यसका लागि दिल्ली सरकारले ३ दशमलब २१ करोड बजेट छुट्याएको छ ।

प्रदेश सरकारले क्लाउड सीडिङ गर्ने उडान योजनाको समन्वयका लागि भारतीय मौसम विज्ञान विभाग (आईएमडी)लाई समेत जानकारी गराएको छ ।

क्लाउ सीडिङबारे आरोप–पत्यारोप

कृत्रिम वर्षा गराउने घोषणापछि दिल्लीको राजनीति तातेको समाचारमा उल्लेख छ । आम आदमी पार्टी (आप) का नेता सौरभ भारद्वाजले सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।

उनले भनेका छन्, ‘जब मनसुन नै आउँदैछ भने कृत्रिम वर्षाको के जरुरी पर्यो ? यो दिल्लीवासीलाई सहयोग गर्न हो कि कसैलाई फाइदा पुर्याउन वा सस्तो लोकप्रियताका लागि ?’

अघिल्लो वर्ष आप नेतृत्वको सरकारले कृत्रिम वर्षाको योजनाअघि सार्दा केन्द्र सरकारले वेवास्ता गरेको उनीहरुको आरोप छ । त्यतिबेला तत्कालीन पर्यावरण मन्त्री गोपाल रायले दिल्लीमा कृत्रिम वर्षा गराउन कयौं पटक केन्द्र सरकारसँग अनुमति मागेका थिए ।

यसको जवाफमा पर्यावरण मन्त्री सिरसाले कृत्रिम वर्षाको योजनाबारे अन्यले कुरा मात्रै गरेको तर, आफू नेतृत्वमा आएपछि योजनालाई मुर्तता दिन लागेको बताएका छन् ।

उनले भने, ‘सबभन्दा पहिले हामीले सबै सम्झौतामा हस्ताक्षर गरेका छौं, भुक्तान गरेका छौं र आवश्यक अनुमति लिएका छौं । चार महिनामा परीक्षणको चरणसम्म आइपुगेका छौं, कुरा गर्नेहरुले दाबी मात्रै गर्छन्, हामीले काम गरेर देखाएका छौं ।’

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताको पहलमा यस योजनालाई अघि बढाइएको उनले बताए । दिल्लीको शहरी प्रदुषणसँग लड्ने दिशामा यो पहिलो व्यवहारिक प्रयास भएको उनको दाबी छ ।

अत्यधिक प्रदुषण रहने दिल्ली जस्ता ठूला सहरमा क्लाउड सीडिङ प्रभावकारी हुने अपेक्षा छ । यद्यपी विशेषज्ञहरुका अनुसार बादलमा पर्याप्त चिसोपना नभएको अवस्थामा र मौसमले साथ नदिएमा यो प्रविधिको असर थोरै मात्र हुनेछ ।

दिल्लीमा क्लाउड सीडिङ सफल भएमा अन्य शहरका लागि यो एक मोडेल बन्न सक्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?