
१७ असार, काठमाडौं । राष्ट्रिय युवा परिषदद्वारा आयोजित संघीय तहको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२ सम्पन्न भएको छ। परिषदले यसअघि कोशीको विराटनगर, मधेशको जनकपुर, गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा प्रादेशिक तहमा उद्यमशीलता सम्मेलन आयोजना गरेको थियो।
सोमबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंमा संघीय तहको सम्मेलन उद्घाटन गरे । सो अवसरमा उपराष्ट्रपति यादवले युवामा रहेका उद्यमी सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्रनिर्माणमा परिचालन गर्नुपर्ने बताए। यादवले जलविद्युत, पर्यटन, जडिबुटी लगायतका क्षेत्रसँग सम्बन्धित उद्यमलाई प्रोत्साहन गर्दै दिगो विकास लक्ष्यमा जोडदिनुपर्ने बताए।
सम्मेलनमा उपराष्ट्रपति यादवले भने, ‘हामीले एकातिर नेपाली युवामा रहेका उद्यमी सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्रनिर्माणमा परिचालन गर्नुपरेको छ भने अर्कोतिर उनीहरुलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपरेको छ।’ यादवले युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनले युवामा उद्यमी बन्ने सोंच, आर्थिक उपार्जनमा संलग्नता र समृध्द राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई उजागर गर्ने बताए।
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गएको पाँच वर्षमा ६० लाख युवा बाहिर गएको र सोही अवधिमा ५० लाख युवा स्वदेश फर्किएको दावी गरे। मन्त्री भण्डारीले सिप, उद्यमशीलता र रोजगारीलाई सँगसँगै लानुपर्ने बताए। भण्डारीले सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन दशक मनाउन लागेको चर्चा गरे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रालय स्टार्टअप र युवा उद्यमशीलता प्रवर्द्धनमा लागिरहेको जानकारी दिए। मन्त्री भण्डारीले भने, ‘उद्योग मन्त्रालयले यवालाई व्यवसायिक परियोजनाका आधारमा ५ लाखदेखि २५ लाखसम्म स्टार्टअप कर्जा दिन शुरुवात् गरेको छ।’
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आयातले धान्दै आएको अर्थतन्त्रलाई उद्यमशीलता प्रवर्द्धन गरी निर्यातमूलक बनाउन पहल गर्नुपर्ने बताए। चौधरीले भने, ‘युवा उद्यमीहरुलाई उत्प्रेरणा जगाई नयाँ उद्यम विकास गर्न र नयाँ स्टार्टअपहरुलाई लगानीकर्ता खोज्न यस्ता सम्मेलनको विशेष महत्व छ।’
‘समृद्धिका साझा सवाल’ विषयक प्यानल सत्रमा सांसदहरु पदम गिरी, उदय शससेर राणा, माधव सापकोटा र सोविता गौतम थिए। उनीहरुले उद्यमशीलताको बाटोबाट समृध्दिको यात्राबारे धारणा राखेका थिए।
‘युवाका लागि अबको निकास : रोजगारी, उद्यमशीलता र सिप विकास’ विषयको प्यानल छलफलमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, बैङ्कर्स अनिल केशरी शाहले युवा उद्यमशीलता प्रवर्द्धनबारे चर्चा गरे। सो प्यानलको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले गरेका थिए।
यसैगरी स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँचबारे राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाल, नविल बैंकका सीईओ मनोज ज्ञवाली र उद्यम अभियन्ता रन्जीत आचार्यले अलग-अलग प्रस्तुतीकरण गरेका थिए।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारबाट सञ्चालित युवा लक्षित कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए । बस्नेतले उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिवृद्धि लगायतका बहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको बताए ।
सम्मेलनमा अनलाइन आवेदनका आधारमा देशभरका ३५० युवा उद्यमी सहभागी थिए ।
प्रतिक्रिया 4