 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको मेघौलीमा सिद्धार्थ हस्पिटालिटीले ’सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’ नामको लक्जरी रिसोर्ट सञ्चालन सुरु गरेको छ।
- रिसोर्टले जंगल, चराचुरुङ्गी अवलोकन, हात्ती सवारी र नदी किनारमा सूर्यास्त दृश्यावलोकनजस्ता सुविधा प्रदान गर्दछ।
- सिद्धार्थ ग्रुपले यसअघि सौराहा, कुरिनटार र नारायणगढमा विभिन्न होटल र रिसोर्ट सञ्चालन गरेको छ।
१६ असार, चितवन । चितवनको मेघौलीमा रहेको साराङ वाइल्डलाइफ स्याङचुरी रिसोर्ट सिद्धार्थ हस्पिटालिटीले सञ्चालन गर्न थालेको छ । यो सिद्धार्थ ग्रुपले मेघौलीमा हाइ–एन्ड पर्यटक लक्षित गर्दै ’सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’ नाममा यसलाई सञ्चालनमा ल्याएको जनाएको छ ।
सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेका अनुसार पछिल्लो समय वाइल्डलाइफ टुरिजममा हाइ–एन्ड पर्यटकलाई आकर्षित गर्न सफल चितवनको मेघौलीमा नेपाली हस्पिटालिटी चेनको अग्रणी सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिए ।
चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौली चितवनका प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्दछ । सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध मेघौलीमा सुविधा सम्पन्न रिसोर्टहरू सञ्चालनमा रहेका छन् ।
‘वाइल्डलाइफ टुरिजमका लागि देशकै उत्कृष्ट गन्तव्य मेघौलीमा प्रकृतिमा रमाउँदै जलचर, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्न चाहनेका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो’, न्यौपानेले भने, ‘यति सुन्दर गन्तव्य मेघौलीमा पर्यटकलाई उच्चस्तरीय वाइल्डलाइफ रिसोर्टको सेवा दिने उद्देश्यले सिद्धार्थ ग्रुप मेघौली आएको हो ।’
१२ बिघा जमिनमा फैलिएको यो रिसोर्ट जंगलले घेरिएको छ । रिसोर्टभित्र सुन्दर बगैंचासहित रिसोर्ट परिसरकै जंगलमा विभिन्न चराचुरुङ्गी र जनावरको अवलोकन गर्न सकिन्छ । राप्ती नदीको किनारमा रहेको रिसोर्टमा आर्कषक स्वीमिङ पुल छ । पुलसँगै पुलसाइड बार सञ्चालनमा छ ।
पाहुनाले रिसोर्टमा रहेका हात्तीलाई घाँस, दाना खुवाउने, हात्तीसँगै बगैँचा घुम्ने, हात्ती बाथ, हात्ती वाक, हात्तीलाई खुवाउदै आफू पनि ब्रेकफास्ट गर्ने जस्ता रोमाञ्चक सुविधा रहेको सीईओ न्यौपानेले बताए । रिसोर्टमा पर्यटक घुमाउन तथा पर्यटकलाई मनोरञ्जन दिलाउन एउटा छावासहित तीन वटा हात्ती पालिएका छन् ।
रिसोर्टमा स्थानीय रहनसहनअनुसार थारू शैलीका १७ वटा भिल्ला बनाइएको छ, जसका २४ कोठामा ४८ जना पर्यटकले रात बिताउन सक्छन् । सबै भिल्लाहरू डिलक्स भएको बताउँदै सीईओ न्यौपानेले जंगल रिसोर्टमा हुनुपर्ने न्यूनतमदेखि अधिकतम सेवा–सुविधा उपलब्ध गराएको जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सिमानामा रहेको मध्यवर्ती जंगलसँगै जोडिएको रिसोर्टले जंगलभित्रको आवासको अनुभूति दिलाउँछ । आन्तरिक तथा वाह्य पाहुनाका लागि जंगल गतिविधि बाहेक विभिन्न प्याकेज उपलब्ध भएको न्यौपानेले बाताए ।
मेघौली विभिन्न प्रजातिको चराचुरुङ्गी अध्ययन तथा अवलोकन गर्नका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँ साढे पाँच सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् ।
थारू र कुमाल समुदायको बाहुल्य रहेको मेघौलीमा रापती नदीमा डुंगामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मनमोहक दृश्यावलोकन समेत गर्न सकिन्छ । राप्ती नदीमा डुंगा सयर गर्दै सूर्यास्त देखिने गोलाघाटसम्म पुग्न सकिन्छ ।
रिसोर्टमा बस्ने पर्यटकहरु निकुञ्ज घुमाउन जीपको समेत सुविधा छ । जीपमा पूरा दिन वा आधा दिनको जंगल सफारी गराउने सुविधा रहेको न्यौपानेले बताए । चितवनमा सिद्धार्थ ग्रुपमा यो चौथौ प्रोपर्टी हो । यसअघि, सौराहामा सिद्धार्थ बनवास भिलासा, कुरिनटारसमा सिदार्थ रिसोर्ट सञ्चालन गरेको सिद्धार्थ ग्रुपले गत १ वैशाखदेखि नारायणगढ बजार नजिकै रहेको सेन्ट्रल पाम होटल सञ्चालन गर्दै आएको छ । सेन्ट्रल पाम होटलका सञ्चालक सुवोध प्रधानकै लगानी रहेको साराङ रिसोर्ट पनि सिद्धार्थले लिएर सञ्चालन गरेको हो ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्रान्डमा मुलुकभरि ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्रान्डलगायत सञ्चालनमा छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4