
२४ असार, बुटवल । बुटवल– पाल्पा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा मन्दिर नजिक पहिरोमा परेर गम्भीर घाइते एक जनाको मुत्यु भएको छ ।
घटनामा एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार पाल्पा रामपुर नगरपालिका- ६ तालपोखरा घर भएका जनक भण्डारी हुन् ।
मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलका चालक भण्डारीको मृत्यु भएको र मोटरसाइकलको पछाडी बसेकी उनकी श्रीमती कल्पना चापागाईं घाइते भएको प्रहरी चौकी दोभानका प्रमुख रुमबहादुर केसीले जानकारी दिए ।
दिउँसो ४ बजेतिर सडक माथिबाट पहिरो खस्दा मोटरसाइकलका चालकलाई लागेको र उनी उछिट्टिएर करिब ३० मिटर तल तिनाउ खोला किनारमा पुगेको प्रहरीले जनाएको छ ।
घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4