
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको चांगचुन छिदु एफसीले विपक्षी टोलीको ड्रेसिङ रूममा खराब आत्माको प्रतीक कागजी आकृति राखेको पाइएपछि ३० हजार युआन जरिवाना गरिएको छ।
- चाइनिज व्यवसायिक फुटबल लिग संस्थाले क्लबले सामन्ती अन्धविश्वासमा आधारित सामग्री प्रयोग गरेको ठहर गर्दै अनुशासन उल्लंघनको कारबाही गरेको छ।
- चांगचुन छिदुले साङ्सीलाई २-० ले पराजित गरेको खेलमा विवाद उत्पन्न भएपछि क्लबमाथि थप प्रश्न उठेको छ।
विपक्षी टोलीको कपडा लगाउने कोठामा खराब आत्माको प्रतीकको रुपमा रहेको कागजी आकृति राख्ने एक चिनियाँ फुटबल टोलीलाई ३० हजार युआन (करिब चा हजार १०० अमेरिकी डलर) जरिवाना गरिएको छ ।
चीनको दोस्रो तहको लिग फुटबल चाइना लिग टूमा खेल्ने क्लब चांगचुन छिदु एफसीले गत जुन २८ मा भएको खेलअघि विपक्षी टोलीको ड्रेसिङ रूममा कागजले बनेका विभिन्न खाले परम्परागत अन्धविश्वासयुक्त सामग्रीहरु राखेको पाइएपछि दोषी ठहर गरिएको छ । सो क्लबका केही सदस्यहरुले खराब आत्माले आफूलाई नभई विपक्षी टिमलाई दुःख देओस् र आफ्नो टिमले खेल जितोस् भन्ने कामना गर्दै विपक्षी टिमको कोठामा त्यस्ता भूत मन्साएका कागजी पर्चाहरु राखिदिएको बताइएको छ।
चिनियाँ सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएका उक्त घटनाका तस्वीरहरूमा पहेंलो कागजमा लेखिएका त्यस्ता पर्चाहरू देखिन्छन् । जसमा लेखिएको थियो- आदेश अनुसार साङ्सी छोङ्गदे रोङ्गहाई पराजित हुनैपर्छ ।
यस्ता कागजी प्रतिकहरुलाई चीनमा फु भनिन्छ । यो ताओ धर्मको एक परम्परा हो । यी प्रतिकहरुले आत्मिक ऊर्जाको प्रयोग गरी सौभाग्य ल्याउन सक्ने जनविश्वास छ । तर, कहिलेकाहीँ यी कागजी भूतहरू अरूलाई हानी पुर्याउन वा भाग्य बिगार्दिनका लागि पनि दुरुपयोग गरिन्छ ।
विपक्षी टीमको कोठामा राखिएका त्यस्ता वस्तुहरुको प्रमाण विश्लेषण गरेपछि चाइनिज व्यवसायिक फूटबल लिग संस्था (सिएफएल)ले चांगचुन छिदु फूटबल क्लबले खेल जित्ने सम्भावना बढाउन सामन्ती अन्धविश्वासमा आधारित सामग्रीहरू प्रयोग गरेको ठहर गर्यो र क्लबलाई ३० हजार युआन जरिवाना गर्यो ।
सिएफएलका अनुसार अनुशासन र आचारसंहिता उल्लंघन गर्ने सबै प्रकारका कार्यहरूलाई कडाइका साथ कारबाही गरिनेछ ।
सो खेलमा चांगचुन छिदुले विपक्षी टीम साङ्सीलाई २-० ले पराजित गर्दै लिग तालिकामा दोस्रो स्थान मजबुत बनाएको थियो। तर टोलीको यो सफलता कागजी भूतको विवादले ओझेलमा पर्यो ।
अनुसन्धानका क्रममा चांगचुनले यसअघि पनि अन्य प्रतिस्पर्धी टोलीका कोठामा यस्ता कागजी भूतहरु राखिदिने गरेको खुलेको छ। यसले उक्त क्लबमाथि अझ गम्भीर प्रश्न उठाएको छ ।
प्रतिक्रिया 4