
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रार कार्यालयमा घुस डिल भएको विषय उठाए।
- रिजालले सर्भर डाउनको बहानामा अनलाइन सिस्टम बन्द गरी रकम असुल गरेको भन्ने विषयमा गम्भीर छानबिनको माग गरे।
- उनले छानबिन र कारबाहीको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए।
२७ असार, काठमाडौं । कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्मा उठेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विषय उठेको हो ।
नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणबारे सरकारको ध्यानाकर्षण गरे ।
‘सर्भर डाउनको बाहनामा अनलाइन सिस्टमलाई बन्द गराइ नवीकरण गर्दा र कम्पनी दर्ता गर्दासमेत प्रतिशत तोकेर रकम असुल गर्ने गरेको समाचार अनलाइनखबरले प्रकाशित गरेको छ,’ सांसद रिजालले भने ।
यो विषय गम्भीर रहेको भनेर उनले आपत्ति जनाए । ‘कम्पनी दर्ता गर्दा घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन, कसरी लगानीको वातावरण बन्छ र युवा किन देशमा बस्छन ?’ रिजालको प्रश्न छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेको स्मरण गर्दै रिजालले भने, ‘तर, सिंहदरबारको एक किलोमिटर दुरीमा रहेको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा सर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ ।’
यो विषय छानबिन गर्न उनको माग छ । उनले भनेका छन्, ‘म तुरुन्त छानबिन र कारबाहीको लागि सम्माननीय अध्यक्षज्युमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’
प्रतिक्रिया 4