
News Summary
Generated by OK AI. Editorially reviewed.- घोराही उपमहानगरपालिकामा वर्षात्को पहिलो झरीपछि सडक किनारका प्लास्टिक फोहोर खेतबारीमा पुगेर प्रदूषण फैलिएको छ।
- पर्यावरण प्रहरी नामक समूहले प्लास्टिक फोहोर सङ्कलन र पुन: प्रयोगका लागि काम गरेका छन् तर प्रभावकारिता कम भएको छ।
- घोराही उपमहानगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०८१ कार्यान्वयनमा ल्याएको भए पनि व्यवहारमा प्रभाव कम छ।
वर्षात्को पहिलो झरी थामिएपछि बाहिर टहलिनुको रमाइलो बेग्लै हुन्छ । खुला आकाश, सफा हावा, भर्खरै नुहाएका बच्चा जस्तै चिटिक्क देखिने सडक किनारका बोटबिरुवा, झरीले थिचेपछि माटोबाट निस्किएको अलि भिन्दै किसिमको बासना ! तीन वर्ष अगाडि यस्तै आनन्द लिन म तीनवर्षे छोरीको औंलो समाउँदै बाहिर निस्किएँ– घोराही उपमहानगरपालिका दाङको मुख्य बजारको दक्षिणतर्फ । सडक किनारका स–साना रूखका पातमा वर्षात्को पानी निख्रिन बाँकी नै थियो । म छोरीलाई रूखको मुन्तिर राखेर हाँगा हल्लाएर पानी झारिदिन्थें । ऊ रमाउँथी ।
माथि भनिएका आनन्दका सबै आयाम त थिए नै तर अलि तल पुग्दा भने मन कुँडिने दृश्य देखिए । वर्षात् सँगसँगै बजारभरको फोहोर सिनित्तै सोहोरेर कुलो हुँदै गाउँतिरका खेतबारीमा पुगेछ । कुलोमा तैरिंदै पानीका बोतल, चाउचाउ, चिप्स, सूर्तीजन्य पदार्थका खोल, प्लास्टिक झोला लगायत फोहोरले खेतबारी छपक्कै ढाकेछन् ।
त्यसरी प्लास्टिक घुलेको माटोको गुणस्तर कस्तो होला ? केही दिनपछि प्लास्टिकको बिस्कुन सुकाए जस्तै खेतबारीमा वस्तुभाउ चरिरहेका भेटिए । घाँस वा अन्य खानेकुरा सम्झेर गाईभैंसीले प्लास्टिक निल्दा आन्द्रामा बटारिएर तड्पिंदै मरेका समाचार बारम्बार सुनिएकै हुन् ।
त्यो समय पर्यावरण प्रति चासो राख्ने हामी केही साथीहरू अनौपचारिक रूपमा ‘पर्यावरण प्रहरी’ नाउँ दिएर प्लास्टिक फोहोर न्यूनीकरण बारे काम गरिरहेका थियौं । हामी हरेक शनिवार एउटा टोलमा जान्थ्यौं । त्यस वरपरको सार्वजनिक स्थान, सडक किनार, नाली लगायतको प्लास्टिक फोहोर सङ्कलन गर्थ्यौं र स्थानीय समुदायलाई यस बारे जागरुक गर्न प्रयत्न गर्थ्यौं । यो क्रम वर्ष दिनसम्म सक्रिय रह्यो ।
तर समयक्रम सँगसँगै यसको प्रभावकारिता अपेक्षाकृत हुन सकेन । हाम्रो प्रयास सकेसम्म प्लास्टिकको प्रयोग अत्यन्तै कम गर्ने, प्लास्टिकको प्रकृति अनुसार पुन: प्रयोग, दिगो प्रयोग र वैकल्पिक प्रयोग गर्ने, उपयोगविहीन भए रिसाइकल हुने गरी कवाड सङ्कलकहरूलाई दिने भन्ने नै थियो ।
एकपटक हामी एउटा निजी स्कूलमा गयौं । त्यस स्कूल अगाडिको करिब २०० मिटर लम्बाइ जतिको बाटो किनारमा प्लास्टिक फोहोरको बिस्कुन सुकाए जस्तै हुन्थ्यो । हामीले लगातार तीन हप्ता त्यहाँ सरसफाइ गर्यौं । यस सँगसँगै हाम्रो अपेक्षा थियो– यो क्षेत्रको जिम्मा अब सामाजिक उत्तरदायित्वको रूपमा स्कूलले लेओस् । वरपरका स्थानीयलाई प्लास्टिक प्रदूषण बारे सचेत गराउने र यस्तो कार्यक्रममा सहभागी गराउने, नयाँ डस्टबिन राख्ने, भित्तेलेखन जस्ता काम गरिदिए स्कूलकै छवि पनि राम्रो हुन्छ भन्ने सल्लाह थियो । तर हाम्रा यी सबै सदाशयता निरर्थक भए ।
आजको दिनमा प्लास्टिक कुन तहको पर्यावरण विनाशक पदार्थ हो भन्ने बुझ्न केही तर्क, तथ्य र तथ्यांक हेरौं । धर्तीका तीन महासङ्कटहरू मध्ये दोस्रो सङ्कट वायु प्रदूषण र प्लास्टिक प्रदूषण हो । पहिलो जलवायु परिवर्तन र तेस्रो जैविक विविधताको ह्रास । यसै संवेदनशीलतालाई ध्यानमा राखेर यस वर्षको विश्व वातावरण दिवसको नारा पनि ‘प्लास्टिकरहित वातावरण’ अर्थात् ‘प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ भन्ने राखिएको छ ।
हरेक वर्ष ८० लाखदेखि १ करोड २० लाख मेट्रिक टन प्लास्टिक फोहोर समुद्रमा पुग्छ । शोधकर्ताहरूको अनुमान के छ भने सन् २०५० सम्म समुद्रमा सामुद्रिक जीव भन्दा धेरै प्लास्टिक हुनेछ । यसले सामुद्रिक जीवन प्रणाली बिथोलिदिन्छ । सयौं हजार वर्षसम्म पनि नष्ट नहुने यस्ता प्लास्टिक समयक्रमसँगै टुक्रिंदै सूक्ष्म प्लास्टिकमा रूपान्तरण हुन्छ र हावा, पानी, नुन, यत्रतत्र छरिएका प्लास्टिकलाई भूलवश भोजनको हिस्सा बनाएका सामुद्रिक जीव तथा अन्य प्राणीको मासु मार्फत मानव शरीरमा समेत प्रवेश गर्छन् । बाटोघाटो, खोलानाला, सार्वजनिक स्थानमा यत्रतत्र प्लास्टिक फ्याक्नाले प्रदूषण सँगसँगै कुरुप पनि हुने नै भए । फ्याँकिएका प्लास्टिकले गर्दा शहरी क्षेत्रमा वर्षात्मा पानीको निकासमा अवरोध ल्याउँदा बाढीको समस्या पनि उत्तिकै छ ।
प्लास्टिकजन्य फोहोर नियन्त्रण, सरसफाइ र वातावरणीय सिभिक सेन्स सम्बन्धी रुवान्डा देश र यसको राजधानी किगालीले अपनाइरहेको ‘उमुगान्डा’ भन्ने अभियानबारे अध्ययन गरेपछि यो नमूना अभियानको अभ्यास स्थानीय स्तरमा पनि गर्न सकिन्छ भन्ने हाम्रो ठम्याइ थियो । अफ्रिकाको एउटा सानो देश रुवान्डा धेरै सूचकमा नेपालभन्दा दरिद्र राष्ट्र हो । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, बहुआयामिक गरिबी सूचकांक लगायतमा रुवान्डा नेपाल भन्दा पछाडि छ । तर आज ऊ अफ्रिकाको सिङ्गापुर भनेर चिनिन्छ ।
उमुगान्डा व्यापक जनसहभागिता सहित सामूहिक हितको लागि काम गर्ने रुवान्डाको स्थानीय प्रथा हो । सरसफाइ, फोहोर नियन्त्रण र वातावरणीय सिभिक सेन्सको प्रवर्द्धनमा त्यहाँका राष्ट्रपतिदेखि शासक–प्रशासक, सरकारी कर्मचारी, विद्यार्थी, आम सर्वसाधारण सबै जम्मा हुन्छन् र देखावटी फोटो खिच्नको लागि नभई वास्तविक परिणामको लागि काम गर्छन् । यसलाई ‘राष्ट्रभक्तिको लागि योगदान’ को बिम्ब दिइएको छ । तीन दशक अगाडिको भयावह गृहयुद्ध र व्यापक नरसंहारको अवस्थाबाट उठेर रुवाण्डाले आफ्नो छवि अफ्रिकाको सिङ्गापुरको रूपमा आफ्नो छवि बनायो त्यो काम हाम्रो लागि एक उत्कृष्ट दृष्टान्त थियो ।
प्लास्टिकको खपत घटाउने प्रयास हाम्रो नियन्त्रण भित्र थिएन । प्लास्टिकको आपूर्ति पक्षलाई कुनै लगाम नलगाई उपभोक्ता आफैं जागरुक भई प्लास्टिक प्रयोग नगर वा कम गर भनेर मात्र परिणाम ननिस्किंदो रहेछ । सजिलै पुन: प्रयोग हुनसक्ने र रिसाइकल पनि हुनसक्ने प्लास्टिक यत्रतत्र छरिएका भेटिन्थे । अलि बृहत् स्तरमा यस्ता प्लास्टिकजन्य ‘फोहोर’को पुन: प्रयोग, दिगो प्रयोग, वैकल्पिक प्रयोग र पुन: प्रशोधन ( रिसाइकल) समेत गर्ने सोच सहित हामी १० जना साथीहरूले चक्रीय अर्थप्रणाली ( सर्कुलर इकोनोमी) को अभ्यास गर्दै सुरु गर्यौं– ‘निर्मल क्लिननेस प्रालि’ ।
हामी खासगरी दुई प्रकारको काम गर्छौं । पहिलो चरणमा केही सरसफाइजन्य सामग्रीको उत्पादन थाल्यौं, ट्वाइलेट क्लिनर, फिनायल, फ्लोर क्लिनर लगायत । यसको प्याकेजिङ्गमा पहिले नै प्रयोग गरेर फ्याँकिएका पानीका बोतलहरू प्रयोग गर्यौं । यसले हाम्रो लागत पनि घट्यो, उपभोक्ताले सस्तो मूल्यमा पाए र पर्यावरणमा थप नयाँ प्लास्टिक आउनबाट पनि जोगियो ।
दोस्रो चरणमा भने पुन: प्रयोग गर्न नसकिने प्लास्टिकलाई प्रशोधनयोग्य (रिसाइकलएबल) बनायौं । यसमा पानी, पेय पदार्थ, जुस, स्याम्पु, लुब्रिकेन्ट्स आदिका बोतल, चाउचाउ, चिप्स लगायत प्लास्टिक, कपडा, जुत्ता तथा अन्य उपभोग्य सामग्रीको सुरक्षाको लागि प्याकेजिङको रूपमा प्रयोग भएका प्लास्टिक आदि सबैलाई कम्प्रेसर मेसिनको सहायताले तिनको आयतन घटाएर रिसाइकेबल बनाउँछौं । यस सँगसँगै अहिले हामी कागज, कार्टुन, सिसा, धातुजन्य फोहोर लगायत अन्य ठोस ‘फोहोर’ पनि सङ्कलन गर्छौं र पुन: प्रयोगका साथै प्रशोधनयोग्य पनि बनाउँछौं ।
प्लास्टिकको साम्राज्य ज्यादै विशाल छ । यसको न्यूनीकरण र व्यवस्थापन जटिल पनि छ । प्लास्टिकको रिसाइकल गर्ने प्रणाली एकदमै महङ्गो छ । प्लास्टिकको सङ्कलन, यसको प्रकृति अनुसार वर्गीकरण, यसको ढुनानी, कम्प्रेसिङ यो सबै चरण पार गर्दा यो आर्थिक रूपमा आत्मनिर्भर हुन सकिने ‘सेग्मेन्ट’ होइन । हुनत विभिन्न सरकारी निकाय र गैरसरकारी संघ–संस्थाहरूले पनि प्लास्टिक सिसाइकल र पुन: प्रयोगको क्षेत्रमा पनि काम गरिरहेका छन् । प्लास्टिक फोहोरबाट अनेक सामान बनाउने प्रविधिमा पनि धेरै परीक्षण र अनुसन्धान भइरहेका छन् ।
तर प्लास्टिक आतंकको एक मात्र दिगो समाधान यसको उत्पादन, आपूर्ति र प्रयोगमा कठोरतापूर्वक लगाम लगाउनु नै हो । तर विडम्बना हामी त्यस दिशामा गइरहेका छैनौं । एउटा उदाहरण हेरौं न । अहिले चलन कस्तो छ भने रेस्टुरेन्टमा जानेबित्तिकै पानीको बोतल तेर्स्याइहाल्ने । ग्राहकले पनि पानी फिर्ता लैजाउ भन्न हिच्किचाउने । होटल, रेस्टुरेन्टको लागि पानी एक लाभकारी ‘प्रडक्ट’ हो । होटल रेस्टुरेन्टहरूले पानी शुद्धीकरण मेसिन राखेर ग्राहकलाई दिन पनि सक्थे बरु त्यसको मूल्य पनि जोडे भइहाल्थ्यो । यस्तै बढ्दो मागलाई थेग्न बोतलबन्द पानी उद्योग खुलेको खुल्यै छन् ।
प्लास्टिक नियन्त्रणको लागि यसको आपूर्ति र उपभोग दुवै पक्षमा प्रतिबन्ध लगाउनुपर्ने हो । तर सबै प्रयास ‘प्लास्टिक कम प्रयोग गर’ भन्नेमा मात्र केन्द्रित छ । प्लास्टिक उत्पादन र यसको आपूर्तिमा लगाउने प्रयास कति निम्छरो छ त्यो बुझ्न एउटा उदाहरण हेरौं । आर्थिक वर्ष २०८०/८१ को बजेटमा सुर्ती, खैनी, गुट्खा तथा पानमसला जस्ता पदार्थ जैविक रूपमा सड्ने वस्तुमा मात्र प्याकेजिङ गर्नुपर्ने व्यवस्था पनि गर्यो । पछि अन्त:शुल्क नियमावलीमा संशोधन गर्दै कानूनी व्यवस्था नै गरियो । तर आज पनि व्यवहारमा प्लास्टिककै प्याकेजिङमा उत्पादन भइरहेका छन् ।
यसै आर्थिक वर्षको बजेट भाषणमा पनि आगामी मंसिर १ गतेदेखि ४० माइक्रोन भन्दा कमको प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने भनिएको छ । तर अब पत्याउने कसरी ?
असंवेदनशील सर्वसाधारण
हामी सबै प्रकारका प्लास्टिक सङ्कलन गरी पुन: प्रशोधनयोग्य बनाउँछौं तर यसको स्रोतमै वर्गीकरण र एकीकृत भण्डार नगर्दासम्म आर्थिक रूपमा प्लास्टिक प्रशोधन कार्य जटिल छ । खासगरी धेरै प्लास्टिक उत्सर्जन गर्ने होटल, रेस्टुरेन्ट, फेन्सी स्टोर्सहरू र आम सर्वसाधारणले पनि प्लास्टिकको स्रोतमै वर्गीकरण गरिदिए प्लास्टिक फोहोरको आयतन धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्थ्यो ।
प्लास्टिक प्रयोगमा हाम्रो सिभिक सेन्स अत्यन्तै निम्छरो छ । खासमा प्लास्टिकको चरित्र के हो र यो कति ठूलो समस्या हो भन्नेबारे आम नागरिकमा गहिरो बोध नै छैन । कतिपय अवस्थामा प्लास्टिक प्रयोग नै नगर्दा पनि हुने ठाउँमा हामी बेपर्वाह प्लास्टिक प्रयोग गरिरहेका छौं । सामान किन्दा प्लास्टिक झोला, होटल, रेस्टुरेन्ट जाँदा पानीकै बोतल, सभा–समारोहमा प्लास्टिककै कप, चम्चा, प्लेट, सामान्य कार्यक्रममा पनि फ्लेक्स ब्यानर इत्यादि प्रयोग नै नगरे पनि हाम्रो कामको गुणस्तरमा कुनै ह्रास आउँदैन ।
प्लास्टिक नियन्त्रण तथा न्यूनीकरणको लागि घोराही उपमहानगरपालिकाले पनि गत फागुनमा ‘प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०८१’ कार्यान्वयनमा ल्याएको छ । ऐनमा प्लास्टिक प्रतिबन्ध, पुन: प्रयोग, रिसाइकल, दण्ड–जरिवाना जस्ता महत्वपूर्ण बुँदा छन् तर व्यवहारमा यो ऐनको उपस्थिति कतै छैन । त्यस्तै घोराही उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि–२०७४ ले व्यवस्था गरे अनुरूप पनि व्यवहारमा काम हुनसकेको छैन ।
स्रोतमै फोहोरकै वर्गीकरण गर्ने अभ्यास कहींकतै छैन । एउटा ठूलो प्लास्टिक झोलामा सबै फोहोर प्लास्टिक डाइपर, तरकारीको बोक्रा, उब्रे–बिग्रेको खाना, कागज सिसा लगायत सबै पोको पारेर फोहोर सङ्कलक गाडीमा हुत्याइदिने बानी सामान्य भइसक्यो । स्थानीय सरकार यसतर्फ थोरै सक्रिय भइदिए धेरै परिवर्तन आउन सक्थ्यो । नियम, कानून, स्रोत, साधन र ठूलो सामाजिक स्वीकार्यता सहितका जनप्रतिनिधिले अगुवाइ गरिदिने र आम सर्वसाधारणले त्यसलाई पछ्याउने हो भने आमूल परिवर्तन आउन गाह्रो थिएन ।
प्रतिक्रिया 4