News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको यू-१६ क्रिकेट टोलीले शनिबार एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जित्यो।
- यसले नेपाली क्रिकेटको भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
- उमेर समूहका खेलाडीहरूलाई राष्ट्रिय टिमसम्मको यात्रा तय गर्न मद्दत पुग्छ।
२२ असार, काठमाडौं । नेपालको यू-१६ क्रिकेट टोलीले शनिबार एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जित्यो । प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा नेपालले सिंगापुरलाई हराएर लगातार उपाधि जितेको हो ।
यसअघि सन् २०२३ को यू-१६ इस्ट जोन कपमा पनि च्याम्पियन बनेको नेपालले त्यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा हुने प्रतियोगिता पनि २०१७ र २०१९ मा जितेको थियो । समग्रमा भन्नुपर्दा नेपालको यू-१६ उमेर समूहमा यो लगातार चौथो उपाधि हो ।
विशेषगरी एसियाका एसोसियट राष्ट्रमध्येमा सधैं बलियो दाबेदारका रूपमा रहने नेपाली टोलीले उमेर समूहको प्रतियोगिताहरू जित्ने कुरा त्यति ठुलो उपलब्धिको रूपमा नहेरिन सक्छ । तर यसले नेपाली क्रिकेटमा उमेर समूहदेखि नै आवश्यक पर्ने विकासक्रमको सुरुवाती चरणका रूपमा भने ठुलो अर्थ राख्छ ।
त्यसैगरी उमेर समूहदेखि नै खेलाडीलाई एक्सपोजर प्राप्त गर्नका लागि पनि यी प्रतियोगिताहरूले अर्थ राख्छ । यू-१६ टोलीबाट खेल्दै यू-१९ टोली अनि त्यसपछि सिनियर टोलीसम्मकै यात्रा तय गर्नका लागि पनि यस्तो प्रतियोगितामा सहभागिता मात्रैले पनि ठुलो सहयोग गर्छ ।

नेपालबाट यसअघिको यू-१६ इस्ट जोन कपमा खेलेका खेलाडीले त्यसपछि यू-१९ टोलीसम्मको यात्रा पनि तय गरिसकेका छन् । अघिल्लोपटक यू-१६ टोलीको कप्तानी गरेका नरेन भट्टले नेपालका लागि यसै वर्ष यू-१९ टोलीको पनि कप्तानी गरेका थिए ।
यो हिसाबले भन्दा नेपालको उमेर समूहमा खेल्ने खेलाडीको प्रदर्शन नेपाली क्रिकेटकै भविष्यसँग जोडिएको हुन्छ । त्यसकारण अहिले उमेर समूहमा खेलिरहेका खेलाडीहरूले नेपाली क्रिकेटकै जग बलियो बनाउँदै छन् भनेर भन्दा फरक पर्दैन ।
उमेर समूहमा अब्बल
नेपाली टोली फेरि एकपटक उमेर समूहको क्रिकेटमा अब्बल देखियो । यू-१६ स्तरमा हालसम्म खेलेका चारवटै प्रतियोगिता नेपालले जितेको छ । यसअघि सन् २०१७ र २०१९ मा एसीसी यू-१६ इस्टर्न रिजनल कप तथा सन् २०२३ मा यू-१६ इस्ट जोन कपको नामबाट भएको प्रतियोगिता नेपालले जित्यो ।
एसीसीले यू-१६ उमेर समूहमा वेस्ट जोन कप र इस्ट जोन कप भनेर खेलाउँदै आएको छ । वेस्ट जोन कपमा पश्चिमी एसियाली राष्ट्रहरू यूएई, ओमान, कुवेत, कतारजस्ता राष्ट्रले खेल्छन् ।
इस्ट जोन कपमा नेपालसहित मलेसिया, सिंगापुर, हङकङजस्ता टोलीहरू खेल्छन् । इस्ट जोनमा माल्दिभ्स, भुटान, इन्डोनेसिया, जापान, थाइल्याण्ड लगायतका टोलीहरू अझैपनि क्रिकेटको विकासक्रममै छन् ।
नेपालको स्तरसँग यी टोलीहरू कमजोर नै साबित हुँदै आएका छन् । त्यसकारण हरेक संस्करणमा नेपाल प्रमुख दाबेदारका रूपमा रहने गर्छ भने मलेसिया, सिंगापुर र हङकङले नेपाललाई सामान्य चुनौती मात्र प्रस्तुत गर्छन् ।
यसमा नेपाली टोलीको अब्बल प्रदर्शन पनि मिसिएर प्रतियोगिता नै जित्दै आएको छ । यी खेलहरू खेल्ने अवसर पाउँदा खेलाडीहरूको पनि अनुभव बढ्ने हुँदा त्यसपछि अन्य उमेर समूहबाट पनि खेल्नका लागि खेलाडीहरू योग्य साबित हुन्छन् ।
घरेलु क्रिकेटमै जिल्ला स्तरदेखि प्रदेश अनि राष्ट्रिय स्तरसम्मै उमेर समूहका प्रतियोगिताहरू खेलाइन्छ अनि देशका विभिन्न कुनाबाट प्रतिभाहरू निस्किएर त्यहाँ गरेको प्रदर्शनका आधारमा छनोट भएर नेपाली टोलीकै प्रतिनिधित्व गर्ने स्तरमा खेलाडीहरू पुग्छन् ।
नेपालले यू-१६ मात्र नभएर यू-१९ मा पनि अब्बल प्रदर्शन गर्दै आएको छ । यू-१६ मा खेलेकामध्येबाटै केही खेलाडीहरू पछि गएर यू-१९ टिममै पनि खेल्ने हुनाले हरेक उमेर समूहमा सोही अनुभवका साथ खेल्दा सन्तुलित प्रदर्शन देखिने गर्छ ।
सिनियर टोलीलाई थोरै मात्र अवसर प्राप्त भएपनि नेपालको यू-१९ टोलीले त विश्वकप पनि ८ पटक खेलिसकेको छ । पछिल्लोपटक देव खनालको नेतृत्वमा सन् २०२४ को यू-१९ विश्वकप खेलेको नेपाली यू-१९ टोली यसपटक पनि दाबेदारका रूपमा रहँदा मौसमले साथ नदिँदा विश्वकप खेल्नबाट चुकेको थियो ।
नतिजा जेजस्तो भएपनि नेपालको उमेर समूहको टोलीले गरेको प्रदर्शनले नेपाली क्रिकेटको जग कमजोर भने पक्कै छैन भन्ने देखाउँछ । यही किसिमको लयलाई निरन्तरता दिन सक्नु चाहिँ चुनौती रहनेछ ।
रौनक, प्रसिद्ध र बिपिनले देखाएको आशा
नेपाली राष्ट्रिय टोलीको जर्सी लगाउने सबैभन्दा पहिलो स्टेप नै अहिलेका लागि यू-१६ क्रिकेट हो । त्यसमा पनि विभिन्न सम्भावना बोकेका खेलाडीहरूबाट राम्रो प्रदर्शन हुँदा त्यसले राष्ट्रिय टोलीको जर्सीलाई पनि सार्थकता प्रदान गर्छ ।
नेपाली यू-१६ टोलीबाट इस्ट जोन कपमा सबै खेलाडीको प्रदर्शन त्यति नै उच्च रह्यो । तीमध्ये पनि ३ खेलाडीले भने सबैभन्दा उच्चस्तरीय प्रदर्शन गरे । ब्याटिङमा प्रसिद्ध जैसी र रौनक श्रीवास्तव तथा बलिङमा कप्तान बिपिन प्रसाद शर्माको प्रदर्शन निकै दमदार रह्यो । अर्का स्पिनर शुभम खनालले पनि राम्रो खेले ।
यसरी यी खेलाडीहरूले नेपालको अब योभन्दा पछाडिको उमेर समूहका लागि नयाँ आशा देखाएका छन् । विशेषगरी बिपिनसँग त अन्तर्राष्ट्रिय खेलाडीहरू पनि समावेश भएको नेपाल प्रिमियर लिग पनि खेलेको अनुभव थियो । कर्णाली याक्सबाट खेलेर चम्किएका बिपिन त्यसपछि पीएम कप र अहिले इस्ट जोन कपमा पनि छाए ।
प्रतियोगितामा बिपिनले ५ खेलमा १६ विकेट लिँदै उत्कृष्ट बलर घोषित भए । त्यतिमात्र नभएर एक समय नेपालको यू-१६ टोलीबाट खेल्ने सपना देखेका बिपिनले सोही टोलीको कप्तानी गर्दै उपाधि नै जिताए ।
उपाधि जितेपछि बिपिनले आफ्नो कप्तानीमा उपाधि दिलाउन पाउँदा खुसी लागेको बताएका थिए। ‘उत्कृष्ट बलर हुन पाउँदा खुसी छु, त्योभन्दा पनि धेरै खुसी हामी टिमकै सफलताका कारण मिलेको छ, सबैजनाबाट राम्रो प्रदर्शन भयो’ उनले भने ।
यता ब्याटिङमा ओपनर प्रसिद्ध र मध्यक्रमका रौनकको प्रदर्शन उत्कृष्ट रह्यो । दुवैले प्रतियोगितामा एक शतक र एक अर्धशतक बनाए । दुवैको उमेर सानो भएपनि खेल्ने शैली एउटा स्थापित खेलाडि जत्तिकै देख्न सकिन्थ्यो ।
५ खेलमा २९६ रन बनाएका रौनक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याटर पनि घोषित भए । उनले यू-१६ राष्ट्रिय क्रिकेटमा पनि लुम्बिनी प्रदेशबाट खेल्दा दोहोरो शतक नै बनाएर आफ्नो छाप छाडिसकेका थिए ।
प्रसिद्धले पनि नेपालका लागि ओपनिङमा जिम्मेवारी बहन गर्दै क्लासिकल शटहरू खेल्दै आएका थिए । उनी पनि आशालाग्दा खेलाडीका रूपमा हेरिएका छन् । फाइनलमा प्रसिद्ध र रौनक दुवैको ब्याट नचले पनि प्रतियोगितामा यी दुईले राम्रो छाप छाडेका छन् ।
यहाँबाट उनीहरूका लागि अझ माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्नक लागि सम्भावनाको ढोका पनि खुलेको छ । यस्तै लयलाई निरन्तरता दिन सकेमा भविष्यमा यू-१९ हुँदै राष्ट्रिय टोलीसम्मकै यात्रा तय गर्न सक्ने क्षमता भएका खेलाडीहरू देखिएका छन् ।

यू-१९ को टिम बनाउने आधार
यू-१६ तहमा खेलिने प्रतियोगितामा सहभागी भएर खेलाडीबाट आउने प्रदर्शनबाट नै अब यसपछिको यू-१९ लेभलका लागि टिम बनाउने आधार प्राप्त हुन्छ ।
नेपालका लागि यू-१६ खेलेका नरेन भट्ट, अभिषेक तिवारी, सन्तोष यादव लगायतका खेलाडीहरूले यसै वर्ष भएको यू-१९ विश्वकप छनोटको टोलीमा पनि स्थान बनाएका थिए । नरेनले त कप्तानी नै गरे ।
यही अवसर अब अहिले यू-१६ खेलेका खेलाडीहरूलाई पनि प्राप्त हुन सक्छ । त्यसकारण अहिले यी खेलाडीहरूबाट भएको प्रदर्शन नेपालको यू-१९ टिम निर्माण गर्ने कुरा पनि जोडिएको छ जुन कुरा नेपाली क्रिकेटको भविष्यसँग पनि जोडिएको हुन्छ ।
अहिले यू-१६ खेलेका खेलाडीहरूमा धेरै सम्भावना देखिएको क्यानका प्रवक्ता छुम्बी लामा बताउँछन् । ‘अहिलेका खेलाडीमा धेरै पोटेन्सियल देखिएको छ, लय निरन्तरता दिन सक्नुपर्छ । पछिसम्म राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीहरू यू-१९ अनि राष्ट्रिय टोलीसम्मै पुग्न सक्छन्’ उनले भने ।
यू-१९ मात्र नभएर सिनियर टिमसम्मकै यात्रा तय गर्ने आधार पनि यही नै हो । नेपालका लागि यसअघि यू-१६ क्रिकेट टोलीबाट खेलेका आसिफ शेख, पवन सर्राफ, कुशल मल्ल, रिजन ढकाल पनि त्यसपछि यू-१९ हुँदै सिनियर टोलीसम्म नै पुगेका छन् ।
यो अवसर अहिले यू-१६ बाट खेल्दै गरेका खेलाडीहरूले पनि पाउन सक्छन् ।
प्रतिक्रिया 4