
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चौथो त्रैमासको वित्तीय विवरण एक महिना भित्र प्रकाशित गर्न १५ दिन समय बढाएको छ।
- अरु त्रैमासका लागि बैंक तथा वित्तीय संस्थाले १५ दिनभित्र वित्तीय प्रतिवेदन राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ।
- केन्द्रीय बैंकले अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राख्नुपर्ने र चौथो त्रैमासको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ।
३२ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय अवधिमा नेपाल राष्ट्र बैंक लचक भएको छ । केन्द्रीय बैंकले चौथो त्रैमास रिपोर्ट सार्वजनिक गर्नका लागि १५ दिन र अरु त्रैमास रिपोर्टका लागि ८ दिन समय बढाएको हो ।
केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण एक महिना (साउन)भित्र प्रकाशित गरे हुने व्यवस्था गरेको छ । यसअघि १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।
त्यसैगरी अन्य त्रैमासको हकमा १५ दिनभित्र सार्वजनिक गर्नु पर्नेछ । यसभन्दा अघि ७ दिनको अवधि तोकिएको थियो ।
‘बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ’ निर्देशनमा भनिएको छ ‘साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ ।’
यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको ब्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ । तर, चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
प्रतिक्रिया 4