+
+
Shares

बैंक खाता नवीकरण र केवाईसी अपडेटको बहानामा अनलाइन ठगी

बैंकको नाममा फोन आयो ? विचार गर्नुहोस्

 जिल्ला प्रहरी कार्यालय मोरङमा ठगिएको भन्दै दैनिक उजुरी पुग्ने गरेको छ । यसरी ठगिनेमा व्यवसायी र पढेलेखेका व्यक्तिहरु छन् । अनलाइन ठगी ‘क्लु’ नभेटेका कारण प्रहरी आफैं अलमलमा छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असार ३१ गते १७:२३

३१ असार, विराटनगर । असार २६ गते विराटनगर महानगरपालिका- ६ का पोखरेल थरका व्यक्तिलाई राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी हुँ भन्दै फोन आयो । असार मसान्तमा बैंक खाता रिन्युका लागि फोन गरेको बताएपछि उनले मोबाइलमा आएको ओटीपी (वान टाइप पासवर्ड) दिए ।

चार अंकको पिन नम्बर दिए लगत्तै उनको खाताबाट २ लाख ५० हजार रुपैयाँ  झिकिएको म्यासेज आयो । बैंक पुगेर बुझ्दा आफू ठगिएको थाहा पाएपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङमा पुगे ।

यसरी ठगिने उनी पहिलो थिएनन् । सोही दिन बैंक खाता रिन्यु र केवाईसी अपडेटका नाममा ठगिएको भन्दै ९ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।

कुमारी, नबिल, एनएमबि, प्रभु, सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंकको खाताबाट आफ्नो रकम निकालिएको भन्दै ९ जनाले दिएको उजुरीमा २१ लाख १५ हजार ३२० रुपैयाँ ठगिएको उल्लेख छ ।

प्रहरीका अनुसार बिहीबार परेका ९ वटा उजुरीमा ठगिएको ‘प्याटन’ एउटै छ । बैंक खाता भेरिफिकेशन, रिन्यु र केवाईसी अपडेटका लागि भन्दै फोन गरेर ओटीपी मागेर ठगी भएको छ । ठगीमा प्रयोग भएको फोन नम्बर सोही दिनदेखि बन्द छ ।

असार २० गते ईसेवाको केवाईसी अपडेटका लागि भन्दै फोन गरेर एक व्यक्तिले विराटनगर-८ का चौधरी थरका व्यक्तिलाई फोन गरेर मोबाइलमा आएको नम्बर मागे ।

ट्रु कलरमा हेर्दा ईसेवाको लोगो देखेपछि उनले ओटीपी दिए । लगत्तै खातामा भएको ४६ हजार रुपैयाँ  झिकियो । असार १९ गते विराटनगर ८ का बस्नेत थरका व्यक्तिलाई एकाउन्ट भेरिफिकेशनका लागि ईसेवाबाट फोन गरेको भन्दै ओटीपी मागेर खातामा भएको ३७ हजार ८०० रुपैयाँ रकम झिकियो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा ठगिएको भन्दै दैनिक उजुरी पुग्ने गरेको छ । यसरी ठगिनेमा व्यवसायी र पढेलेखेका व्यक्तिहरु छन् । अनलाइन ठगी ‘क्लु’ नभेटेका कारण प्रहरी आफैं अलमलमा छ ।

मोरङ प्रहरीको तथ्याङ्क अनुसार असारमा मात्रै ३८ जनाले अनलाइन ठगी भएको भन्दै उजुरी दिएका छन् । उनीहरुको खाताबाट ३७ लाख ३६ हजार ३९० रुपैयाँ  झिकिएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ३३९ वटा अनलाइन ठगीको उजुरी परेको छ । ३३९ जनाबाट गिरोहले ७ करोड ५८ लाख २१ हजार २४५ रुपैयाँ ठगी गरेको छ ।

प्रहरीका अनुसार अनलाइन जागिर दिने, सामग्री खरिद बिक्री, लगानी र खाता रिन्यु र केवाईसी अपडेटको नाममा ठगी भएको देखिन्छ । प्रहरी कार्यालयमा एकै व्यक्तिबाट ७ हजार ५२० रुपैयाँदेखि ६० लाखसम्म ठगी भएको उजुरी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडाल अनलाइन ठगी बढ्दो रहेको र नेपाल बाहिरबाट गिरोहले नेपालमै भएका व्यक्तिको खाता दुरुपयोग गरी ठगी गरिरहेको बताउँछिन् ।

उनका अनुसार पैसा झिकिएको खाताबाट विभिन्न व्यक्तिको खाता हुँदै बाहिरबाट पैसा निकालेको देखिन्छ । उनका अनुसार ठगी गर्ने गिरोह नेपालको सीमावर्ती क्षेत्रमा सक्रिय छ ।

‘विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी उनीहरुको खाता प्रयोग गरेर पैसा निकालेको देखिन्छ’ उनले भनिन्,‘ हामीले अनुसन्धान गरिरहेका छौं ।’ उनका अनुसार यसरी ठगिएको पैसा भारतबाट एटीएम मार्फत निकालेको देखिन्छ ।

प्रविधिको प्रयोग मार्फत अपराध भएका कारण प्रहरीलाई अनुसन्धान गर्न पनि गाह्रो भइरहेको छ। ‘अनलाइन ठगीका धेरै माध्यमहरु छन्, यसमा नागरिक आफैं पनि सचेत हुनुपर्छ’ उनले भनिन्, ‘अनलाइन ठगी ग्लोबल समस्या हो ।’ उनले आफ्नो खाताको विवरण तथा आउने म्यासेज कसैलाई नदिन पनि आग्रह गरिन् ।

बैंकका कर्मचारीले सिधै ओटीपी नम्बर नमाग्ने भएका कारण कसैले ओटीपी मागे नदिन प्रहरीले आग्रह गरेको छ । ओटीपी नम्बर नदिएसम्म पैसा निकाल्न नसक्ने बताउँदै प्रहरीले अनलाइन गफ गर्दा स्क्रिन सेयर नगर्न पनि आग्रह गरेको छ ।

कसरी पाउँछन् जानकारी ?

प्रहरीमा परेको उजुरीको रेकर्ड हेर्दा  पैसा भएको खाता र व्यवसायीसँगै गृहिणी महिलालाई टार्गेट गरिएको छ ।  ठगी गर्ने गिरोहसम्म बैंकमा कर्मचारी मार्फत नै सूचना पुग्ने आशंका प्रहरीको छ ।

‘पैसा भएको खाता छानीछानी ह्याक गरेर पैसा निकालेको छ, व्यक्तिको खातामा पैसा कति छ भन्ने जानकारी बैंककै कर्मचारी मार्फत ह्याकरसम्म पुग्छ’ प्रहरी स्रोत भन्छ, ‘नत्र कुन खातामा पैसा छ भन्ने जानकारी ह्याकरलाई सहजै थाहा हुँदैन ।’ बैंक खाता र अन्य वालेटमा पनि छानीछानी ठगी गरिरहेका छन् ।

डीएसपी चुडाल भने गिरोहले रेकी गरी ठगी गर्ने गरेका कारण बैंकका कर्मचारी नजोडिएको बताउँछिन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?