+
+
WC Series
पोखरा एभेन्जर्स 2025
130/4 (15.6)
VS
२४ बलमा ३६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

व्यवसायीले बढाइदिए अन्डाको भाउ क्रेटमा ५५ रुपैयाँ, सरकारलाई अत्तो न पत्तो

नेपालीको भान्सामा सामान्यतया नछुट्ने अन्डाको भाउमा ‘मनपरी’ हुँदा पनि वाणिज्य विभागले उपभोक्ता संरक्षणमा ठोस कदम नचालेपछि उपभोक्ता मारमा परेका छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असार २० गते २१:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यवसायीले डेढ महिनामा अन्डाको मूल्य ५५ रुपैयाँसम्म बढाएका छन्, विभाग भने मौन छ।
  • संघले तोकेको मूल्य अनुसार अन्डाको भाउ बढ्दै गए पनि किसान र उपभोक्ता मारमा परेका छन्।
  • वाणिज्य विभागले बजार अनुगमन नगर्दा बिचौलिया र कार्टेलिङले बजारमा मूल्य वृद्धि गरिरहेको आलोचना भएको छ।

२० असार, काठमाडौं । व्यवसायीले डेढ महिना अवधिमा अन्डाको भाउ प्रतिक्रेट ५५ रुपैयाँसम्म बढाएका छन् । यतिमात्र होइन, उत्पादन घटेको भन्दै उनीहरूले १० दिनमा २ पटक भाउ पनि बढाइसकेका छन् ।

कुखुरापालक व्यवसायीले १० दिनमा दुई पटक र डेढ महिना अवधिमा क्रेटमै ५५ रुपैयाँ भाउ बढाउँदा पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अत्तोपत्तो छैन ।

उपभोक्तालाई मूल्यमा ठगिन नदिन, उपभोक्ताको अधिकार रक्षा गर्न र उपभोक्ता संरक्षण गर्ने जिम्मेवारी पाएको विभाग भने कुखुरापालक व्यवसायीले ‘दिन दुई गुणा, रात चौगुणा’ पारामा अन्डाको भाउ बढाउँदा पनि मौनता साँधिरहेको छ ।

नेपालीको भान्सामा सामान्यतया नछुट्ने अन्डाको भाउमा ‘मनपरी’ हुँदा पनि वाणिज्य विभागले उपभोक्ता संरक्षणमा ठोस कदम नचालेपछि उपभोक्ता मारमा परेका छन् ।

विभिन्न उत्पादनमा न्यूनतम खुद्रा बिक्री मूल्य (एमआरपी) लेबल लगाउन अनिवार्य गरेर उपभोक्ता हितमा काम गरिरहेको दाबी गर्ने वाणिज्य विभागले उपभोक्ताको भान्सामा प्रत्यक्ष असर परेको विषयमा भने हालसम्म केही बोलेको छैन ।

अन्डा उत्पादक व्यवसायीहरूको संगठन नेपाल लेयर्स कुखुरापालक संघले निर्धारण गर्ने अन्डाको भाउ होलसेल (थोक) हो । संघले १० दिनमै दुई पटक भाउ बढाउँदा उपभोक्ताले थप महँगो तिरेर किन्नुपर्ने भएको छ ।

तर, संघले तोकेको भाउमा भने व्यवसायीहरूले उपभोक्तालाई अन्डा बेच्दैनन् । डेढ महिनामै अन्डाको होलसेल भाउ क्रेटमा ५५ रुपैयाँसम्म बढाइँदा उपभोक्ता झनै मारमा परेका छन् ।

संघले तोकेको नयाँ मूल्यसूची अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । त्यस्तै मिडियम अन्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

उता, अन्डा उत्पादक किसानले लागत पाइरहेका छैनन् भने उपभोक्ता चाहिँ अधिकांश समय महँगो तिर्न बाध्य छन् । अन्डाको भाउ उतारचढावमा अन्डा उत्पादक किसान र अन्डा उपभोग गर्ने उपभोक्ताले भने सधैं मार खानुपरेको देखिन्छ ।

अन्डा उत्पादक किसानले लागत खर्च पनि हातमा नपर्ने गुनासो गरिरहँदा र अन्डा खपत गर्ने उपभोक्ताले अन्डाको भाउ किन यस्तो महँगो भनिरहँदा पनि वाणिज्य विभाग भने ‘कानमा तेल हालेर’ बसेको छ ।

अन्डा उत्पादक किसानले बजारमा चलेको भन्दा कम मूल्य पाउने गर्छन् । अन्डा उत्पादन क्षेत्रमा पनि बिचौलियाकै हालीमुहाली हुँदा किसानले उत्पादन अनुसार भाउ पाउन सकेका छैनन् ।

अन्डाको उतारचढावपूर्ण भाउ

१० जेठ २०८२ मा अन्डाको भाउ बढाएको नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन घटेर माग धान्न नसकेको भन्दै आज शुक्रबार (२० असार) देखि लागु हुने गरी फेरि भाउ बढाएको छ ।

संघले तोकेको नयाँ मूल्यसूची अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । त्यस्तै मिडियम अन्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

संघले १० असारमा ठूलो अन्डाको भाउ क्रेटको ४ सय ८० रुपैयाँ तोकेको थियो भने मिडियम अन्डा प्रतिक्रेट ४ सय ५० रुपैयाँ तोकेको थियो ।

त्यसैगरी १७ जेठमा संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ र मिडियम अन्डाको ४ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो । यस्तै २५ वैशाखमा ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ६० र मिडियम अन्डाको भाउ ४ सय १० रुपैयाँ तोकिएको थियो ।

यो हिसाबले पछिल्लो डेढ महिना अवधिभित्र ठूलो अन्डामा ३५ र मिडियम अन्डामा ५५ रुपैयाँ बराबर भाउ बढाइएको छ ।

गर्मीले कुखुरा मरे, अन्डा उत्पादन घट्यो : संघ अध्यक्ष पोखरेल

नेपाल लेयर्स कुखुरापालक संघ अध्यक्ष विनोद पोखरेलले गर्मीका कारण कुखुरा मरेका हुँदा अन्डा उत्पादन घटेको तर्क गरे ।

पछिल्लो समय अन्डा खपत बढ्दो क्रममा रहेको र उत्पादन घट्दो क्रममा रहेकाले भाउ बढ्नु स्वाभाविक भएको अध्यक्ष पोखरेलको दाबी छ ।

‘अहिलेको अन्डा उत्पादनले बजारको माग धान्दैन । उत्पादन २५ प्रतिशत घटेपछि भाउ बढ्नु स्वाभाविक हो,’ अध्यक्ष पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिले पनि किसानलाई घाटा नै छ ।’

किसान सधैं घाटामा, उपभोक्ता सधैं पीडित

संघले अन्डाको भाउ बढाए पनि किसानले पाउने प्रतिअन्डाको लागत १६ रुपैयाँ ५० पैसाबाट बढेको छैन । किसानले अन्डा उत्पादन गर्दा १६ रुपैयाँ ५७ पैसा खर्च गर्नुपर्छ । अध्यक्ष पोखरेलकै अनुसार एउटा अन्डामा किसानलाई ७ पैसा घाटा छ ।

किसानले घाटा खाएर बेचेको अन्डाको भाउ भने संघले बढाएर बेच्ने गर्छ । अध्यक्ष पोखरेलका अनुसार उपभोक्ताका लागि ठूलो अन्डा २ वटाको भाउ ४५ रुपैयाँ तोकिएको छ । तर, खुद्रा व्यापारीले भने सानो अन्डा नै २ वटालाई ५० रुपैयाँमा बेचेर हाकाहाकी उपभोक्ता ठगिरहेका छन् । उपभोक्ताले ठूलो अन्डा किन्न त परै जाओस्, देख्न समेत पाउँदैनन् ।

संघले तोकेको भाउप्रति एक कुखुरापालक किसानले गम्भीर असन्तुष्टि पोखे । ‘संघले बढाएर तोकेको मूल्य हामी उत्पादकले कहिल्यै पनि पाउँदैनौं,’ उनले आक्रोश पोखे, संघले तोकेको मूल्य हामीलाई मान्य छैन । हामीले घाटा खाएर अन्डा बेच्नुपर्ने, बीचमा बिचौलिया हाबी भएर सबैलाई ठग्ने ?’

सरकारले देशभरि मान्य हुने गरी मूल्य निर्धारण गर्नुपर्ने उनको माग छ ।

अन्डाको भाउबारे थाहा छैन : वाणिज्य विभाग

नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्डाको भाउबारे जानकार नभएको भन्दै पन्छिएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहाल अन्डाको भाउलाई लिएर बजार अनुमगन नगरेको बताउँछन् ।

संघले अन्डाको भाउ बढाए पनि किसानले पाउने प्रतिअन्डाको लागत १६ रुपैयाँ ५० पैसाबाट बढेको छैन । किसानले अन्डा उत्पादन गर्दा १६ रुपैयाँ ५७ पैसा खर्च गर्नुपर्छ ।

‘अन्डाको मूल्यलाई लिएर उपभोक्ताबाट गुनासो नआएकाले अनुगमन नगरेका हौं,’ महानिर्देशक दाहालले भने, ‘तर, आइतबार (२२ असार) देखि हामी अनुगमन थाल्छौं । व्यवसायीलाई पनि बोलाएर छलफल गर्छौं ।’

बजार अनुगमन बढाउने समयमै वाणिज्य विभाग नेतृत्वविहीन – Online Khabar

बिचौलिया हाबी भए : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना हरेक क्षेत्रमा बिचौलिया हाबी हुँदा किसान र उपभोक्ता मारमा परेको बताउँछन् ।

कुनै पनि व्यावसायिक र वस्तुगत संघलाई नेपालको अहिलेको मौजुदा कानुनले मूल्य तोक्ने अधिकार नदिएको उनको भनाइ छ ।

‘मुलुकका कुनै पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्, संघमा बसेका बिचौलियाले मूल्य निर्धारण गर्ने र उपभोक्ताले भने बढी मूल्य तिर्नुपरिरहेको अवस्था छ,’ उपभोक्ता अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘सरकारसँग मूल्य नियमन गर्ने, विश्लेषण गर्ने र मूल्य निर्धारण गर्ने संयन्त्र विकास नभएसम्म यो समस्या समाधान हुँदै हुँदैन ।’

नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्डाको भाउबारे जानकार नभएको भन्दै पन्छिएको छ ।

सरकारले नै बजारमा उनीहरूले निर्धारण गरेको मूल्य ठिक हो कि होइन भनेर कहिल्यै अनुसन्धान र अनुगमन नगर्दा बजारमा यस्ता वस्तुगत संघहरू हाबी भएको उनी बताउँछन् ।

‘तिनै बिचौलियाले बजारमा मूल्य बढ्दै छ भनेर प्रक्षेपण गर्ने, कार्टेलिङ गर्ने, पुराना सामानमा पनि बढेको नयाँ मूल्य लिन खोज्ने गर्दा किसानले लागत उठाउन नसक्ने र उपभोक्ता मारमा पर्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘बजार हस्तक्षेप गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य अनुगमन, नियमन नगर्दासम्म व्यापारीहरूको चंगुलमा हाम्रो बजार फसिरहन्छ ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?