पृथ्वीमा सायद कुनै पनि यस्तो ठाउँ बाँकी छैन होला, जहाँ प्लास्टिकको उपस्थिति नभएको होस्। वैज्ञानिकहरूले हिमालका अग्ला पहाडदेखि समुन्द्रको गहिराइसम्म प्लास्टिक पुगेको प्रमाण फेला पारेका छन्। प्लास्टिकको बढ़्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्दैछ। प्लास्टिकको फोहोरले पर्यावरणलाई मात्र नभएर यसका सूक्ष्म कण (माइक्रोप्लास्टिक) ले मानव स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ।
लगातार प्लास्टिकको बट्टाको खानेकुरा खाने र प्लास्टिककै बोतलबाट पानी पिउँनबाट बच्न विज्ञहरूले सुझाव दिँदै आइरहेका छन् ।
किन यस्ता सामग्रीबाट बच्न भनियो ?
प्लास्टिकबाट बनेका सामग्री डिब्बा, बोतल र किचनका अन्य सामाग्रीहरूमा माइक्रोप्लास्टिक र बिस्फेनोल ए (बीपीए) जस्ता रसायनहरू हुन्छन् । जसले मस्तिष्क र प्रजनन् क्षमतामा समेत असर पार्छ।
बिस्फेनोल ए (बीपीए) एक औद्योगिक रसायन हो, जुन प्लास्टिक बनाउनमा प्रयोग गरिन्छ। फुड कन्टेनर, दूधका प्याकेट र बोतल प्लास्टिकबाटै बन्छन्। यस रसायनको प्रयोग सन १९५० को दशकदेखि भइरहेको छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी) ले त्यतिबेला बच्चाका लागि तयार हुने दूधको बोतल बन्द गर्न निर्देशन पनि दिएको थियो । त्यसबखत अन्य पानीको बोतल बनाउने कम्पनीले पनि स्वइच्छाले बीपीएको उपयोग बन्द गरेको थियो।
सन् २००८ मा भएको सीडीसीको एक अध्ययन अनुसार ९२ प्रतिशत अमेरिकी वयस्कको पिसाबको नमुनामा प्लास्टिकका सूक्ष्म कण फेला पर्यो।
यसले मानिसलाई यो रसायन उनीहरूको शरीरमा कसरी प्रवेश गरेको हो भनेर सोच्न विवश तुल्यायो। यी रसायनहरू शरीरमा प्रवेश गर्दा पुरुष र महिलाको प्रजनन क्षमता घट्न सक्छ। यसको प्रयोग मुसामा गरिएको थियो । बीपीएयुक्त पानी पिउने मुसामा शुक्राणु गुणस्तर र टेस्टोस्टेरोनको स्तर कम भएको पाइयो।
म्यासाचुसेट्स एमहर्स्ट विश्वविद्यालयमा जीवविज्ञानका प्राध्यापक रही हाल अवकाशप्राप्त थोमस जोलर भन्छन्, ‘यसले मस्तिष्कको विकास, थाइराइड हर्मोनका साथै प्रजनन स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको देखिएको छ ।’
४० वर्षभन्दा बढी समयदेखि प्लास्टिकलाई कडा बनाउन प्रयोग हुँदै आएको हुनाले बीपीए रसायन जताततै पुगेको छ । यो ९० प्रतिशत भन्दा बढी पानीले बनेको हरेकको शरीरमा यी रसायन भेटिनछन् । प्लास्टिकका उत्पादनहरू बाहेक, हावा, धुलो र पानीमार्फत पनि हाम्रो शरीरमा बीपीए अवशोषित हुनसक्छ।
यसै सन्दर्भमा टेक्सास विश्वविद्यालय, अर्लिङटनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले गरेको एक नयाँ अध्ययनमा हावामा रहेका सूक्ष्म प्लास्टिकका कणहरू चराहरूको फोक्सोमा पनि प्रवेश गरेको पाएका छन् ।
जसबाट हामीले श्वास फेर्ने हावा, खाने खाना र पिउने पानीमा यी हानिकारक कणहरू पाइनु सामान्य बन्दै गएको हुनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। यस अध्ययनको नतिजा जर्नल अफ ह्याजार्डस मटेरियल्समा प्रकाशित छ।
जीवविज्ञानका प्राध्यापक तथा अध्ययनमा संलग्न अनुसन्धानकर्ता मध्येका एक शेन डुबेले भन्छन्, ‘चराहरू संसारभर पाइन्छन् । मानिससँगै वातावरणमा साझा भएर बस्छन् । त्यसैले, अध्ययनका लागि चरालाई छनोट गरिएको थियो। शहरहरूको कोलाहलदेखि जंगलको शान्त वातावरणसम्म यसलाई देख्न सकिन्छ।’
स्वास्थ्यमा दुष्प्रभाव
यी रसायन शरीरमा समावेश हुनु धेरै स्वास्थ्य समस्याहरूको संकेत हुनसक्छ। प्लास्टिकका उत्पादनहरूको प्रयोगले मुटु रोग, मोटोपन, मधुमेह र ध्यानको समस्या जस्ता रोगहरूको जोखिम बढाउँछ। यस्तो रसायनका प्रभावहरू केबल प्लास्टिकका सामग्रीबाट मात्रै होइन, वायु, धूलो र पानीमार्फत पनि शरीरमा प्रवेश गर्न सक्छन्।
माइक्रोप्लास्टिक र मानव स्वास्थ्य
स्वास्थ्यका लागि प्लास्टिकका सूक्ष्म कणहरू एक ठूलो खतरा बनिसकेको छ। यी कणहरूको आकार एक माइक्रोमिटरदेखि पाँच मिलिमिटरसम्म हुन्छ। यी मसिना प्लास्टिकका कणहरूमा विषाक्त प्रदूषक र रसायनहरू पनि हुन्छन् जसले स्वास्थ्यलाई गम्भीर हानि पुर्याउन सक्छ।
यसले शरीरमा विभिन्न रोग र समयपूर्व मृत्युको सम्भावना बढाउँछ।
यसअघि वैज्ञानिकले मानव फोक्सोमा प्लास्टिकका कण रहेको प्रमाण फेला पारेका थिए। साइन्स अफ दी टोटल इन्भारोमेन्ट जर्नलमा प्रकाशित एक अनुसन्धान अनुसार, माइक्रोप्लास्टिकका यी कणहरू फोक्सोको तन्तुको गहिराइमा साथै फोक्सोको हरेक भागमा भेटिएका थिए।
यी मध्ये, पोलिप्रोपाइलिन र पीईटी अर्थात् पोलिथिलिन टेरेफ्थालेट साझ रुपमा थिए।
मानव रगत, नसा, फोक्सो, नाइटो र अन्य अंगहरूका साथै मस्तिष्कको गन्ध नियन्त्रण गर्ने भागमा माइक्रोप्लास्टिक उपस्थितिको प्रमाण फेला परेको विज्ञहरूको दाबी छ ।
के गर्ने ?
हरेक दिन प्रयोग गर्ने प्लास्टिकका सामाग्रीका कारण शरीरमा रसायनहरूको सङ्ग्रह बढ्दो छ। त्यसैले, प्लास्टिकको प्रयोग घटाउन, बीपीएमुक्त उत्पादनहरूको चयन गर्न र माइक्रोप्लास्टिकको प्रभावलाई न्यूनतम गर्न हामी सबैलाई सचेत रहन आवश्यक छ।
साथै, वैज्ञानिकहरूको अनुसार, प्लास्टिकको विकल्पको रूपमा प्राकृतिक र वातावरणमैत्री सामाग्रीहरूको प्रयोग गर्न र स्वस्थ जीवनशैली अपनाउन महत्वपूर्ण छ ।
—एजेन्सीको सहयोगमा
 
                    










 २०८१ फागुन  २८ गते १२:५६
                        २०८१ फागुन  २८ गते १२:५६                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4