News Summary
Generated by OK AI. Editorially reviewed.- इटाली क्रिकेट टोली आगामी टी-२० विश्वकपमा पहिलोपटक छनोट हुँदै ऐतिहासिक सफलता हासिल गर्यो।
- अस्ट्रेलियाका पूर्व टेस्ट खेलाडी जो बर्न्सको कप्तानीमा इटालीले युरोप उप-क्षेत्रीय र रिजनल फाइनलमा उत्कृष्ट प्रदर्शन गर्यो।
- जो बर्न्सले आफ्ना दाजुको सम्झनामा इटालीबाट खेल्दै टोलीलाई आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरमा पुर्याए।
२९ असार, काठमाडौं । गएको शुक्रबार इटाली क्रिकेटका लागि एक अविस्मरणीय अनि ऐतिहासिक दिन रह्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट सन् १९९५ मा एसोसियट राष्ट्रको सदस्यता पाएपनि इटाली क्रिकेटको स्तर त्यति माथि थिएन ।
तर एसोसियट मान्यता पाएको ३० वर्षपछि इटालीले अहिलेसम्मै ठुलो उपलब्धि हासिल गर्न सफल भएको छ । इटाली पहिलोपटक आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । यस क्रममा इटालीले एसोसियटकै उत्कृष्ट टोली स्कटल्याण्डलाई नै हराइदियो ।
अघिल्लोपटक २०२३ को छनोट चरणमा स्कटल्याण्डसँग विशाल अन्तरको हार बेहोरेको इटालीले यसपटक सोही टोलीमाथि ऐतिहासिक जित निकाल्दै आफु जस्तोसुकै टिमलाई पनि चुनौती प्रस्तुत गर्न सक्ने प्रमाणित गरेर देखाएको छ ।
त्यसबेला आयरल्याण्डसँग ७ रनको हार र स्कटल्याण्डससँग १५५ रनको फराकिलो हार बेहोरेपछि इटाली सम्भावना नजिक पुगेर पनि सफल हुन सकेन । तेस्रो स्थानमा सीमित रहँदा इटालीको विश्वकपको सपना त्यसबेला अधुरै रह्यो ।
तर २०२५ मा त्यही स्कटल्याण्डलाई हराएर इटालीले इतिहास रच्यो । त्यति मात्र नभएर अब इटालीको टोली २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्न जाँदैछ ।

यो सबै सफलताको पछाडि सबै खेलाडीको त्यति नै महत्वपूर्ण योगदान छ । त्यसमा पनि नेतृत्वायी भूमिकामा रहेका अस्ट्रेलियाका पूर्व टेस्ट खेलाडी जो बर्न्सको कप्तानीमा यो सफलता हासिल गर्नु अझै उत्कृष्ट पक्ष रह्यो ।
व्यक्तिगत पीडाबाट प्रेरणाको कथा बनेका बर्न्स अहिले इटाली क्रिकेटको अनुहार मात्र होइन, आत्मा नै बनेका छन् ।
व्यक्तिगत पीडाबाट प्रेरणादायी नेतृत्वसम्म
सन् १९८९ मा अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यमा जन्मिएका बर्न्सले घरेलु क्रिकेटमा क्वीन्सल्याण्डको टोलीबाट खेले । त्यस्तै उनले अस्ट्रेलियाका लागि २३ टेस्टमा १४४२ रन बनाएका छन् ।
तर सन् २०२४ मा उनको जीवनमा ठुलो मोड आयो । अस्ट्रेलियामा निरन्तर फर्म नदेखाउँदा उनलाई घरेलु टोली क्वीन्सल्याण्डको अनुबन्ध सूचीबाट हटाइयो । त्यसको केही महिनामा उनका दाजु डोमिनिक बर्न्सको असामयिक निधन भयो ।
डोमिनिक एक क्लब स्तरको उत्साही खेलाडी थिए । उनले ‘नर्दन फेडरल्स’ टोलीका लागि ८५ नम्बरको जर्सी लगाउँथे, जुन् उनको जन्मवर्ष (१९८५) को पनि प्रतीक थियो ।
दाजुको मृत्युले बर्न्सलाई गहिरो भावनात्मक चोट पुर्यायो । तर उनी त्यसबाट पर भागेनन् । बरु खेललाई फेरि जिउने माध्यम बनाए । आफ्ना मावली हजुरबा–हजुरआमाको देश इटालीसँग भावनात्मक नाता जोड्दै उनले नयाँ सुरुवात गरे ।
बर्न्सले इटालीबाट खेल्ने निर्णय गरे र ८५ नम्बरकै जर्सी भिरे- दाजुको सम्झनामा, एउटा अधुरो सपना पुरा गर्न ।
उप–क्षेत्रीय छनोट विजेता देखि विश्वकप डेब्यूसम्म
टी–२० विश्वकपको यात्रा इटालीले युरोप उप–क्षेत्रीय छनोट ‘ए’ समूह बाट सुरु गर्यो । यहाँ उनीहरूले फ्रान्स, आइल अफ म्यान, लक्जेम्बर्ग र टर्कीलाई पराजित गरे । फाइनलमा रोमानियालाई हराएर उप–क्षेत्रीय उपाधि जितेपछि इटालीले युरोप क्षेत्रीय फाइनलको टिकट काटेको थियो ।
क्षेत्रीय फाइनलमा भने चुनौती धेरै कठिन थियो । स्कटल्याण्ड र नेदरल्याण्ड्सजस्ता बलियो टोलीसँग भिड्नुपर्ने थियो । तीबाहेक जर्सी र ग्वेर्नसी पनि थिए, जसलाई पनि कमजोर पक्कै मान्न सकिन्नथ्यो ।
बर्न्सको टोलीले यस चरणमा पनि प्रभावशाली प्रदर्शन गर्यो । स्कटल्याण्ड र ग्वेर्नसीलाई हरायो, भने नेदरल्याण्ड्ससँग हार बेहोर्नुपर्यो । जर्सीसँगको खेल वर्षाका कारण रद्द भयो ।
विशेषगरी नेदरल्याण्ड्ससँगको अन्तिम खेल निर्णायक बनेको थियो । त्यसअघि स्कटल्याण्ड जर्सीसँग पराजित भएर बाहिरिसकेको थियो जतिबेला एक नयाँ टोली विश्वकपमा पुग्ने पक्का भइसकेको थियो ।

इटालीले नेदरल्याण्ड्सलाई हराएमा जर्सी र इटाली दुवै विश्वकपमा पुग्ने थिए । त्यस्तै तोकिएको ओभरभित्र नेदरल्याण्ड्सले इटालीलाई हराएमा नेदरल्याण्ड्सले जर्सीलाई पनि सँगै लान सक्थ्यो ।
तर इटालीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेदरल्याण्ड्सले १५ ओभरभन्दा ढिला पूरा गर्यो र हारका बाबजुद पनि इटाली जर्सीभन्दा नेट रनरेटमा अघि रहँदै विश्वकपमा छनोट भयो ।
टाली र जर्सीको समान ५ अंक भएपनि इटालीको नेट रन रेट उच्च थियो। यही कारण उनीहरू प्रतियोगिताको दोस्रो स्थानमा रहँदै टी–२० विश्वकपको लागि छनोट हुन सफल भए।
यो ऐतिहासिक सफलतापछि इटाली २५औं देशका रूपमा टी–२० विश्वकपमा पुग्ने राष्ट्र बन्यो ।
कप्तानको रूपमा जो बर्न्स केवल खेलाडीको भूमिकामा सिमित रहेनन् । उनले इटाली क्रिकेटमा आत्मविश्वास, अनुशासन र अन्तर्राष्ट्रिय सोच ल्याए । उनका प्रदर्शनहरू प्रेरणादायी मात्र होइन, निर्णायक पनि बने ।
उप–क्षेत्रीय फाइनलमा रोमानियाविरुद्ध उनले ५५ बलमा अविजित १०८ रन बनाएका थिए । रिजनल फाइनलमा ब्याट त्यति नचले पनि उनी कप्तानीमा अब्बल देखिए ।
बर्न्सका लागि यो यात्राले उनका दाजुको सम्झनालाई जीवन्त बनाएको छ। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो केवल खेल होइन, यो परिवारको सम्झना, जरा प्रतिको सम्मान र त्यो भावना हो, जुन हामीभन्दा पर पनि बाँकी रहनेछ ।’
बहुसांस्कृतिक टोली, साझा सपना
जो बर्न्सको नेतृत्वमा इटाली क्रिकेट एकजना कप्तानको भरमा चलेको होइन—यो विविध संस्कृति र मुलुकबाट आएका खेलाडीहरूको मेल हो । टिम इटालीमा अधिकांश खेलाडीहरू इटालीमै स्थायी रूपमा बसोबास गरिरहेका भए पनि उनीहरूको जन्म र हुर्काइ भिन्न देशहरूमा भएको छ ।
ह्यारी र बेन मानेन्ती अस्ट्रेलियामै जन्मेका थिए र उतैबाट क्रिकेट खेलेका थिए । जसप्रीत सिंह भारतमा जन्मिएका थिए र पछि इटाली आए । ग्रान्ट स्टुअर्ट, अर्का अस्ट्रेलियाली, उत्कृष्ट बलर र उपयोगी ब्याटर हुन् । जियान पेरो मीड दक्षिण अफ्रिकाबाट आएका हुन् भने एमिलियो गे इङ्ल्याण्डमा हुर्केका ब्याटर हुन्, जसले स्कटल्याण्डविरुद्ध २१ बलमा ५० रन बनाएका थिए ।
यी सबै खेलाडीहरू अहिले इटालीमा स्थायीत्व कायम गर्दै राष्ट्रिय जर्सीमा आत्मगौरवका साथ खेलिरहेका छन् । उनीहरूले इटाली क्रिकेटमा विविधता, अनुभव र शक्ति थपेका छन् ।
ह्यारी मानेन्तीले १८ खेलमा ३४ विकेट र ३२० रन जोड्दै उत्कृष्ट प्रदर्शन गरे भने उनका दाजु बेनले ४१ खेलमा ३३ विकेट लिएका छन् ।
युवा ओपनर एमिलियो गेको आक्रामक खेलशैली टोलीको गति बढाउने एउटा बलियो पक्ष बनिसकेको छ । त्यस्तै, फास्ट बलर थोमस ड्राकाले आफ्नो तीव्र गतिका बलिङमार्फत क्यानडामा चम्किलो प्रदर्शन गरेका थिए ।
अबको अध्याय : विश्वमञ्चमा इटाली
इटाली अब पहिलोपटक टी–२० विश्वकपको रंगमञ्चमा पुग्नेछ । भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा उनीहरू उत्साहपूर्वक प्रस्तुत हुनेछन् । यस क्रममा टेस्ट राष्ट्रसँग पनि इटालीको भेट हुनेछ ।
इटालीको क्रिकेट संरचनामा पनि क्रमशः सुधार देखिएको छ । रोमको रोमा क्रिकेट ग्राउन्ड, सिमार क्रिकेट ग्राउन्ड, कावानो स्पोर्ट्स सेन्टर, दोझा स्पोर्ट्स सेन्टर जस्ता मैदानहरूले अभ्यास र घरेलु क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
जो बर्न्सले इटालीमा मात्र होइन, विश्व क्रिकेटमै एउटा सन्देश दिएका छन्—सपना, परिवार र सम्मानले प्रेरित यात्रा कति शक्तिशाली हुन सक्छ । आफ्नो दाजुको सम्झनालाई बलिदानको रूपमा प्रस्तुत गर्दै, उनले एउटा नयाँ राष्ट्रलाई विश्वकपको मञ्चमा पुर्याए ।
इटालीको यो सफलता केवल क्रिकेटको मात्र सफलता नभएर भावनाको विजय, नेतृत्वको मूल्य र संघर्षबाट जन्मिएको प्रेरणा हो । जब इटाली पहिलोपटक विश्वकपको मैदानमा प्रवेश गर्दैछ, उनीहरू केवल खेल्न मात्र नभएर एक गहिरो कथा बोकेर संसार सामु उभिनेछन् ।
र, त्यस कथाको मुख्य पात्र हुनेछन्—जो बर्न्स ।
प्रतिक्रिया 4