+
+
Shares

जबर्जस्ती करणी कि बालविवाह ?

फौजदारी कार्यविधि संहिताको दफा १४० मा तल्लो अदालतबाट मिसिल प्राप्त भएको ६ महिनाभित्र पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

सरस्वती शाह सरस्वती शाह
२०८२ असार ३० गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शाह अधिवक्ताले भद्रगोल कारागारमा रहेका एक कैदीसँग तीन/चार महिना फोन संवाद गरी मुद्दाको पुनरावेदनमा बहस गरे।
  • उच्च अदालत पाटनले मुलुकी अपराध संहिताको दफा २१९ अनुसार मुद्दा सुनुवाइ गरी सजाय कायम गरिदियो र कैदीलाई कारागारबाट छुटाउन सहयोग गरियो।
  • अधिवक्ताले कैदीलाई कानुनी प्रक्रिया र खर्चबारे जानकारी दिएर मुद्दा जितेपछि कैदीलाई कारागारबाट निकाल्न सफल भए।

भद्रगोल कारागारबाट एक साताको फरकमा फोन आउँथ्यो । फोन उठाउनेवित्तिकै पहिलो शब्द सुनिन्थ्यो- दिदी । उसको यो शब्दमा वकिलप्रतिको आसा र भरोसा झल्किन्थ्यो । यो क्रम तीन/चार महिना नै चल्यो ।

फोन उठाएपछि मनमा एक प्रकारको कौतुहल हुन्थ्यो- अब उसले के प्रश्न सोध्ने हो । मसँग ती प्रश्नको पर्याप्त जवाफ छ कि छैन । मैले उसलाई जवाफ दिएर आश्वस्त तुल्याउन सक्छु वा सक्दिनँ ता कि ऊ कारागारमा ढुक्कले निदाउन सकोस् ।

कहिलेकाहीँ ऊसँगको संवाद एकै मिनेटमा सकिन्थ्यो भने कहिलेकाहीँ अलि लामो हुन्थ्यो । उसको पटकपटकको फोनले कयौं समय म आफैं पनि हैरान महसुस गर्थें । तर पनि वकालत पेसाको धर्म नबिर्सी कानुनी उपचारका अनेकौं पाटाहरुको बारेमा सम्झाउने कोसिस गर्थें ।

उसको प्रश्न सधैं एउटै हुन्थ्यो- दिदी म कहिले कारागारबाट निस्कन्छु ? दिदी मैले जबर्जस्ती करणी गरेको हो र ? मैले त उनीसँग प्रेम विवाह गरेको थिएँ ।

म उसलाई सरल भाषामा सम्झाउने कोसिस गर्थें- विवाह गर्न २० वर्ष उमेर नाघेको हुनुपर्छ । केटीको मञ्जुरी चाहिन्छ । विवाहलाई देख्ने/सुन्ने साक्षी प्रमाण हुनुपर्छ । जुन तरिकाबाट विवाह गरी नाबालिका भगायौ, त्यो तरिका गलत भयो । त्यस कारण तिम्रो विवाहलाई काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी भनी त्यसैबमोजिमको सजाय ठहर्‍यायो र तिमी अहिले जेलमा सजाय भोगिरहेका छौ ।

यति सुनेपछि केही समय ऊ चुप हुन्थ्यो र भन्थ्यो- दिदी अब के गर्ने, तपार्इंबाहेक कोही छैन मेरो, तपाईंले जसरी भए पनि मलाई बाहिर निकाल्नुपर्छ ।

उसले अब कहिले फोन गरौं भनेर सोध्थ्यो । तिम्रो मुद्दा पुनरावेदन गरेको हुँदा मुद्दाको पेसी तोकिएपछि बहस पैरवी गर्न जानुपर्छ, त्यसैले एक दिन अगावै फोन गरी खबर गर्नु भनेर त्यस दिनको संवाद अन्त्य गर्थें ।

पुनरावेदन दर्ता गरेको लगत्तै उसले मलाई फोन गर्‍यो । सहोदर दिदीलाई बोलाएझैं दिदी के छ ? कहाँ हुनुहुन्छ ? भनेर सोध्यो । मैले अलि ठूलो स्वरमा भनें- फेरि किन फोन गरेको, अरु कोही छैन फोन गर्ने मान्छे ?

उसले नरम बोली बोल्यो- घरपरिवारमा केही सदस्यले माया गरे तापनि धेरैले यस घटनापछि मलाई घृणा गर्छन् । हप्तामा एक पटक आफन्तलाई फोन गर्न पाइन्छ । त्यसमा तपाईंकै नाम, नम्बर टिपाउने गरेको छु ।

मैल भनें- पेसी चढ्नका लागि केही कार्यविधि हुन्छ । मुद्दाको सुनुवाइ गर्न सुरु अदालतको मिसिल उच्च अदालतले बुझ्नुपर्ने भएकोले पूरै मिसिल आएपछि मात्र मुद्दा पेसीमा चढ्ने हुन्छ ।

बुझेजस्तै गरी उसले फोन राख्यो ।

फोन उठाएपछि मनमा एक प्रकारको कौतुहल हुन्थ्यो- अब उसले के प्रश्न सोध्ने हो । मसँग ती प्रश्नको पर्याप्त जवाफ छ कि छैन । मैले उसलाई जवाफ दिएर आश्वस्त तुल्याउन सक्छु वा सक्दिनँ ता कि ऊ कारागारमा ढुक्कले निदाउन सकोस् ।

फौजदारी कार्यविधि संहिताको दफा १४० मा तल्लो अदालतबाट मिसिल प्राप्त भएको ६ महिनाभित्र पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । सोहीबमोजिम केही दिन पनि नबित्दै पुनरावेदनको सुनुवाइको पेसी तोकिएको खबर उसले पाएछ । र, बिहानै फोन गर्यो ।

मैले हेलो नभन्दै मेरै हातमा उक्त कारागारको साँचो भएझैं गरी अब जसरी पनि आफूलाई बाहिर निकाल्न बिन्ती गर्‍यो । मैले कोसिस गर्छु, सो विषयमा अझै दख्खल भएका साथीभाइलाई पनि मसँग बहसका लागि लैजान्छु भनेर आश्वासन दिँदै फोन काटें ।

पेसीको दिन सदाझैं कालो जुत्ता, कालो कोट, कालो पाइन्ट र सेतो सर्टमा सजिएका हामी तीनजना साथीहरु उच्च अदालत पाटनतिर लाग्यौं । बहसमा हामीले तल्लो अदालतले गरेको निर्णय मनासिव नभएको र पुनरावेदनमा लिइएका जिकिर उपर सुनुवाइ गर्नुपर्ने अवस्थाहरुको विषय उठायौं ।

बहसका क्रममा सोही संहिताको दफा १४० बमोजिम विपक्षीलाई उपस्थित गराइपाउँ भनी निवेदन ग¥यौं । उच्च अदालत पाटनका माननीय न्यायाधिश श्यामकुमार भट्टराई र माननीय न्यायाधीश कैलाशप्रसाद सुवेदीज्यू को सम्मानित बेञ्चले विपक्षीलाई झिकाउने आदेश गरिदिनुभयो ।

उक्त आदेशले केही आशाको किरण देखायो । अन्य दिन उसले फोन गर्दा के भन्ने होला भनी सोच्ने म त्यो दिन कहिले फोन गर्ला भनी प्रतीक्षा गरेर बसें । नभन्दै उसले मलाई ४:३० तिर फोन गर्‍यो । मैले उसलाई सुनाएँ । ऊ मुद्दा जितेझैं उफ्रियो । मैले अब अर्को पेसी तोकेको खबर मिल्ने वित्तिकै फोन गर भनें । उसले धन्यवादको भकारी पस्कँदै फोन काट्यो ।

यही २ असारमा करिब ८ बजेको समयमा सदाझैं कारागारबाट उसको फोन आयो । उसको आवाजमा एक प्रकारको खुसी छचल्किएको थियो । आफू निश्चित स्वतन्त्र हुन्छु भन्ने दृढ विश्वासका साथ ‘३ असारलाई पेसी तोकिएको छ, तपाईं बहस गर्न तयार हुनुहोस् र मलाई छिट्टै यहाँबाट निकाल्नुहोस्’ भन्यो ।

मैले मनमनै सोचें- म पनि यही चाहन्छु । तर मेरो बहसले मात्र कहाँ तिमी छुट्छौ र, यदि न्यायदाताले न्याय दिएनन् भने ।

उसले फोन राख्नै लागेको थियो, मैले खर्चको कुरा कोट्याएँ । बहस त गर्न जाने, अहिलेसम्म खर्चको कुनै व्यवस्था भएको छैन । म वकालत पेसामा छु, एउटा मुद्दाको पेसीका लागि दुई दिन तयारी गर्नुपर्छ । अन्य मुद्दालाई थाती राखेर थुनुवाको मुद्दालाई विशेष ग्राह्यता दिनुपर्ने हुन्छ । मेरो अफिस र त्यसमा जोडिएका अन्य सदस्यप्रति उक्त मुद्दामा खर्चेको समयको जवाफदेही हुनुपर्छ ।

उसले भन्यो- दिदी, ढुक्क भएर मेरो दाजुलाई फोन गर्नुहोला ।

मैले ढिला नगरी उसको दाजुलाई फोन गरें । उसले पनि खुसी हुँदै भाइलाई जसरी निकालिदिनु, खर्चको चिन्ता नलिनु भन्यो ।

त्यस दिन मेरो साथी विक्रम खत्री र भाइ उपेन्द्र रावतलाई पनि खबर गरें, जो पहिलादेखि नै यो मुद्दामा भिजेका थिए । त्यस रात निद्रा राम्रो लागेन । जति कोल्टे फेरे पनि एक प्रकारको छटपटी भइरह्यो । वकिल केवल वकिल नहुँदोरहेछ । कालो कोटले हिम्मत दिएर भावनालाई जति नै छोपिदिए तापनि एक मनुष्यको नाताले वकिलको छातीमा पनि विभिन्न तरंगको छाल उर्लिनै रहँदोरहेछ । पत्तै भएन कुन समयमा निदाएछु ।

दुई वर्षदेखि पढिरहेको मुद्दा पहिले कहिल्यै नपढेझैं गरी पढेर उच्च अदालत पाटन पुगियो । माननीय न्यायाधीशद्वय खडानन्द तिवारी र टीकाराम आचार्यको बेञ्चमा मुद्दा परेको रहेछ । मुलुकी अपराध संहिताको दफा २१९ बमोजिम १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेकोले सोही दफाको उपदफा(घ) बमोजिमको सजाय मागदाबी जाहेरीवालाको थियो ।

मैले उसको शीरमा हात राख्दै ‘अब कहिल्यै कुनै गल्ती नगर्नु’ भनेर आर्शिवाद दिएँ । फर्कंदै गर्दा बाटोमा सोचें- अब मलाई दिदी भनेर त्यो कारागारबाट कसले फोन गर्ला ?

तर, हामीले उक्त मागदाबीबमोजिमको कार्य उसले नगरेको, प्रेम विवाह गरेको तर उक्त विवाह गर्नको निमित्त पीडित भनिएकी बालिकाको उमेर १८ वर्ष नपुगेको, उक्त विवाहमा कोही व्यक्ति साक्षी नभएको, परिवारको स्वीकृति नलिएकोले उक्त जाहेरी परेको निवेदन गर्‍यौं ।

साथै, प्रतिवादीले गरेको कार्य जबरजस्ती करणी नभई ऐ.ऐ संहिताको दफा १७३ ले बन्देज गरेको बालविवाह भई सोहीबमोजिम सजाय हुनुपर्नेमा जाहेरवालाको मागदाबी र सुरु जिल्ला अदालतले जबरजस्ती करणी ठहर्‍याई १२ वर्ष जेल सजाय र क्षतिपूर्ति समेत भराइदिने फैसला उल्टी गरीपाउँ भनी विभिन्न मेडिकल जुरिसप्रुडेन्स, रोमियो जुलियट ल, तथा इन्द्रप्रसाद आचार्य वि. श्री ५ को सरकार (ने.का.प.२०३७, अंक ४, नि.नं. १३६७), ने.का.प. २०५९, अकं ३।४, पृष्ठ १२३, नि.नं. ७०६९ ने.का.प २०८०, अंक १, पृष्ठ नं. १०१, नि.नं. ११०१५ जस्ता उदाहरणीय नजिर तथा सिद्धान्तहरुलाई प्रष्टाउँदै उसले हालसम्म बिताएको कैद सजायलाई यथावत् सजाय कायम गरी मुद्दालाई किनारा लगाउन निवेदन गर्‍यौं । साँच्चै उच्च अदालत पाटनका माननीय न्यायाधीशज्यूहरुले हामीले मागेबमोजिम सजाय कायम गरिदिनुभएछ ।

साँझ उसको दाइको फोन आयो । मैले तिम्रो भाइलाई निकाल्नुपर्छ भनें । उसले दाङबाट आउन ३ दिन लाग्ने बतायो । मैले भनें- अब खर्च पठाऊ, तिमी नआऊ, म निकालेर पठाउँछु ।

उसले अपर्याप्त भए पनि केही रकम पठायो । दौडधुप गर्न मैले काठमाडौं विश्वविद्यालयमा अध्ययनरत भाइ आयुष मिश्रको सहयोग मागें । उसको त्यस दिनको खटाइले सावित ग¥यो, न्याय पेसाप्रति उसको लगाव र झुकाव कति छ ।

उसले भद्रगोल कारागारबाट निकाल्न सहयोग गर्‍यो । त्यसपछि उसलाई बसपार्कसम्म पुर्‍याएर उसैको दाइले पठाएको केही रकम बाटो खर्च दिएर बस चढाएर पठाएँ ।

उसले बिदाइको समयमा दिदी भन्दै मेरो खुट्टा समात्यो । मैले उसको शीरमा हात राख्दै ‘अब कहिल्यै कुनै गल्ती नगर्नु’ भनेर आर्शिवाद दिएँ । बिदाइका क्रममा हात हल्लाएर अद्भूत सन्तुष्टिको श्वास लिँदै गहभरि आँसु लिएर वकिलतामा रहेको मानवताको महसुस गर्दै घर फर्कें । फर्कंदै गर्दा बाटोमा सोचें- अब मलाई दिदी भनेर त्यो कारागारबाट कसले फोन गर्ला ?

(शाह अधिवक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?