
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानको रिभोलुसनरी गार्डसँग निकट फार्स समाचार एजेन्सीले गत महिना इजरायलको आक्रमणमा इरानी राष्ट्रपति मसउद पेजेश्कियान घाइते भएको जनाएको छ।
- इरानले इजरायली एजेन्टहरूको घुसपैठ भएको आशंकामा अनुसन्धान गरिरहेको छ र पेजेश्कियानले इजरायलले आफ्नो हत्या प्रयास गरेको आरोप लगाएका छन्।
- जुन १३ र २२ मा इजरायल र अमेरिकाले इरानका आणविक र सैन्य स्थलहरूमा आक्रमण गरेका थिए, जसलाई आणविक हतियार विकास रोक्ने कदम भनिएको छ।
३० असार, काठमाडौं । गत महिना इरानमाथि इजरायलले गरेको एक आक्रमणमा इरानी राष्ट्रपति मसउद पेजेश्कियान घाइते भएको इरानको रिभोलुसनरी गार्डसँग निकट मानिने फार्स समाचार एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार, इरानले हाल यस घटनामा इजरायली एजेन्टहरूको घुसपैठ भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।
फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखे अनुसार जुन १६ मा इजरायले इरानको राजधानी तेहरानस्थित एउटा गोप्य भूमिगत केन्द्रमा ६ वटा बम आक्रमण भएका थिए ।
त्यस समय राष्ट्रपति पेजेश्कियान त्यहाँ सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सहभागी थिए । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछिको सबैभन्दा ठूलो निर्णय गर्ने निकाय हो ।
केन्द्रमा आक्रमणपछि राष्ट्रपति पेजेश्कियान र अन्य सदस्यहरू आपत्कालीन सुरुङबाट बाहिर निस्कने क्रममा खुट्टामा चोट लागेको थियो ।
इजरायलको आक्रमणबाट इरानी राष्ट्रपति सामान्य घाइते भएको भन्ने फार्स एजेन्सीको यो रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । इजरायलले पनि यस विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । यद्यपि इरानले घुसपैठ भएको हुनसक्ने आशंकामा आन्तरिक अनुसन्धान गरिरहेको छ ।
इजरायलले हत्या प्रयास गरेको इरानी राष्ट्रपतिको भनाइ
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा उत्तर–पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार आक्रमण भएको देखाइएको थियो । पछि मात्र यी आक्रमणहरू इरानका शीर्ष नेताहरू बैठकमा रहेको गोप्य भूमिगत केन्द्रलाई लक्षित गरिएको खुलासा भएको थियो ।
फार्स एजेन्सीको रिपोर्टअनुसार, इजरायली आक्रमणको क्रममा उक्त केन्द्र भित्र प्रवेश गर्ने र बाहिरिने दुवै बाटालाई निशाना बनाइएको थियो । आक्रमणले उक्त केन्द्रका सबै ६ वटा प्रवेश र निकास बिन्दुहरूका साथै भेन्टिलेसन प्रणाली पनि ध्वस्त भएको छ । केन्द्रको बिजुली पनि काटिएको थियो । तर राष्ट्रपति पेजेश्कियान सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।
गत हप्ता, पेजेश्कियानले इजरायलले आफ्नो हत्या प्रयास गरेको आरोप लगाएका थिए ।
इजरायलले कसरी इरानका शीर्ष अधिकारीहरूको अवस्थिति र संवेदनशील गोप्य सुविधाहरूको बारेमा यति महत्वपूर्ण गुप्तचर जानकारीहरू जम्मा गर्यो भन्नेमा अझै धेरै प्रश्नहरू बाँकी रहेको बीबीसीले जनाएको छ ।
जुन १३ मा, इजरायलले इरानको आणविक र सैन्य स्थलहरूमा अचानक आक्रमण गरेको थियो । जुन २२ मा अमेरिकाको वायुसेना र नौसेनाले तीनवटा इरानी आणविक केन्द्रहरूमा हवाई र मिसाइल आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि उक्त आक्रमणले ती सुविधाहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारेको बताए पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।
इजरायल र अमेरिकाले गरेका आक्रमण इरानलाई आणविक हतियार बनाउनबाट रोक्न चालिएको कदम भनिएको छ । इरानले भने आफूले आणविक हतियार नबनाएको र आफ्नो युरेनियम संवर्धन शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ ।
प्रतिक्रिया 4