
१७ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए ।
केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कार्यहरु सुनाउने क्रममा लेखकले एमालेसँग मिलेर २०८४ सालको निर्वाचनसम्म सरकारलाई निरन्तरता रहने बताए ।
लेखकले आफूले मन्त्री पद सम्हालेपछि भएका घटना र मन्त्रालयले गरेका कार्यहरू पार्टी नेताहरूलाई सुनाए । राजावादीहरूको आन्दोलनलाई निस्तेज पारेको उनले बताए ।
‘भोलि नै राजा आउँछन्, पर्सि नै राजाको आन्दोलन सफल हुन्छ भन्ने लगायतका विषयहरूले अहिलेको पद्धतिलाई, संविधानलाई अलिकता कमजोर गर्ने गतिविधिहरू भइराख्या थिए,’ लेखकले भने, ‘केही चुनौतीहरू केही ठाउँमा धार्मिक भड्काउवादी तत्वहरू छन् । तिनको खतराप्रति हामी सचेत छौं ।’
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर गलत प्रचारबाजी भएको जिकिर गरे ।
‘केही कर्मचारीहरू र केही निजी क्षेत्रका मानिसहरूका माथि अनुसन्धान भइराख्या छ,’ लेखकले बैठकमा भने । अख्तियारले अनुसन्धान प्रारम्भ गर्ने बित्तिकै संलग्न भएको जस्तो गरि आफूविरुद्ध प्रतिशोध राखि राजनीतिक षडयन्त्र गरिएको बताए ।
भिजिट भिसामा मूलत: नीतिगत, कानुनी र संरचनागत सुधारहरू आवश्यक रहेको शंकरदास बैरागी नेतृत्वको छानबिन समितिले अध्ययन गरेर सुझाव दिने बताए ।
वर्तमान सरकार बनेको बेला माइतीघरमा मण्डलामा १७ वटा समूह आन्दोलनमा रहेको र उनीहरु सबैसँग संवाद गरेर समाधान निकालिएको लेखकले दाबी गरे ।
आमाको नाममा नागरिकताका लागि विधेयक पारित गरिएको उपलब्धिका सुनाए ।
‘संविधानले बोलेको अवस्था थियो तर कानुनको अभावमा आमाका नाममा नागरिकता पाउने कुरा सहज, सरल थिएन,’ पार्टी बैठकमा लेखकले भने, ‘नेपाली महिलाबाट जन्मेका सन्तानहरूले आमाकै नामबाट यदि बाबाको पत्ता छैन । बेपत्ता छन् अथवा मृत्यु भएको छ अथवा नागरिकता दिन सहयोग गरेनन् अथवा विदेशी हुन् भनेर फर्केर आफ्नो देशमा गएका छन् भने त्यस्तो सन्तानहरूको नागरिकताको सुनिश्चितता आमाकै नामबाट दिने गरेर प्रतिनिधि सभाबाट भर्खरै कानुन पास भएको छ ।’
सुनको तस्करीको चेन ब्रेक गरिएको लेखकले दाबी गरे ।
प्रतिक्रिया 4