News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको चेस प्रतियोगितामा आशिष फुयाल विजयी भए।
- प्रतियोगितामा १०३ जना खेलाडी सहभागी थिए र आशिषले रु. २० हजार पुरस्कार जिते।
- प्रतियोगिता र नेपाल बुद्धिचाल महासंघले पत्रकार मञ्चलाई सम्मान गरे।
२१ असार, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् ।
ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको सभा हलमा सम्पन्न खुल्ला चेस प्रतियोगितामा आशिष फुयालले सात चरणको खेल मार्फत ६.५ अंक प्राप्त गर्दै विजयी भएका हुन्।
कुल १०३ जना राष्ट्रिय खेलाडीहरू सहभागी रहेको प्रतिस्पर्धामा आशिषले विजयी बन्दै नगद पुरस्कार रु. २० हजार, ट्रफी र स्वर्ण पदक हात पारेका छन्।
स्पर्धामा रौतहटका एफएम रुपेश जयसवालले एकल ६ अंक जोडेर द्वितीय बन्दै नगद पुरस्कार रु.१५ हजार र रजत प्राप्त गर्न सफल भएका छन्।
अन्तिम खेल पश्चात ५ दशमलव ५ अंक प्रोग्रेसिभ ३२ पोइन्टका आधारमा काठमाडौँका सीएम पुरुषोत्तम सिलवाल तृतीय बन्न सफल भए। उनले नगद १० हजार र काश्य पदक प्राप्त गरेका छन्।
समान ५.५ अंक प्राप्त गरेका खोटाङका धिरेन राईले म्याच प्वाइन्ट ३०.५ र टाइब्रेक २६.५ जोडेर चौथो स्थानमा उभिँदै नगद ८ हजार प्राप्त गरेका छन्।
मकवानपुरका एफएम क्षितिज भण्डारी समान अंक, समान म्याच प्वाइन्ट र टाइब्रेकर २६ मा .५ ले पछि रहँदै पाचौं स्थानको नगद पुरस्कार रु. ६ हजार जितेका छन्।
समान ५.५ अंक जोडेर सुनसरीका मुहान नरसिंह श्रेष्ठ, ललितपुरका बद्रीलाल नेपाली, रौतहटका पुरुषोत्तम चौलागाईं, काठमाडौँका केशव श्रेष्ठ र ललितपुरका सुरज महर्जनले छैठौंदेखि दशौं स्थानसम्म रहँदै जनही चार चार हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
यसैगरी कास्कीकी पूजा भण्डारी ४ अंक जोडेर महिला विधातर्फ प्रथम, काठमाडौंकी सिन्दिरा जोशी द्वितीय र सुनसरीकी शान्ति धिमालले तृतीय स्थान प्राप्त गरेका छन्।
युवा १६ तर्फ काठमाडौँका आदित्य गजुरेल, सिन्धुपाल्चोकका सजल न्यौपाने र कञ्चनपुरका शुभम जोशी, युवा १४ तर्फ काठमाडौँका अनमोल घिसिङ, हर्ष वर्धन राठी, कञ्चनपुरका सार्थक पन्त, अनरेटेड तर्फ सोहोम श्रेष्ठ, जेनिसलाल श्रेष्ठ, विपिन आचार्य उत्कृष्ट ३ मा पर्न सफल भएका छन्।
यस्तै उत्कृष्ट क्रमश: ललितपुरतर्फ रत्न व्यञ्जनकार, सानो राजा बज्राचार्य र कमल श्रेष्ठ, उत्कृष्ट सिनियर तर्फ भक्तपुरका गणेशमान दुवाल, १८०० रेटिङ मुनि नुवाकोटका सुरेन्द्र लामा र १७०० रेटिङ मुनि धादिङका तारामान श्रेष्ठ पुरष्कृत भएका छन्।
यसैबीच नेपाल बुद्धिचाल महासंघले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित कार्यसमितिलाई सम्मान पनि गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित हुन सफल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई एक समारोह बीच नेपाल बुद्धिचाल महासंघले सम्मान गरेको हो ।
प्रतिक्रिया 4