
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विधान महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गर्ने बताएकी छन्।
- भण्डारीले एमाले सदस्यता नवीकरण गरेको र एमाले पार्टी परिवारमा सक्रिय भएर देशको सेवा गर्ने बताइन्।
- उनले विधान महाधिवेशनमा प्रतिनिधि मात्र उपस्थित हुने र नयाँ प्रतिनिधित्व कसरी हुने भन्ने केन्द्रीय समितिको छलफलमा निर्भर हुने बताएकी छन्।
३१ असार, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताएकी छन् ।
मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ भण्डारीको उपस्थितिबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए ।
जवाफमा भण्डारीले महाधिवेशनअघि पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति हुने भएकोले त्यही कमिटीले गरेको निर्णयअनुसार आफ्नो भूमिका तय हुने धारणा राखेकी हुन् ।
‘असार १४ गते बोल्ने क्रममा आफ्नो कुरा स्पष्ट राखेकी छु कि मैले एमाले सदस्यता नवीकरण गरेकी छु’ उनले भनिन्, ‘एमाले पार्टी परिवारमा जोडिएकी छु यहीं सक्रिय भएर देशको सेवा गर्ने स्पष्ट पारिसकेकी छु ।’
उनले थपिन्, ‘कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले निर्णय गर्ला, महाधिवेशन अघि केन्द्रीय समिति माथिल्लो निकाय हो त्यसले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’
विधान महाधिवेशनमा आफ्नो सहभागिताबारे भण्डारी :
विधान महाधिवेशनमा भाग लिने विषय सिद्धान्ततः विधानतः दशौं महाधिवेशनका प्रतिनिधिहरूले नै भाग लिने हो । त्यसमा नयाँ प्रतिनिधिहरू पनि थपिएका छन् ।
केन्द्रीय कमिटीमा पनि सदस्यहरू मनोनीत हुनुभएको छ । उहाँहरू सबै दशौं महाधिवेशनका प्रतिनिधि हुनुहुन्थ्यो कि हुनुहुन्थेन, त्यो पार्टीले त्यसलाई छलफल गर्ला नै ।
त्यस्तै गरेर जिल्ला अधिवेशनहरू पहिलाको विधान महाधिवेशनमा जिल्लाका प्रतिनिधिहरू धेरैले भाग लिनुभएको छ र जिल्ला अधिवेशनहरू भएका छन् ।
जिल्ला अधिवेशनमा अहिले आउने नेतृत्व हिजो दशौं महाधिवेशनका प्रतिनिधि थिए कि थिएनन् त्यो पनि पार्टीले त्यसमा छलफल गर्छ होला । केन्द्रीय समितिले केही निर्णय गर्छ होला ।
त्यस्तै, जनसंगठनहरूको पनि बीचमा धेरै अधिवेशन, सम्मेलनहरू भएका छन् र हिजो दशौं महाधिवेशनका जनसंगठनका प्रतिनिधिहरू अहिले जनसंगठनको पदाधिकारीमा कति आउन सक्नुभयो, भएन ।
त्यहाँ पनि लोकतान्त्रिक अभ्यासहरू भएका छन् । त्यसैले अब नयाँ आएका प्रतिनिधित्व कसरी हुन्छ, त्यो छुटेकाहरूले जनसंगठनको प्रतिनिधिको रूपमा अथवा महाधिवेशन प्रतिनिधिको रूपमा कसरी आउने ? यो सबै कुरा केन्द्रीय कमिटीको छलफलको विषय हुनेछ ।
म यहाँबाट यही सल्लाह दिनसक्छु । मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ, त्यो केन्द्रीय कमिटीमै भर पर्ने कुरा हो ।
यो खास गरेर विधान महाधिवेशनको सन्दर्भमा उहाँहरूले मलाई प्रतिनिधिको रूपमा अथवा आमन्त्रित सदस्यको रूपमा कसरी गराउनुहुन्छ, त्यो उहाँहरूको कुरा हो । यसमा मेरो कुनै यही गर्नुपर्छ भन्ने छैन ।
तर समग्रतामा देशभित्र पार्टीले जसरी जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व गराउने कुरामा केन्द्रीय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ भन्ने मेरो विश्वास छ ।
प्रतिक्रिया 4