
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरको प्रमोद उराउले आर्थिक कठिनाइका बाबजुद पनि पाइलट बन्ने सपना पूरा गरे।
- उनी गाउँकै पहिलो पाइलट हुन्।
- प्रमोदको सपना पूरा गर्न बुबा विष्णु उराउले ऋण र संघर्ष गरे।
- अहिले परिवारको खुशी र सम्मान बढेको छ।
२५ असार, विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘प्रश्नोत्तर’ शीर्षकको कवितामा लेखेका छन्-
कर्तव्य के छ जनको, यति छन् विरोध
नक्षत्र हेर नभमा, दिलसाथ सोध,
के हो ठूलो जगतमा, पसिना विवेक
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।
मोरङको कटहरी गाउँपालिका-५ भौडाहाका प्रमोद उराउले उड्ने सपना देखे । अर्थात्, पाइलट बन्ने ।
जतिबेला उड्ने सपना देखेका थिए, त्यतिबेला प्रमोद बुवाको आर्थिक अवस्था बुझ्न सक्ने उमेरका थिएनन् । पढ्दै गए, उमेर चढ्दै गयो । विराटनगरबाट प्लस टु सकेपछि त उनमा पाइलट बन्ने हुटहुटी झन् बढ्यो ।
छोराको सपनाले बुबा विष्णु उराउलाई झस्कायो । विपन्न किसान विष्णुका लागि छोरालाई पाइलट बनाउनु उडेर चन्द्रमा छुनु जस्तै थियो ।
छोरालाई पाइलट पढाउने हैसियत उनको थिएन । विष्णुले छोराको चाहनालाई टार्न खोजे । आमा लालसरी उराउले छोरासँग पाइलट पढ्ने खर्च जुटाउन गाह्रो हुने बताइन् । तर प्रमोदले उड्ने सपना छाडेनन् । त्यसपछि विष्णुले आँट गरे ।
क्षमता नभए पनि उनको आँटले आज छोरालाई पाइलट बनाएको छ । प्रमोद अहिले बुद्ध एयरको जहाज उडाउँछन् । आकाशमा उड्ने छोराको सपना पूरा हुँदा गाउँमा बुबाआमालाई असीमित खुसी मिलेको छ । गाउँ समाजमा मानसम्मान बढेको छ । प्रमोद झाँगड समुदायको पहिलो पाइलट हुन् । समुदायमा छुट्टै पहिचान पनि बनेको छ ।
‘मेरो इच्छा सानैदेखि प्लेन उडाउने थियो, प्रमोद भन्छन्, ‘स्कुल पढ्दा साथीहरुले के बन्ने भन्दा मैले पाइलट बन्छु भन्थे ।’
दु:खले बनेका पाइलट
आर्थिक रूपमा कमजोर परिवारमा हुर्किएका प्रमोदको पाइलट बन्ने सपना सजिलै सम्भव भएको भने होइन । छोरालाई पाइलट बनाउन पठाउँदा बुबाआमाले गाउँमा अनेकौं दुःख गरे ।
‘त्यो दुःख अहिले सम्झिँदा भन्दा पनि छोरा ठाउँमा पुगिसकेपछि सबै खुसियाली नै खुसियाली हुन्छ,’ विष्णु भन्छन्, ‘मैले पनि आँट नगरेको, हिम्मत नगरेको भए सायद त्यो ठाउँमा मेरो छोरा पुग्न सक्ने थिएन ।’
प्रमोदका बुवा विष्णु गाउँमा तरकारी र सिजन अनुसारको बाली उब्जाउँछन् । आफ्नो जग्गा धेरै नभएका कारण जग्गा ठेक्का लिएर खेती गर्छन् । परिवार चलाउने मुख्य आधार कृषि नै हो ।
‘धान खेती गर्छु, सिजनअनुसार गहुँ, मकै अनि तरकारी खेती गर्छु,’ उनी भन्छन्, ‘तरकारी खेती लगभग एक बिघामा गर्छु । खेतीमा कहिले फाइदा हुन्छ, कहिले फाइदा नभए पनि पूँजी मात्रै पनि निस्किन्छ ।’
छोराले रहर गरेपछि विष्णुले दुःख गरेर पाइलट पढ्न ६ वर्षअघि साउथ अफ्रिका पठाए । कोरोना महामारीको समय भएका कारण उनलाई पढाई खर्च जुटाउन धेरै गाह्रो भयो । खर्च जुटाउन गाउँमा ऋण काढे, आफ्नो जग्गा बिक्री गरे ।
प्रमोदकी आमा लालसरीका अनुसार क्षमताले नभ्याउने कुरा सुनाएपछि छोराले पढ्ने विषयमा निर्णय गर्न एक साता समय मागेका थिए । एक साताको समयपछि उनले आमालाई भने,‘म त पाइलट नै पढ्छु ।’
आमा लालसारीले पढाउने सोर्स के छ र हाम्रो भनिन् । आमाको आसय बुझेर उनले भनेका थिए, ‘यो त भाग्यको कुरा हो ।’
छोरोले इच्छा गरेपछि विष्णुले श्रीमती लालसरीलाई भने, ‘१-२ बिघा जग्गा छ, म सुकुमवासी भए पनि छोरोको इच्छा पूरा गर्छु ।’
अनि ऋण खोजेर उनले छोरालाई पाइलट पढाउन साउथ अफ्रिका पठाए । ‘छोरोको पाइलट पढ्ने इच्छा थियो । मैले पनि अलिकति आँट गर्दिएँ । आँट गर्ने कुरा मेरो क्षमता थिएन,’ विष्णु भन्छन्, ‘मसँग पैसा थिएन, ऋण गरेर साउथ अफ्रिका पठाएँ ट्रेनिङको लागि ।’
विष्णुले छोरालाई पाइलट पढाउनका लागि अनेक दुःख गरे । ६०-६५ लाख रुपैयाँ खर्च भयो । छोरालाई पढ्न पठाउँदा ऋणबाटै खर्च जुटाए, पछि जग्गा बेचेर तिरे । सबै ऋण अझै तिरिसकेका छैनन् ।
‘खेती किसानीसँग कहाँबाट पैस हुन्छ ? बुबाले (श्रीमान्) खोजेर पैसा जोहो गरिदिनु भयो,’ लालसरीले भनिन्, ‘छोरो एक्लै गयो, पढेर आयो ।’ अफ्रिकाबाट पाइलट पास गरेको खबर छोराले सुनाएपछि घरमा खुसीको सीमा रहेन । छोराको सपना पूरा हुँदा लालसरीका आँखा रसाए । नेपाल फर्किएपछि उनले बुद्ध एयरमा काम पाए । त्यो परिवारका लागि दोस्रो खुसीको क्षण थियो ।
विष्णु बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतसँग खुसी छन् । उनी भन्छन्, ‘हामी जस्तो तल्लो वर्गका मानिसका सन्तानलाई उहाँले अवसर दिनुभयो ।’
विष्णुले धेरै पढेका छैनन् । तर पढाइको महत्व बुझेका कारण छोराछोरीले रोजेको विषष पढाए । ‘संघर्ष र दुःख गरे ठाउँमा पुगिँदो रहेछ,’ विष्णु भन्छन्, ‘मैले नपढे पनि छोराछोरीलाई पढाएँ, हामीले दुःख गर्यौ, हाम्रो जस्तो दुःख छोराछोरीलाई नहोस् ।’
विष्णु उराउले तीन सन्तानमध्ये दुईलाई आफूले रोजेको पेसामा लगाइसके । छोरा पाइलट छन् । छोरी नर्स हुन् । कान्छो छोरा स्कुल पढ्दै छन् । कान्छो छोरालाई पनि रोजेकै विषय पढाउने उनको चाहना छ । ‘हामीले दुःख गरे पनि छोराछोरी ठाउँमा पुगेका छन्, खुसी छौँ,’ लालसरी भन्छिन्, ‘जहाँ जाँदा पनि शिर उठाएर जान्छौं ।’
प्रतिक्रिया 4