
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्गानिक खाना खान सुझाव दिएका छन्।
- उनले त्रिवि शिक्षण अस्पतालमा भवन हस्तान्तरण कार्यक्रममा तीन विषयमा ध्यान दिए स्वस्थ रहन सकिने बताए।
- प्रधानमन्त्री ओलीले चिकित्सकहरूलाई पनि आफ्नो स्वास्थ्यमा ध्यान दिन व्यायाम र प्राणायाम गर्न आग्रह गरे।
३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्गानिक खाना खान सुझाव दिएका छन् ।
सोमबार भाटभटेनी समूहद्वारा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई अर्गानिक खाना खान सुझाव दिएका हुन् ।
‘खानपिन स्वस्थ हुनुपर्छ । स्वास्थ्यका लागि खाना हुनुपर्छ । स्वास्थ्यलाई नोक्सान नगर्ने अर्गानिक खाना हुनुपर्छ’ उनले भने, ‘काम गरेन र अल्छी भयो भने खाना पच्दैन, रोग लाग्न थाल्छ । पाचन प्रणाली ठिक राख्न काम गर्नुपर्छ ।’
उनले तीन विषयमा ध्यान दिए स्वस्थ रहन सकिने बताए । ‘खानपिनमा ध्यान दिनुपर्छ, काममा ध्यान दिनुपर्छ, आराममा ध्यान दिनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै निरोगी नेपालको नारा दिएको स्मरण गराए ।
‘नेपाल सरकारले अघिल्लोपटक नै म प्रधानमन्त्री हुँदा, निरोगी नेपालको नारा दिएको थिएँ । निरोगी नेपालका दुई वटा पक्ष छन् । एउटा मानिसहरूलाई बिरामी नै पर्न नदिने, बिरामी नपर्ने र नहुने अवस्था सिर्जना गर्ने पहिलो कुरा, अस्पताल भन्दा पहिला त मान्छे निरोगी बनोस्,’ उनले भने ।
उनले थपे, ‘अहिलेको समय यस्तो भइरहेको छ, निरोगी नहुने सम्भावनै नदेखिएको जस्तो भएको छ । यस स्थितिमा सुधार गर्नुपर्नेछ ।’
उनले चिकित्सकहरूलाई पनि अरूको उपचार मात्रै गर्ने नभई आफ्नो स्वास्थ्य पनि ठिक राख्न व्यायाम, प्राणायाम गर्न आग्रह गरे ।
‘डाक्टरसाबहरूलाई पनि मेरो सुझाव छ । अरूको उपचार गर्ने मात्रै होइन, आफू पनि स्वस्थ रहनुस् । व्यायाममा ध्यान दिनुहोला । योग गर्नुभयो भने धेरै राम्रो हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4