
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रादेशिक अस्पतालहरूमा नि: शुल्क प्रदान गरिने औषधि अभावले बिरामीलाई समस्या सिर्जना गरेको छ।
- मधेश सरकारको बजेट र प्रक्रियागत कमजोरीले औषधि खरिदमा समस्या आएको छ, जसले विपन्न परिवारलाई असर गरेको छ।
- अस्पतालमा औषधि अभाव र खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागिरहेको छ।
१९ असार जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा बिरामीलाई नि:शुल्क उपलब्ध गराइने औषधि महिनाैंदेखि अभाव छ ।
७० प्रकारको औषधि नि:शुल्क उपलब्ध हुने प्रादेशिक अस्पतालको नि:शुल्क औषधि शाखामा २० प्रकारको औषधि नै छैन । दैनिक आउने कम्तिमा ५० जना बिरामी मध्ये धेरै रित्तै फर्किने गरेको शाखामा कार्यरत कर्मचारीहरु बताउँछन् ।
‘हामीसँग जेजति औषधि छ, डाक्टरको प्रेस्क्रिप्सन देखेर उपलब्ध गराउँछौं, छ्र्रैन भने बिरामी रित्तै फर्किन्छन्, औषधि अभावको बारेमा पटक पटक उपलल्लो निकायमा जानकारी गराएका छौं, तर अहिलेसम्म उपलब्ध भएको छैन’, शाखाका एक कर्मचारीले गुनासो गरे ।
जनकपुर जस्तै अवस्था छ प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीको । मेडिकल सुपरिटेन्डेन्ट डा.संजिवकुमार सिंहका अनुसार महिनौंदेखि नि:शुल्क उपलब्ध गराइने औषधि अस्पतालको स्टोरमा अभाव छ ।
‘औषधि अभाव रहेको महिनौ भयो, ९८ प्रकारको हामीले उपलब्ध गराउने गरिएको अहिले केही औषधि मात्र बाँकी छ, भएको उपलब्ध गराइन्छ, कयौंपटक सम्बन्धित निकायमा भनेका छौं, तर अहिलेसम्म आएको छैन’, उनी भन्छन् ।
प्रादेशिक अस्पताल जनकपुर र प्रादेशिक अस्पताल मलंगवा जस्तै औषधि अभावको अवस्था अन्य अस्पतालमा पनि भिन्न छैन ।
प्रादेशिक अस्पताल जलेश्वर, प्रादेशिक अस्पताल सिरहा, प्रादेशिक अस्पताल गौर, प्रादेशिक अस्पताल कलैया र प्रादेशिक अस्पताल लहानमा समेत महिनौंदेखि नि:शुल्क उपलब्ध गराइने औषधिको अभाव छ ।
नि:शुल्क दिनुपर्ने औषधि नहुँदा खास गरी विपन्न परिवार मारमा परिरहेका छन् । उनीहरुले बाहिर चर्को मूल्यमा औषधि खरिद गर्नु पर्ने बाध्यता छ ।
औषधि खरिद गर्न मधेश सरकारले प्रादेशिक अस्पतालहरुलाई नै खासै बजेट विनियोजन गर्दैन । औषधि, स्वास्थ्य उपकरण खरिद तथा व्यवस्थापनको जिम्मा मधेश सरकार मातहत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको छ ।
६ वटा प्रादेशिक अस्पतालमा आपूर्तिले नै औषधि तथा उपकरण व्यवस्थापनको काम गर्छ । तर चालु आर्थिक वर्षको असार मसान्त बित्न लाग्दा समेत आपूर्तिले केही बाहेक औषधिहरु ख्रिद गरेर दिन सकेको छैन ।
आपूर्तिले ठूलो परिमाणमा औषधि खरिदको लागि पुस यता दुईपटक बोलपत्र आह्वान गरिसकेको छ । तर दुबै पटकको बोलपत्र भने अस्वीकार भइसकेको छ ।
गत वैशाखमा दोस्रो पटक झण्डै १० करोडको औषधि खरिद गर्न निकालेको तीनवटा बोलपत्र अस्वीकार भएको छ ।
औषधि खरिद शाखाका अधिकृत रुद्रनारायण महतोका अनुसार ४९ प्रकारको औषधि खरिद गर्न वैशाख १५ मा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरिएको थियो ।
७ करोड ७३ लाख ८८ हजार ४१९ रुपैयाँ रकममा सो परिमाणमा औषधि आपूर्तिको लागि चारवटा फार्मेसीले प्रस्ताव पेश गरेका थिए ।
ब्लुमुन मेडिटेक फर्मा नक्साल, लभ मेडिकल जलेश्वर, जीएच मेडिहेल्थ कन्सल्ट प्रालि मध्यपुर ठिमी र सोहन मेडिहेल्थ भरतपुरको प्रस्ताव परेको थियो ।
तर चारवटैको प्रस्ताव प्राविधिकरुपमा त्रुटिपूर्ण रहेको कारण अस्वीकार भएको आपूर्तिले जनाएको छ ।
नसर्ने रोगको नि:शुल्क वितरण गर्न २९ प्रकारको औषधि २ करोड ६५ लाख ६६ हजार ९९८.५० खरिद गर्न वैशाख ३ मा आपूर्तिले सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेको थियो । जसमा पाँचवटा प्रस्ताव पेश भयो ।
मेडिबोल्ट इन्टरनेशनल प्रालि मध्यपुर ठिमी, सोलुसन मेडिटेक प्रालि गैरीधारा नक्साल, मेडिकार्ड नेपाल प्रालि भरतपुर, लभ मेडिकल जलेश्वर र सोहन मेडि हेल्थ, भक्तपुरको प्रस्ताव परेको थियो । यी सबैको प्राविधिक प्रस्ताव त्रुटिपूर्ण रहेकाले अस्वीकार भएको अधिकृत महतोले बताए ।
यस्तै वैशाख ४ गते नसर्ने रोग सम्बन्धि औषधि खरिदको लागि अर्को २९ प्रकारको औषधि खरिद गर्न सूचना प्रकाशन भइ प्रस्ताव आह्वान भयो ।
४४ लाख २७ हजार ८३१.११ रकमको खरिद गर्न चारवटा प्रस्ताव पर्यो । जसमा यसअघिका मेडिकार्ड बाहेक चारवटै फर्मको प्रस्ताव परेको थियो । तर, यसमा पनि प्राविधिक प्रस्तावको कागजात त्रुटिपूर्ण रहेको भन्दै प्रस्ताव अस्वीकार भएको आपूर्तिले जनाएको छ ।
तीनवटै बोलपत्रको प्राविधिक प्रस्ताव अस्वीकार हुँदा औषधि खरिद गर्न नसकिएको आपूर्तिका निर्देशक डा. सुनिल कुशवाहा बताउँछन् ।
‘दुई–दुईपटक बोलपत्र आह्वान भयो, तर परेका प्रस्तावहरुको टेक्निकल प्रस्ताव नै त्रुटिपूर्ण थियो, त्यस कारण खरिद गर्न सकिएन’, उनले भने ।
प्रस्ताव प्राविधिकरुपमा अस्वीकार भइसकेकाले यी बजेटहरुबाट औषधि खरिद गर्न नसकिने उनको भनाइ छ ।
तर रद्द भएका बोलपत्रहरु भने पहिलो र दोस्रो पटक होइन । गत पुसमा तत्कालीन निर्देशक डा. राजिव झाले बोलपत्र आह्वान गरेका थिए ।
उनको सरुवा भइ कुशवाहा माघमा निर्देशकको जिम्मेवारीमा आएपछि वैशाख र जेठमा गरी दुईपटक बोलपत्र आह्वान गरिएको छ । तर दुई पटक अस्वीकार भइसकेको छ ।
असार १२ गते एक पत्रीकामा चारवटा बोलपत्र रद्दको सूचना आपूर्ति केन्द्रले प्रकाशन गराएको छ ।
जालझेलको कारण आपूर्तिले यस वर्ष ठूलो परिमाणमा औषधि खरिद नगरेको कार्यालयका एक कर्मचारीले बताए ।
ठूलो परिमाणमा नि:शुल्क औषधि खरिद सम्बन्धि बोलपत्रमा आफ्नो स्वार्थ अनुसारको कम्पनीलाई नपरेपछि विधिसम्मत परेका प्रस्ताव समेत त्रुटिपूर्ण ठहर गरेर रद्द गर्ने गरिएको कार्यालय स्रोतको दावी छ ।
यो बोलपत्र रद्द निर्देशक कुशवाहाले एकल निर्णयमा गरेको कार्यालय स्रोतको दावी छ । तर कुशवाहाले प्रक्रिया अनुसार नै खरिद समिति र मूल्यांकन समितिको टिप्पणी अनुसार नै बोलपत्र रद्द गरेको दावी गरे ।
‘मैले एकल निर्णयबाट होइन, खरिद समिति र मूल्यांकन समितिको टिप्पणी अनुसार बोलपत्र रद्द निर्णय गरिएको होे’, निर्देशक कुशवाहाले दावी गरे ।
यद्यपी विभिन्न विज्ञापन मार्फत आपूर्तिले सानो परिमाणमा औषधि खरिद गरेको छ । जी टू जी मार्फत २६ लाखको सिटामोल र ओआरएस औषधि नेपाल औषधि लिमिटेडबाट खरिद गरेको छ ।
१ करोड ७३ लाखको औषधि खरिद गरिसकेको र सवा २ करोडको १५ प्रकारको औषधि खरिदको लागि प्रस्ताव आह्वान भइसकेकाले परेको प्राविधिक प्रस्ताव दुरुस्त रहेको छ ।
कुशवाहाले आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने बोलपत्रमा शीर्षक नमिलेको १० करोडमा मेमो ग्राफी खरिद गर्न लागिएको छ ।
आइरन एण्ड फोलिक एसिडको बोलपत्रमा प्रक्रिया नमिलेपनि तीन करोडमा खरिद गर्न सम्झौता गरेको कार्यालय स्रोतको भनाइ छ । तर कुशवाहाले यी कुराहरु विधि प्रक्रियापूर्वक मात्र खरिद गर्न लागेको दावी गरे ।
आपूर्ति केन्द्रमा ठूलो परिमाणमा औषधि र उपकरण खरिद गर्ने रकम हुँदा त्यहाँ कार्यालय प्रमुख जान हानथाप हुने गरेको छ । मन्त्रीले आफ्ना अनुकूल तथा स्वार्थ पूरा हुने कार्यालय प्रमुखलाई पठाउने गरेको आरोप लाग्ने गरेको छ ।
यस आर्थिक वर्षमा नि:शुल्क वितरण गर्ने औषधि ठूलो परिमाणमा खरिद नहुँदा त्यसको मार भने प्रादेशिक अस्पताललाई वर्षैभरि खेप्नु पर्ने देखिन्छ ।
जसका कारण हजारौं गरिब तथा विपन्न नागरिक राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपर्ने देखिएको छ ।
प्रतिक्रिया 4