
News Summary
Generated by OK AI. Editorially reviewed.- हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमाथि हातपातको घटना दोहोरिएको छ।
- प्रहरीले आरोपितलाई पक्राउ गरी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
- घटनाको विरोधमा उपमहानगरले शुक्रबार सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ।
१९ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा फेरि अर्का वडाध्यक्षमाथि हातपात भएको छ ।
हेटौंडा उपमहानगरपालिका-४ का अध्यक्ष नवीन सिग्देलमाथि एक महिला निर्माण व्यवसायीले बुधबार हातपात गरेकी हुन् ।
यसअघि ४ असारमा हेटौंडा–१ का अध्यक्ष सविन न्यौपानेमाथि पनि चार जना व्यक्तिले कालोमासो फालेर हातपात गरेका थिए ।
कब्जा गरिएको सार्वजनिक जग्गा फिर्ता गराउने काममा सक्रिय भइरहेका बेला न्यौपानेमाथि आक्रामण भएको थियो । न्यौपानेमाथि आक्रामण भएको १५ दिन नबित्दै हेटौंडा क्याम्पसदेखि हुप्रचौरतर्फ निस्कने सडक विस्तारको अनुगमनमा पुगेका वडाध्यक्ष सिग्देललाई निर्माण व्यवसायी काभ्रेको रोशी गाउँपालिका–११ घर भएकी मञ्जु लामाले हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले आरोपित लामालाई घटना लगत्तै पक्राउ गरेको छ । वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जाहेरी दिएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
निर्माण स्थलबाट निस्किएको माटोलाई ४ नम्बर वडाकै श्रमिक माविको परिसरमा भएको खाडल पुर्न प्रयोग गर्नुपर्ने अध्यक्ष सिग्देलको प्रस्ताव अस्वीकार गरी लामाले माटो अन्यन्त्रै लैजाने बताएपछि विवाद भएको र लामाले कुटपिट गरेको उपमहानगरले जनाएको छ ।
हेटौंडा क्याम्पसदेखि हुप्राचौरसम्म सडक फराकिलो पार्ने काम भइरहेको छ । घटनापछि हेटौंडा उपमहानगरमा भएको पत्रकार सम्मेलनमा वडाध्यक्ष सिग्देलले विगत दुई वर्षसम्म काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको र असार अन्तिम भएपछि हालसालै मात्रै ढल निर्माण सुरु भएको वडाध्यक्ष सिग्देलले बताए ।
यसैगरी, १ नम्बर वडा अध्यक्ष न्यौपानेमाथि ४ असारमा भएको आक्रमणको घटनामा संलग्न रहेको आरोपमा १ जना ८ दिन अगाडि पक्राउ परिसकेका छन् ।
घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेकोले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखिएको डीएसपी अर्यालले बताए । आरोपितमाथि कालोमोसो दलेको अभियोगमा मुद्दा चलेको छ ।
भोलि उपमहानगरको सबै सेवा ठप्प
नागरिकको सेवा गर्ने क्रममा वडाध्यक्षहरू माथि हातपातको घटना बढिरहेको विरोधमा हेटौंडा उपमहानगरपालिकाले भोलि शुक्रबार सबै सेवा ठप्प पार्ने भएको छ ।
वडाध्यक्ष सिग्देलमाथि हातपातको घटनापछि दिउँसो बसेको कार्यपालिका बैठकले शुक्रबार सेवा बन्द गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलन गर्दै मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ र अधिकांश वडाध्यक्षहरूको उपस्थितिमा शुक्रबार सबै सेवा बन्द हुने जानकारी गराइएको छ ।
मेयर लामाले वडाध्यक्षहरूमाथि आक्रमण गर्नेलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन आग्रह गरेकी छन् ।
जनप्रतिनिधिहरूमाथि सुरक्षा चुनौती बढेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । वडा कार्यालयहरूमा काम गर्ने वातावरण निर्माणका लागि सबैपक्षसँग उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4