+
+
Shares

पुल्चोकसहित ५ वटा इन्जिनियरिङ क्याम्पस किन ठप्प ?

पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसको पठनपाठन ५ दिनदेखि ठप्प छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते २२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पाँच क्याम्पसमा शिक्षकहरूले आर्थिक स्वायत्तता कटौतीको विरोधमा पठनपाठन पाँच दिनदेखि ठप्प पारेका छन्।
  • शिक्षकहरूले विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता र आर्थिक, शैक्षिक, प्रशासनिक हस्तक्षेप खारेज गर्न माग गरेका छन्।
  • उपकुलपति दीपक अर्यालले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् र क्याम्पस प्रमुख सञ्जय उप्रेतीले छिट्टै पठनपाठन पुनः सुरु हुने आशा व्यक्त गरेका छन्।

२९ असार, काठमाडौं । त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूको शैक्षिक गतिविधि ठप्प भएको छ ।

केन्द्रले इन्जिनियरिङ अध्ययन संस्थानको अधिकार खोसेको भन्दै शिक्षकहरूले ५ वटा क्याम्पसको पठनपाठन रोकेका छन् ।

पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसको पठनपाठन ५ दिनदेखि ठप्प छ ।

‘इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यायलको आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकार ऐन विपरीत केन्द्रले कटौती गरेकाले पठनपाठन ठप्प भएको हो । २०८० सालदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएका थियौं । सुनुवाइ नभएपछि अहिले पठनपाठन नै रोक्न बाध्य भएका हौं,’ त्रिवि प्राध्यापक संघ पुल्चोक क्याम्पसका सहसचिव रोशन कार्कीले भने ।

२०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालदन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती गर्दा अध्ययन संस्थान समस्यामा परेको कार्कीले बताए ।

शिक्षक कर्मचारीले दुई बुँदे माग राखेका छन् । पहिलो माग इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित हुनुपर्ने छ ।

दोस्रो माग संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने छ । विकेन्द्रीकरणको नियम अनुसार अध्ययन संस्थानले दुई वटा तरिकाले विद्यार्थी भर्ना लिने गरेको थियो ।

‘तिमी आफैं कमाउ भनेर विकेन्द्रीकरणले दिएको अधिकार हो । त्यसैले दुई तरिकाले विद्यार्थी भर्ना लिन्छौं । एउटा रेगुलर स्किमको हो । जसमा छात्रवृत्तिको हुन्छ, थोरै पैसा तिरे पुग्छ । अर्को पूरै पैसा तिर्ने हो, प्राइभेट जस्तो हुन्छ । यसमा २० प्रतिशत त्रिविलाई पठाउनु पर्ने हुन्छ,’ कार्कीले भने ।

उनका अनुसार २० प्रतिशत त्रिविलाई पठाएपछि बचेको ८० प्रतिशत इन्जिनियरिङ अध्ययन संस्थानले आफ्नो सुदृढीकरणमा खर्च गर्न पाउने हो । तर, २०८० को सिनेटको बजेटमा कार्यकारीले तोकेभन्दाको आर्थिक अधिकार कटौती गर्ने भनेर आयो ।

‘त्रिविको रातो किताबको नियम विपरीत बजेट वक्तव्य आयो । पैसा उठाउ तर खर्च कसरी गर्ने, कहाँ गर्ने सोधेर मात्र गर्न भनियो । यो रातो किताबमा रहेको विकेन्द्रीकरणको नियम विपरीत हो । अध्ययन संस्थानको स्वायत्ततामाथि प्रहार भयो,’ कार्कीले भने, ‘पूरै पैसा तिरेर पढ्ने विद्यार्थीबाट उठेको पैसाले संस्थानले स्ववियुलाई २ प्रतिशत, रिसर्च र भौतिक संसरचनामा खर्च गर्ने गरेको छ ।’

स्थायी शिक्षकहरूको तलबबाहेक अन्य सम्पूर्ण खर्चहरू संस्थाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।

त्रिविबाट हुनुपर्ने स्थायी पदपूर्तिसमेत लामो समयसम्म नभएर अपूग शिक्षक कर्मचारीहरू आन्तरिक करारमा नियुक्त गर्नु पर्ने बाध्यता संस्थानको रहेको शिक्षकहरू बताउँछन् ।

संस्थान आफैंले गर्दै आएको खर्च पनि माथि केन्द्रमा सोधेर मात्र गर्नुपर्ने भएपछि शिक्षकहरू आन्दोलित भएका हुन् ।

‘५ वटै आंगिक क्याम्पसहरू ठप्प छ । शिक्षकहरू राजीनामा बुझाउन थाल्नु भएको छ । २ वर्षदेखि आन्दोलन गर्दा पनि सुनुवाइ भएको छैन,’ उनले भने, ‘आफूले कमाएको अध्ययन संस्थानले नै खर्च गर्न पाउनु पर्छ ।’

आन्दोलित शिक्षकहरूले उपकुलपति प्रा.डा. दीपक अर्याललाई भेटेर ध्यानकर्षण पनि गराएका छन् ।

‘उपकुलपतिलाई आजै भेटेर समस्या सुनाएका छौँ । उहाँले आजदेखि प्रशासनिक काम पनि सुरु गरिसक्नु भएको छ । बुझेर समस्या समाधान गर्छु भन्नु भएको छ,’ कार्कीले भने ।

शिक्षकहरूले नै क्याम्पस ठप्प पार्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन स्ववियुका अध्यक्ष स्वयं श्रेष्ठसहितको टोलीले पनि उपकुलपति अर्याललाई भेटेर पठनपाठन प्रभावति भएकाले सहजीकरण गरी समस्या समाधान गर्न आग्रह गरेको छ । क्याम्पस प्रमुख सञ्जय उप्रेती छिटै समस्याको समाधान हुने बताउँछन् ।

‘पठनपाठन छिटै हुनेमा आशावादी छौँ । शिक्षकसाथीहरूले भीसीसँग कुरा गर्नुभएको छ । सकारात्मक कुरा भइरहेको छ,’ उप्रेतीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?