+
+
Shares

पदमुक्त भएपछि राजनीति छाड्छन् बेलायतका प्रधानमन्त्रीहरू

पदमुक्त भएपछि बेलायती प्रधानमन्त्रीहरूको कुनै निश्चित भूमिका हुँदैन । धेरै जना संसद सदस्यको रूपमा रहन्छन् । अरूको नेतृत्वमा रहेको सरकारमा सेवा गर्न फर्किएका केही उदाहरणबाहेक धेरैजसो आफ्नै निजी कर्ममा रमाइरहेका छन् ।

नवीन पोखरेल नवीन पोखरेल
२०८२ असार ३० गते ९:३०

३० असार, लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक गत साता अमेरिकी बहुर्राष्ट्रिय बैंक गोल्डम्यान स्याक्स समूहको वरिष्ठ सल्लाहकार नियुक्त भए ।

राजनीतिमा प्रवेश गर्नुअघि सन् २००० दशकको शुरुमा सुनक यही बैंकमा एउटा विश्लेषकको जिम्मेवारीमा थिए ।

कम्पनीले भनेको छ, ‘जुलाई २०२४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका सुनकले विश्वव्यापी राजनीति र अर्थतन्त्रमा आफ्नो ‘अद्वितीय दृष्टिकोण र अन्तर्दृष्टि’ सहित बैंकका ग्राहकलाई सल्लाह दिने पार्टटाइम काम गर्नेछन् ।’

सन् २०२२ अक्टोबरदेखि सन् २०२४ जुलाईसम्म करिब २० महिना बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी वहन गरेका भारतीयमूलका सुनक अहिले योर्कसायरको रिचमन्ड एण्ड नर्थअलर्टनका लागि कन्जरभेटिभ सांसद पनि हुन् ।

गोल्डम्यान स्याक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी डेभिड सोलोमनले आफ्नो फर्ममा सुनकलाई फेरि स्वागत गर्न पाउँदा उत्साहित रहेको बताएका छन् ।

उनले विश्वभरका ग्राहकहरूलाई सल्लाह दिनुका साथै निरन्तर सिकाइ र विकासको संस्कृतिमा योगदान पुर्‍याउने सोलोमनको विश्वास छ ।

सुनकको तलब उनको एउटा च्यारिटी संस्था द रिचमन्ड प्रोजेक्टलाई प्रदान गरिने छ ।

पदमुक्त भएपछि बेलायती प्रधानमन्त्रीहरूको कुनै निश्चित भूमिका हुँदैन । धेरै जना संसद सदस्यको रूपमा रहन्छन् । अरूको नेतृत्वमा रहेको सरकारमा सेवा गर्न फर्किएका केही उदाहरणबाहेक धेरैजसो आफ्नै निजी कर्ममा रमाइरहेका छन् ।

पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले सन् २०१६ मा एक गैर–नाफामुखी संस्था टोनी ब्लेयर इन्स्टिच्यूट (टीबीआई) स्थापना गरे जसलाई टोनी ब्लेयर इन्स्टिच्यूट फर ग्लोबल चेन्जबाट पनि चिनिन्छ ।

ब्लेयरले प्रधानमन्त्रीको रूपमा टेन डाउनिङ स्ट्रिटका केही सय कर्मचारी र एउटा देशको निरीक्षण गरे । तर, अहिले उनी लगभग ४५ बढी देशमा उनको नीतिलाई अगाडि बढाउन मद्दत गर्ने ९०० बढी कर्मचारीको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।

ब्लेयरको निर्देशनमा टीबीआईले विश्वभरका राजनीतिक नेताहरूसँग मिलेर आफ्ना जनताका लागि वास्तविक परिवर्तन ल्याउन रणनीति, नीति र प्रवाहमा सल्लाह दिने गरेको छ ।

नम्बर टेन छाडेदेखि पूर्व प्रधानमन्त्री ब्लेयर अझ शक्तिशाली बनेका कतिपयको विश्लेषण छ जुन पछिल्ला केही वर्षमा संस्थाको आकार र राजस्वमा वृद्धिबाटै पुष्टि हुन्छ ।

टीबीआईले सन् २०२१ मा ८१ मिलियन डलर (६५ मिलियन पाउण्ड) भन्दा बढी राजस्व कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशत बढी हो ।

सन् २०१० देखि २०१६ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका डेभिड क्यामरुन ऋषि सुनकको पालामा विदेशमन्त्री भएर पनि काम गरे ।

पूर्व प्रधानमन्त्री सर एलेक डगलस–होमले सन् १९७० देखि १९७४ सम्म यो भूमिका सम्हालेयता क्यामरुन प्रधानमन्त्रीबाट विदेशमन्त्रीका रूपमा सेवा गर्ने पहिलो पूर्वप्रधानमन्त्री पनि बने ।

‘नेपालका नेताहरूमा अध्ययन-अनुसन्धान गर्ने क्षमताको अभाव र राजनीति बाहिर बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास नभएको हुनाले यस्तो स्थिति आइपुगेको हो,’ डा. सुवेदीको भनाइ छ ।

डेभिड क्यामरुन कानुन फर्म डीएलए पाइपरमा सल्लाहकारको रूपमा सामेल हुन वार्तामा छन् भन्ने चर्चा भइरहेको छ ।

पूर्वप्रधानमन्त्री क्यामरुनले भूराजनीतिक जोखिमहरूमा फर्मलाई मद्दत गर्न सल्लाहकार पद लिने बारेमा छलफल गरिरहेको बताइएको थियो ।

फाइनान्सियल टाइम्सले विश्वको तेस्रो ठूलो कानुन फर्म डीएलए पाइपरमा क्यामरुनको भूमिका कम्पनीको तर्फबाट पैरवी गर्न नहुने उल्लेख गरेको थियो ।

यो काम क्यामरुनको हाल भइरहेको पोर्टफोलियो अतिरिक्त हुनेछ । उनी एक निजी इक्विटी फर्म फिनब्याक इन्भेस्टमेन्ट पार्टनर्स र हेज फण्ड क्याक्सटन एसोसिएट्सको सल्लाहकारको रूपमा पनि काम गर्छन् ।

उनी पे कार्गो एलएलपी नामक भुक्तानी फर्मको सल्लाहकार बोर्डको अध्यक्षता पनि गर्छन् । सेप्टेम्बर ६, २०२२ मा प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएपछि लिज ट्रस डाउनिङ स्ट्रिट प्रवेश गरिन् ।

ट्रसले प्रधानमन्त्रीको भूमिका ग्रहण गरेपछि देशको तेस्रो महिला सरकार प्रमुख बन्दा चर्चा पनि उल्लेख्य भयो । उनले राष्ट्रका चुनौतीहरूको साहसपूर्वक सामना गर्ने वाचा पनि गरिन् ।

तर, दुर्भाग्य उनी सबैभन्दा छोटो समय सेवा गर्ने बेलायती प्रधानमन्त्री बनिन् । ४५ दिनमै उनले राजीनामा दिनु परेको थियो । यसअघि सन् १८२७ मा पदमै छँदा मृत्यु भएका जर्ज क्यानिङ ११९ दिनमात्र प्रधानमन्त्री बनेका थिए ।

लिजको राजीनामा कारण थियो, उनको समर्थनमा अर्थमन्त्री क्वासी क्वार्टेङले ४५ अर्ब पाउन्ड कर कटौती घोषणा गर्नु ।

तर उक्त योजना पाउन्डको मूल्य घटाउन र वित्तीय बजारमा त्रास फैलाउन कारक रहेको दोष लगाइएको थियो। अनि सबै घोषणा उल्टाएर क्वार्टेङलाई अर्थमन्त्री (चान्सलर) पदबाट बर्खास्त गरियो ।

अहिले लिज ट्रसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म सुरु गर्ने तयारी गरिरहेकी बेलायती अखबारहरूले उल्लेख गरेका छन् । किनकि उनले बेलायतमा ‘डिप स्टेट’ र मूलधारका मिडियाले अभिव्यक्ति स्वतन्त्रतालाई दबाइरहेका दाबी गर्दै आएकी थिइन् ।

पूर्वप्रधानमन्त्री ट्रसले उक्त सामाजिक सञ्जाल प्लेटफर्म यही गर्मी याममा सुरु हुने बताएकी थिइन्। यो बेलायतमा कट्टर दक्षिणपन्थीको अग्रणी व्यक्तित्व बन्ने उनको पछिल्लो प्रयास ठानिएको छ जसले डोनाल्ड ट्रम्प र एलोन मस्कको अमेरिकामा राज्य खर्च घटाउने अभियानलाई खुलेआम समर्थन गरेको घोषणा गरेकी थिइन् ।

आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म सिर्जना गर्ने उनको प्रयास ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपद्वारा सञ्चालित डोनाल्ड ट्रम्पको ट्रुथ सोसलकै सिको जस्तो देखिन्छ ।

बेलायतका राजनीतिक व्यक्तित्वहरूले आफ्नै सामाजिक सञ्जाल सुरु गर्ने प्रयास गरेको ‘ट्र्याक रेकर्ड’ उत्साहजनक छैन । पूर्व स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले सन् २०२३ मा आफ्नै म्याट ह्यान्कक एप बन्द गरे, जुन पाँच वर्षअघि ‘स्वस्थ, खुला र निष्पक्ष बहसलाई प्रवर्द्धन’ गर्न सुरु गरिएको थियो ।

फरक छ नेपाली दृश्य

नेपालको तुलना गर्ने हो भने अवस्था ठीक विपरीत छ । जस्तो- ७९ वर्ष पुगेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भइसके तर उनी विश्राम लिने मुडमा छैनन् । बरु केपी ओलीसँग प्रधानमन्त्री पद लिने पालो पर्खेर बसिरहेका छन् उनी ।

केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल लगायत अरु जो सुकै होस्, सत्तामा पुग्न पाए जस्तोसुकै गोटी चाल्न पनि तम्तयार देखिन्छन् । उनीहरूमा नयाँ पुस्ताप्रति न विश्वास छ, न अवसर दिने चाहना ।

लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले बेलायती विदेशमन्त्रीको सल्लाहकार समितिमा रहेर काम गरिसकेका छन् ।

डा. सुवेदी राजनीतिलाई सेवाभन्दा पेशा र आजीवन जागिरको रूपमा हेर्ने र आफ्नो पदलाई राज्यको दोहन गर्ने मौका ठान्ने प्रवृत्तिले नेपालका नेताहरू जिन्दगीभर शासन सत्ताको वरिपरि घुमिरहन लोभिएका विश्लेषण गर्छन्।

‘नेपालका नेताहरूमा अध्ययन-अनुसन्धान गर्ने क्षमताको अभाव र राजनीति बाहिर बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास नभएको हुनाले यस्तो स्थिति आइपुगेको हो,’ डा. सुवेदीको भनाइ छ ।

विकसित मुलुकहरूमा सामान्यतया जिन्दगीमा कुनै ठूला उपलब्धि हासिल गरेपछि सेवा भावनाले अब्बल दर्जाका मानिसहरू राजनीतिमा आउने चलन छ । तर, नेपालमा राजनीतिले अब्बल दर्जाका मानिसहरूलाई आकर्षण गर्न नसकेपछि नियति यस्तै हुने सुवेदीको धारणा छ ।

‘यही कारण बुढा-पुराना नेताले युवा नेताहरूलाई कजाइरहने स्थिति आएको हो,’ उनले भने ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?