
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिले विधेयकमाथि छलफल गर्न विज्ञ नियुक्ति गर्ने तयारी गरेको छ।
- समितिले मानव बेचबिखन तथा बालबालिका सम्बन्धी ऐनको संशोधन विधेयकमा वृहत् छलफल गर्न आवश्यकता औंल्याइएको छ।
- सांसदहरूले विज्ञहरूको नाम सुझाव गर्न र पारिश्रमिक दिएर नियुक्ति गर्न आग्रह गरे।
२१ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले विधेयकहरूमाथिको छलफलका लागि विज्ञको आवश्यकता परेको बताएका छन् ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले विधेयकमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ आवश्यक हुने बताए ।
समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने उनको भनाइ थियो ।
‘भोलिको दिनमा हाम्रो समितिमा आउन लागेको दुई वटा विधेयक मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले र विज्ञहरुको आवश्यकता भएको कारणले विज्ञहरू नियुक्ति गर्नुपर्ने आवश्यकता देखेका छौं,’ उनले भने, ‘पारिश्रमिक बिना कसैले एक दिन, दुई दिन सहयोग गर्नसक्छ । तर हामीसँग पर्याप्त विज्ञ नियुक्ति गर्न बजेट भएकै अवस्थामा किन आर्थिक हिसाबले नै नियुक्ति नगर्ने ? दीर्घकालीन हिसाबले नै छलफल गरेर विज्ञको नियुक्ति गर्नुपर्ने देखिएको छ ।’
त्यसका लागि समितिमा काशिराज दाहाल र माधव पौडेलेको नाम प्रस्ताव समेत गरिएको छ ।
तर समितिका सांसदहरुले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरू ज्ञाता नभएको भन्दै अन्य विज्ञहरू नियुक्ति गर्नु उचित हुने धारणा राखे ।
सभापति साहले सांसदहरुसँग विज्ञहरुको नाम भए दिन आग्रह गरेका छन् ।
‘काशिराज दाहाल र माधव पौडेलेको नाम आयो । समितिलाई आवश्यक पर्ने विज्ञहरू भए अरु पात्रको पनि नाम लिन सक्नुहुन्छ,’ सांसद साहले भने ।
समितिले पारिश्रमिक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानुन झनै राम्रो निर्माण गर्न सकिने सांसदहरूको धारणा छ ।
प्रतिक्रिया 4