
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी निर्देशन भएमा राज्य व्यवस्था समिति सभापति पद छोड्न तयार रहेको बताए।
- उनले संसदीय समितिमा काम नगर्न र निर्णय पालन गर्न आग्रह गरे भने, पार्टीमा नेताहरूको कमजोर हुँदै गएको चिन्ता व्यक्त गरे।
- खतिवडाले पार्टीका शीर्ष नेताहरूको शक्ति र स्थिरता प्रति प्रश्न उठाउँदै पार्टीको भविष्य र नेतृत्वको स्थिति बारे चिन्ता व्यक्त गरे।
२० असार,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।
संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका थिए ।
विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन् । संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’
बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न उनले आग्रह गरे । समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको उनले बताए ।
खतिवडाले पार्टीमा सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरे ।
‘यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने ?,’ पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे ।
पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरे ।
‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस,’ खतिवडाले भने, ‘पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?’
प्रतिक्रिया 4