+
+
Shares

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवालको काण्डैकाण्ड, बैंक घोटालादेखि चेक बाउन्ससम्म

ठेकेदार भेटवाल हरेक पटक पक्राउ पर्दा काठमाडौं भ्यू टावरको कथा जोडिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असार १५ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाललाई हिरासतमा राखिएको छ, उनी यसअघि पनि पक्राउ परेका थिए।
  • भेटवालमाथि बैंकिङ कसुरको आरोप लागेका छन्, उनी एपेक्स बैंक घोटालामा पनि जोडिएका थिए।

१५ असार, काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल अहिले हिरासतमा छन् । ‘क’ श्रेणीका ठेकेदार भेटवालको हिरासत यात्रा यो नै पहिलो भने होइन । उनी यसअघि ४ पटक पक्राउ परेर हिरासत पुगिसकेका छन् ।

पुरानो बसपार्कमा निर्माणकै अवस्थामा अलपत्र परेको सुविधासम्पन्न काठमाडौं भ्यू टावरका ठेकेदार हुन् भेटवाल । अहिले हिरासत पुग्नुमा पनि यही भ्यू टावर कनेक्सन जोडिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

भ्यू टावरको ठेक्का प्राप्त गरेपछि निर्माण प्रक्रियामा रकम अपुग भएको भन्दै सापटी लगेर नतिरेको आरोप भेटवालमाथि छ ।

राजकुमार बराल नाम गरेका व्यक्तिमार्फत भेटवालले ९ करोड ८८ लाख रुपैयाँ लगेको पाइएको छ । सापटी रकम लिएपछि त्यसवापत भेटवालले बराललाई नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिएको बताइएको छ ।

उक्त चेकमा पर्याप्त रकम नभएपछि त्यो चेक ‘खिची’ त्यसवापत ३० साउन २०८१ मा ग्लोबल आईएमई बैंकको चेकमार्फत ५ करोड ९४ लाख र २९ माघ २०८० मा ३ करोड ९४ लाख रुपैयाँ गरी ९ करोड ८८ लाख रुपैयाँको चेक दिएको खुलेको छ । यो कारोबारबारे काठमाडौं महानगरपालिका-२८ को वडा कार्यालयमा कागजात गरेको भेटिएको छ ।

भेटवाल र बरालबीच भएको कारोबारबारे वडा कार्यालयमा गरिएको कागजात ।

तर, कागजात गरेरै कारोबार गरे पनि रकम नभएको भन्दै पीडित प्रहरीमा पुगेपछि भेटवाल पक्राउ परेका हुन् ।

भेटवालविरुद्ध ६ असार २०८२ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीमाथि बैंकिङको मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमााडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताएका छन् ।

अहिले करिब १० करोड रुपैयाँ चेक बाउन्समा पक्राउ परेका भेटवालको विगत पनि विवादित नै छ । उनी विभिन्न काण्डमा पटकपटक पक्राउ परेका छन् । उनलाई ३ वैशाख २०७५ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो ।

त्यतिबेला उनी एपेक्स बैंक घोटाला प्रकरणमा जोडिएको आरोप लागेको थियो । एपेक्प बैंकको एक अर्ब २३ करोड घोटाला प्रकरणमा उनी पनि पक्राउ परेका थिए ।

जलेश्वर विकोई विल्डर्सका सञ्चालक भेटवालले एपेक्स बैंकबाट कर्जा लिएका थिए । कमसल धितो राखेर उनले ११ करोड ९० लाख रुपैयाँ लिएको पाइएको भन्दै सीआईबीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

पछि यो प्रकरणमा भेटवालसहित १४८ जनालाई प्रतिवादी बनाउँदै एक अर्ब २३ करोड ५० लाख ५४ हजार ४०० बिगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । यो प्रकरणमा उनी १६ जेठ २०७५ मा ५ लाख धरौटीमा रिहा भएका थिए ।

एक वर्षअघि २ जेठ २०८१ मा भएको फैसलामा भने भेटवालले सफाइ पाएका थिए । उच्च अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले भेटवाललाई सफाइ दिएको थियो ।

सीआईबीको हिरासतबाट छुटेपछि भेटवाल ११ फागुन २०७९ मा पनि बैंकिङ कसुरको आरोपमा पक्राउ परेका थिए । त्यसबेला करिब ३ करोडको चेक बाउन्समा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

उनीविरुद्ध आधा दर्जनभन्दा बढी बैंकिङ कसुरका उजुरी रहेको प्रहरी स्रोत बताउँछ । ७५ लाख १० हजार रुपैयाँ बराबरको चेक बाउन्समा उनी २७ फागुन २०७६ मा पक्राउ परेका थिए ।

२०७१ सालमा काठमाडौं महानगरपालिकासँग सार्वजनिक-निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र भेटवालको कम्पनीले भ्यू टावर निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर १० वर्ष नाघिसक्दा समेत भ्यू टावर बन्न सकेको छैन ।

यो टावर २३ रोपनी ५ आना जग्गामा बन्दैछ । भ्यू टावर नेपाली कला-संस्कृति झल्किने किसिमको हुने बताइएको छ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरूप निर्माणको काम अघि बढाइएको हो ।

टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा ३०० सवारी अटाउने बताइएको छ । भुइँतलामा मोटरसाइकल पार्किङ, पहिलो तलामा बसपार्कको काउन्टर, दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल हुनेछन् । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुने बताइएको छ ।

टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुरेन्ट, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । सुरुमा २१ तले बनाउने तयारी भए पनि २०७२ सालको भूकम्पपछि १२ तले बनाउने सहमति भएको थियो ।

भेटवाल हरेक पटक पक्राउ पर्दा यही भ्यू टावरको कथा जोडिएको प्रहरी अधिकारीहरू बताउँछन् । रकम सापटी लिएर भ्यू टावरमा काम गर्ने तर समयमा फिर्ता नदिँदा पीडितको बैंकिङ कसुरको जाहेरीका आधारमा उनी पक्राउ पर्दै आएका छन् ।

५ करोडको फैसला हुँदा पीडितले पाएनन्

भेटवालविरुद्ध सिरहाको लाहान नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ५७ वर्षीय भानुप्रकाश पुडासाईले जिल्ला प्रहरी परिसरमा बैंकिङ कसुरको जाहेरी दिएका थिए । भ्यू टावर निर्माणका लागि रकम अपुग भएको भन्दै भेटवालले माग गरेपछि सापटी दिएको पुडासाईले बताएका छन् ।

पटक-पटक गरी भेटवालको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा ४ करोड ९९ लाख रुपैयाँ पुडासाईले जम्मा गरिदिएका थिए । त्यस वापत उक्त रकम बराबरको चेक भेटवालले पुडासाईलाई दिएका थिए । तर बैंक खातामा पर्याप्त रकम नभएको भन्दै भेटवालले दिएको चेक साटिएन । त्यसपछि पुडासाईले जिल्ला प्रहरी परिसर काठमाडौंमा भेटवालविरुद्ध जाहेरी दिएका थिए ।

त्यसपछि ५ कात्तिक २०७९ मा भेटवाललाई परिसर काठमाडौंले पक्राउ गरेको थियो । पक्राउ परेको १६ दिनमै उनी अदालतमा ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । तर यो मुद्दा भने चालु अवस्थामै थियो ।

बैंकिङ कसुरमा भेटवालविरुद्ध अदालतले गरेको फैसला । जुन फैसला एक वर्षदेखि कार्यान्वयन हुन सकेको छैन ।

एक वर्षअघि २ वैशाख २०८१ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले फैसला गर्दै भेटवाललाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्‍यो । बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ को दफा ३ (ग) बमोजिम कसुर गरेको ठहर गर्दै ७ दिन कैद र ४ करोड ९९ लाख जाहेरवाललाई भराउने र ४ करोड ९९ लाख रुपैयाँ नै जरिवाना हुने ठहर गर्‍यो ।

तर, फैसला भएको एक वर्ष बित्दासम्म न भेटवाल पक्राउ परेर जेल गए न पीडितले रकम नै पाए । अहिलेसम्म आफूले रकम नपाएको र फैसला कार्यान्वयन हुन नसकेको जाहेरवाला पुडासाईले बताए । ‘पटकपटक ताकेता गर्दा पनि फैसला कार्यान्वयन भएको छैन । मान्छे नभेटिएको भन्ने जवाफ मात्रै आउँछ,’ पुडासाईले अनलाइनखबरसँग भने ।

फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयको प्रक्रिया अघि बढाएको छ । यसअघि गरिएका पत्राचारमा मान्छे र यकिन ठेगाना नभेटिएको भन्दै पत्र फिर्ता भएको र अहिले अन्तिमपत्र पठाइएको बताइएको छ ।

त्यसपछि भने पत्रिकामा सूचना निकालेर बाँकी प्रक्रिया अघि बढाइने फैसला कार्यान्वय निर्देशनालयले बताएको छ ।

विवादित पात्र भेटवाललाई अस्पतालको क्याबिन

‘क’ श्रेणीका ठेकेदार भेटवाल शुक्रबार पक्राउ परेलगत्तै अस्पताल भर्ना गरियो । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना गरी क्याबिन नम्बर ८१२ मा राखिएको छ ।

उनी अस्पताल नै भर्ना हुने बिरामी नरहे पनि पहुँचकै आधारमा अस्पताल भर्ना भएको प्रहरीले स्रोतको भनाइ छ । शुक्रबार बिहान पीडितले नै भेटवाललाई प्रहरी वृत्त सिंहदरबारमा लगेर बुझाएका थिए ।

त्यसको केही समयमै उनी वृत्त सिंहदबारबाट निस्केका थिए । तर शुक्रबार बिहान भेटवाल पक्राउ परे/नपरेकोबारे केही जानकारी नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख समेत रहेका एआईजी टेकबहादुर तामाङले बताएका थिए ।

पक्राउ पुर्जी जारी भएका बैंकिङ कसुरका अभियुक्तलाई प्रहरीले छाडेको भन्दै पीडितले माथिल्लो निकायमा जानकारी गराएपछि शुक्रबार साँझ भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

जसका कारण शुक्रबार उनीविरुद्ध म्याद थप हुन सकेन । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका भेटवाल त्यसलगत्तै ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?