
२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ ।
विद्यार्थीको सहभागिताविनै सिनेट बैठक बालुवाटारमा बोलाइएको नेविसंघको भनाइ छ ।
प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले भनेको छ– विद्यार्थीको सहभागिता बिना हुने कुनैपनि निर्णय विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान हो । यसले विश्वविद्यालयमा लोकतान्त्रिक मूल्य र विधिको खिल्ली उडाएको छ ।
असार २६ गते बालुवाटारमा तय गरिएको सिनेट बैठकमा विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई सहभागी नगराइएको भन्दै संघले बैठकलाई अमान्य ठहर गर्दै तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।
त्यस्तै, नेविसंघले हस्ताक्षर अभियानमार्फत विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न विद्यार्थी समुदायले उठाएको आवाजलाई बेवास्ता गर्दै सिफारिसको भरमा उपकुलपति नियुक्त गरिएको भन्दै यसलाई पनि निन्दनीय र अलोकतान्त्रिक भनेको छ ।
यसरी विद्यार्थीको आवाज बेवास्ता भएमा चरणबद्ध सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत नेविसंघले दिएको छ ।
प्रतिक्रिया 4